चङ्गा उडाउँदै गरेका एक बालक । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
युद्धनीति लुकेको चङ्गा उडाउने संस्कृति

पाँच वर्षपछि चङ्गा उडाउने धीत मार्दै

मौसम गज्जब छ, नि..लो खुलेको आकाशमा सेता बादलका ढिक्का, खेतमा धानका बाला झुलेक, सिरसिर बतास लाग्ने, न तातो न चिसो। छर्लङ्ग खुलेको मौसमले दसैँ आयो दसैँ आयो भनिहाल्छ। खुल्ला मैदानमा बसेर हावालाई बोलाउँदै, बोलाउँदै हातमा चङ्गा र लट्टाई लिने बेला पनि यहि हो।

‘सब कथा जस्तै भइसक्यो’ उदयपुरको ठूला खुल्ला चौर, स्कूल छुटेपछि साथीभाइको भेटघाट, खैलाबैला। अनि चङ्गा र लट्टाई बोकेर फाँटमा दौडिएको उमेश गुरुङ्ले भुल्न सकेका छैनन्। ‘काठमाडौँ बस्न थालेदेखि लगभग छोडियो नै भनौँ’ बसन्तपुरको चिकमुगल चोकमा लट्टाई किन्दै गर्दा उनले चङ्गा स्मरण सुनाए, ‘५ वर्षजति भयो उडाएकै छैन, यसपाली साथी बटुलिदै छौँ।’

रहर एकदम छ, घरको छतबाट उडाउने गरेको पनि हो। तर केही वर्ष ब्रेक भयो । नगरकोट जाने योजना छ चङ्गा उडाउन। ‘अहिलेका टिनएजर्स सबै मोबाइल ग्याजेट्समा मात्र बिजी।’ उनलाई चङ्गा उडाउन छुटेको जस्तो लाग्यो।

उमेशसँग रमाइलो स्मरणहरु छन्, जसलाई बताउँदा उनी आफै पनि रोमाञ्चित हुन्छन्। ‘साथीको चङ्गा चेट पार्न एकदम मज्जा आउथ्यो, धागो धारिलो बनाउन भात मुछेर सिसाको धुलो हालेर धागोमा लगाउने गरिन्थ्यो, पञ्जा लगाउँदा पनि कहिलेकाहिँ हातबाट रगत नै आउने गरी।’ चङ्गा चेट पारेपछि साथीसँगको जिस्काजिस्की अनि ठुस्काठुस्की पनि उनको स्मरणमा ताजा नै छ।

मितिमा ठ्याक्कै यहि दिन हो भन्ने भेटिदैन चङ्गा कहिलेदेखि उडाउन थालियो भनेर। तर सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा इतिहासले भन्छ। त्यतिबेला चङ्गा जासुसी गर्न उडाइन्थ्यो रे। पछि युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाएका थिए भन्ने तथ्यहरु भेटिन्छन्।

चङ्गा वैज्ञानिक अनुसन्धानमा पनि प्रयोग भएको पाइन्छ। सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र, थर्मोमिटर बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम गर्यो ।

बेलायतका ओलिभर तथा विलवर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे ।

तर उमेश भने चङ्गा मनोरञ्जनको लागि मात्र उडाइरहेका छन्। उनी लट्टाई हेर्न थालेँ, पसले भन्दै थिए, ‘चार सय पचास ।’

‘महंगो भन्नुभयो अनि मिलाइदिनुस् न ।’

‘भाइ जमानै महंगो।’

उनीसँगै आएका टिमेश श्रेष्ठ सिन्धुलीका हुन्। उनको स्मरण पनि उमेशसँग लगभग उस्तै। ‘चङ्गा जति जति माथि गयो, उती रमाइलो’ उनी भन्छन्, ‘आकाशमा अरुले उडाएको एरोप्लेन देखिन्छ, अनि दसैँमा हाम्ले उडाएको चङ्गा।’ सिन्धुलीको खुल्ला चौरमा चङ्गा उडाएका टिमेश ४ वर्षदेखि काठमाडौँ बस्छन्, चङ्गा उडाउने न्यास्रो मेट्न छतमा साथी जम्मा गर्छन्।

नेपाली चङ्गा बेच्ने दिपेन्द्र कुमार रञ्जितकार


‘म ४६ वर्ष भए, मेरो पसल ४५’ बसन्तपुर चिकमुगल चोकको पसलमा चङ्गा मिलाउँदै, सजाउँदै गरेका रञ्जितकार यहि चोकमा बसेको ३० वर्ष भयो। ‘बाले म जन्मेपछि चलाउन सुरु गर्नुभएको रे यो पसल। बुवाको शेखपछि म आफै यहि छु।’ उनी माइला छोरा हुन्। जेठा दाजु बितिसके, कान्छो भाइको आफ्नै व्यवसाय छ।

चिकमंगलको गणेशमन्दिरको सत्तलमा उनको पसल छ, ग्रिलले बेरेको। सिजनल सामान बेच्ने गरेका रञ्जितकारको पसल अहिले भने रंगीबिरंगी चङ्गाले भरिएको छ। ‘म कहाँ भारतको धेरै लखनाउँ चङ्गा छैन, चाइनाको अलिअलि र विशेषगरी नेपालको चङ्गा पाइन्छ।’ नेपालमा चंगा बन्दैन सबै भारत र चिनबाट आउँछ भनिन्छ तर उनी आफै चङ्गा बनाउँछन्।

पसको बाहिर ग्रिल गेटको आडमा एङ्ग्री बर्डको चित्र भएको, लामा लामा पुच्छर निश्किएका कपडाका चाइनिज चंगा थिए। सामान राख्ने दराजमाथि भारतीय चङ्गाको चाङ्ग। अनि बिचबिचमा नेपाली कागजले बनेका सेता चङ्गाहरु झुण्डिएका, उनी कागजमा भाटा टाँस्दै थिए। सानो कागजको टुक्रामा गम लगाउँदै उनले भने, ‘हामीले दसैँमा चङ्गा बेच्दा नेपाली कागजको चङ्गा बेच्थ्यौँ, पछि किन्न जाँदा चङ्गा पाइएन अनि आफै बनाउन थाले।’

उनी चङ्गा बनाउनलाई गर्नुपर्ने तयारी सुनाउन थाले। ‘२० रुपैयाँको कागज, अनि बाँसका दुईवटा भाटा, गम चाहियो अनि सीप।’ मेरो डेढ महिना अगाडिबाट नै यसको तयारी सुरु हुन्छ। उनी घरी घरी उठेर पसलमा आएको ग्राहकलाई सामान बेच्छन्, ‘भारतीर चङ्गा ५ रुपैयाँ, १० अनि १५ देखि ५० रुपैयाँ सम्मको छन्। नेपाली कागजको चङ्गाको ५० रुपैयाँ।’ उनका अनुसार चाइनिज चङ्गा भने एकदमै कम जान्छ, सजाउनलाई लान्छन् फाट्टफुट्ट।

नेपाली चङ्गा अलि महंगो भएकोले कमैले मात्र लैजान्छन्। बाङ्गेमुडाबाट उनी नेपाली कागज ल्याउछन्। यो वर्ष उनले ६ सय रुपैयाँको कागज किलेर ल्याए। अर्डर आयो भने बनाउँछन्। रञ्जितकारको आँकलन छ, हिजोआज शहरको आकाशमा चङ्गाको संङ्ख्या कम छन्, तर बिक्री भने खासै फरक छैन, तीन दशकको अनुभवमा अहिलेको चलन भनेको चङ्गा विदेश जानु हो। ‘पहिला शहरको आकाशमा मात्र देखिने चङ्गा अहिले छरिएर अन्त अन्त पुगेको छ।’ उनले भने, ‘एउटै मानिसले ५० वटा भन्दा धेरै चङ्गा लैजान्छन्।’ एक वर्षको लागि ल्याएर बेच्दा बेच्दै बाँकि भएको चङ्गा प्याक गरेर अर्को वर्षको लागि सुरक्षित राख्छन्।

चङ्गा उडाउनु बनाउनु पहिला चाखको विषय थियो अब व्यवसाय। यहि व्यवसायले उनलाई हातमुख जोर्न सहज बनाएको छ। एउटी छोरी र श्रीमती पाल्नलाई सहयोग पनि गरेको छ।

रञ्जितकारको जीवन चङ्गाको व्यवसायिक पाटो जोडेको भएपनि चङ्गाले सांस्कृतिक महत्व पनि बोकेको छ।

नेपालमा चङ्गाको सांस्कृतिक महत्व


हिन्दु संस्कारमा चङ्गाको धार्मिक महत्व छ, यो सञ्चारको माध्यमको रुपमा प्रयोग हुने गरेको संस्कृतिविद् ओम धौभडेलले बताए। सत्ययुगमा पृथ्वीका मानिसले स्वर्गका राजा इन्द्रसम्म ‘अब पृथ्वीमा पानी पुग्यो’ भन्ने सन्देश पु¥याउनलाई चङ्गा उडाइन्थ्यो भनिन्छ। धौभडेलका अनुसार भारत र नेपालमा चङ्गाको धार्मिक प्रचलन यसकै लागि हो।

जापान, चीनमा पनि चङ्गा उडाइन्छ, युद्ध जितेको उत्सवका रुपमा। नेपाल दुवै संस्कृतिबाट प्रभावित छ। ‘नेपाल कृषिप्रधान देश भएकोले इन्द्रलाई सन्देश पुयार्उन पनि चङ्गा उडाउने चलन आएको र नेपाल स–साना राज्यमा विभाजित भएको र युद्ध भएकोले बिजेताको हैसियतले पनि चङ्गा उडाउने प्रचलन रहेको छ।’

संस्कृतिविद् धौभडेल भन्छन्, ‘चङ्गा युद्ध नीति पनि हो, चङ्गा एक्लै उडाइँदैन, प्रतिस्पर्धिसँग उडाइन्छ। चङ्गा चेट गर्दा माथिबाट आएर तल आक्रमण गरेमात्र चेट पार्न सकिन्छ। यस्तै लडाइमा पनि दुश्मनलाई माथिबाट आक्रमण गर्नुपर्छ भन्ने नियमको सन्देश दिन्छ।’ यो नेपालीको मौलिक खेल हो।

यो मौसमसँग पनि सम्बन्धित छ। यो हावा चल्न सुरु गर्ने समय आयो, सरल ऋतु सुरु हुन लाग्यो भन्ने संकेत दिन पनि चङ्गा उडाइन्छ। वैज्ञानिक तथ्यलाई मान्ने हो भने हावा चल्न थालेपछि हावामा पानी कम हुन्छ। इन्द्र देवतासँग जोडिएको सँस्कृति पनि यसैसँग सम्बन्धित गर्न मिल्ने धौभडेलले बताए। अब पानी पर्दैन भन्ने सूचना दिएको हो।

यसरी चङ्गालाई तीन किसिमले हेर्न सकिन्छ।

धार्मिक

साँस्कृतिक

कला र मनोरञ्जन

तर नेपाली कागजका चङ्गा बनाउने दिपेन्द्र कुमार रञ्जितकारले भने चङ्गालाई जीवनसँग जोडेका छन्।

‘जीवन पनि चङ्गा जस्तै हो, रंगिन हुन्छ, रंगहिन पनि, कुनै चिटिक्क सजिएका हुन्छन् केही मन नपरेर फालिएका हुन्छन्। उड्दै अग्लो ठाउँमा पुग्छन्, काटिन्छन् पनि तर हामी हिँड्न छोड्न सक्दैनौँ।’

सबै तस्बिर तथा भिडियो : सुलभ श्रेष्ठ/देश सञ्चार