रोनाल्डोमाथि बलात्कार आरोप र अनुसन्धान

रोनाल्डोका वकिल बोले, भने–आरोप पूर्णरुपमा झुट

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको र ती महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन् ।

३३ वर्षका रोनाल्डोमाथि ३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । लस भेगासको होटलमा सन् २००९ मा भएको भनिएको घटना रोनाल्डोले स्पष्ट रुपले अस्वीकार गरेका छन् । क्याथरिनले रोनाल्डोले होटलको रुममा आफूमाथि आक्रमण गरेको आरोप लगाएकी छन् ।

रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ ।

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो ।

यसअघि जर्मनीको पत्रिका डेर स्पिगलमा आरोप सम्बन्धी खबर सबैभन्दा पहिले छापिएपछि रोनाल्डोले ‘फेक न्युज’ भन्दै अस्वीकार गरेका थिए । रोनाल्डोका प्रतिनिधिले साप्ताहिक म्यागजिन विरुद्ध कानुनी उपचारको बाटो प्रयोग गर्ने पनि बताएका थिए ।

रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् । चोरी गरिएको र सजिलै म्यानुपुलेट गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताएका छन् । यस्तै कागजातको महत्वपूर्ण भाग पूर्णरुपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन् ।

डेर स्पिगलका अनुसार क्याथरिनले घटना लगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको उल्लेख गरेको थियो । यस्तै सन् २०१० मा अदातल भन्दा बाहिर तीन लाख ७५ हजार अमेरिकी डलर लिएर घटनाका बारेमा सार्वजनिक रुपमा नबोल्ने सहमति गरेको पनि बताइएको छ ।

रोनाल्डोका वकिल क्रिष्टिएन्सनले स्पष्ट पार्दै भनेका छन्, ‘सन् २००९ मा लस भेगासमा जे भएको थियो त्यो पूर्ण रुपमा सहमतिमा भएको थियो ।’

सन् २०१० मा भएको सहमति बारेमा रोनाल्डोले अस्वीकार नगरेको तर यसको अर्थ गल्ती भएको वा त्यसलाई स्वीकार गरेको भन्ने नहुने वकिलले उल्लेख गरेका छन् । हुँदै नभएको घटनाका कारण आफ्नो प्रतिष्ठा खराब नहोस् भनेर रोनाल्डोले क्याथरिनलाई ठूलो रकम दिन तयार भएको उल्लेख गरिएको छ ।

लस भेगास प्रहरीले घटनाका सम्बन्धमा पुनः अनुसन्धान सुरु गरेको छ । रोनाल्डोले यस सम्बन्धी अनुसन्धानको क्रममा हुने सबै प्रक्रियाको सर्वाधिकार अमेरिका र युरोपमा रहेका आफ्ना वकिललाई दिएको र सत्य बाहिर आउनेमा पूर्ण विश्वास रहेको उल्लेख गरिएको छ ।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्