बलात्कार नभएको भन्दै गलत रिपोर्ट दिने दुई डाक्टरको प्रमाणपत्र निलम्बन

जनकपुरधाम – बलात्कारको गलत प्रतिवेदन दिएका जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकको प्रमाणपत्र निलम्बन भएको छ ।

धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका डा. विजय कुमार सिंह र डा. रम्भा गोइतलाई न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गरिएको छ ।

घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय समेत गरेको हो ।

गएको भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिएका उनीहरु कारबाहीमा परेका हुन् ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा। कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

घटना यस्तो छ


धनुषाको जनकनन्दनी गाउँपालिकामा आफ्नी काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकाको गएको ८ भदौमा घरमा सुतिरहेका बेला छिमेकी २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

आमाको मृत्यु भएको र बुवा रोजगारीका लागि भारत गएपछि काकीसँगै बस्दै आएकी बालिकालाई बलात्कारको घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पु¥याएको थियो ।

अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा. रम्भा गोइत र डा. भीके सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको रिपोर्ट दिएको थियो ।

तर, पीडित परिवारलाई अञ्चल अस्पतालको उक्त रिपोर्टमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएको थियो ।

सिरहा जिल्ला अस्पतालका डा। राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’, ‘भेजिना क्नगेसन’ र ‘ह्यमेन रुप्टुरेड’ देखाएको रिपोर्ट दिएका छन् ।

बलात्कारको घटना पश्चात भारत भागेका आरोपित खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै उसलाई पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरिसकेका छन् ।

खत्वेको सोही बयानका आधारमा प्रहरीले बालिका बलात्कृत भएको सिरहा अस्पताल र बलात्कृत नभएको जनकपुर अञ्चल अस्पतालको रिपोर्ट पेश गर्दै इलाका प्रहरी कार्यालयले गत ४ असोजमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीसमक्ष खत्वेले बयान दिएको भिडियो क्लिप र अदालतमा समेत बलात्कार गरेको स्वीकार गरेपछि खत्वेलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू