मोदी सरकारका मन्त्री एमजे अकबरमाथि यौन दुर्व्यवहारको अरोप, शीर्ष मन्त्रीको चासो

भारतमा अहिले आफूमाथि भएको यौन हिंसा वा दुर्व्यहार बारे महिलाहरु मि टू अभियान अन्तर्गत बोल्न थालेका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग मि टू सहित महिलाहरुले यौन हिंसाका घटनाबारे उल्लेख गरिरहेका छन् ।
यो अभियान अन्तर्गत बलिउड तथा सञ्चार जगतका धेरैलाई यौन हिंसाको आरोपको दायरामा ल्याएको छ । यसमा पछिल्लो नाम थपिएको छ र त्यो नाम बलिउड वा सञ्चार क्षेत्रबाट नभइ सरकारी क्षेत्रको हो ।
अहिले सत्तामा रहेको भारती जनता पार्टी (भाजपा) सरकारका विदेश राज्य मन्त्री एमजे अकबरमाथि यौन हिंसाको आरोप लागेको हो । अकबरमाथि ‘प्रिडेटरी बिहेवियर’ को आरोप लागेको छ ।
उनले वयश्क महिलालाई बैठकको बहानामा होटलको रुमका बोलाउने गरेको आरोप छ । यसबारे अहिलेसम्म भारतीय विदेश मन्त्रालय र अकबर स्वयंले केही बोलेका छैनन् ।
केन्द्रीय महिला एवं बाल कल्याण मन्त्री मेनका गान्धीले राजनेतासहित सबैमाथि लागेका आरोपको छानबिन हुनु पर्ने बताएकी छन् । मि टू अभियान अन्तर्गत अहिलेसम्म भारतमा जति पनि अभिनेता, पत्रकार, लेखक वा चलचित्रकर्मीमाथि आरोप लागेको छ त्यसमध्ये अकबर सबै भन्दा शक्तिशाली व्यक्ति हुन् ।
अकबर पूर्व सम्पादक पनि हुन् । उनी देशका सबैभन्दा प्रभावशाली सम्पादक मध्ये रहेका थिए । उनी द टेलीग्राफ, द एसियन एजका सम्पादक तथा इन्डिया टुडेका सम्पादकीय निर्देशक बनेका थिए ।
वरिष्ठ पत्रकार प्रिया रमानीले गएको सोमबार सबैभन्दा पहिले उनको नाम लिएकी थिइन् । उनले कार्यालयमा भएको उत्पीडनका बारेमा एक वर्ष पहिले लेखेको लेख रिट्वीट गर्दै त्यो लेख एमजे अकबरका बारेमा रहेको बताएकी हुन् । त्यसपछि अरु ६ महिलाले पनि अकबरमाथि आरोप लगाएका छन् ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा आरोपका बारेमा औपचारिक रुपमा कुनै छलफल नभएको तर शीर्ष मन्त्रीहरुले अनौपचारिक रुपमा कुराकानी गरेको र चासो व्यक्त गरेको उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले खबर छापेको छ ।
सरकार महिला तथा बालिकाको पक्षमा रहेको र उनीहरुको सशक्तिकरणका लागि प्रतिबद्ध रहेकाले मन्त्रीमाथि नै यस्तो आरोप लाग्नु लज्जाको विषय रहेको एक उच्च अधिकारीले बताएका छन् ।
नरेन्द्र मोदी सरकारले महिलाको सशक्तिकरणका लागि भन्दै उज्ज्वल, बेटी बचाओ बेटी पढाओ, मुद्रा, तीन तलाख विरुद्धको अभियान तथा महिला स्वास्थ्यकर्मीको पारिश्रमिक बटाउनेसहितका काम गरेको छ ।
तर पछिल्ला आरोप सरकारको यी कामका बाबजुद लाजको कुरा रहेको बारे मन्त्रीहरुले अनौपचारिक रुपमा चासो दिएको बताइएको छ ।