प्रहरी दिवस समापन समारोहलाई सभामुखको सम्बोधन

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सबै प्रहरीलाई शहीद घोषणा गर्नुपर्छः सभामुख महरा

कृष्णबहादुर महरा।

दाङ – संघीय संसदका सभामुख कृष्णबहादुर महराले सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका सबै प्रहरीलाई शहीद घोषणा गर्नुपर्ने बताएका छन्।

प्रदेश नम्बर–५ प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बिहीबार आयोजना गरेको ६३औं प्रहरी दिवस समापन समारोहलाई सम्बोधन गर्दै सभामुख महराले त्यस्तो बताएका हुन्।

हिजोको इतिहासमा बलिदान गरेका प्रहरीहरु सबैलाई राज्यले शहीद घोषणा गर्नुपर्ने उनको तर्क थियो। महराले त्यसका लागि आफू दृढतापूर्वक उभिने बताएका छन्।

‘आज उहाँहरुले रचेको इतिहासमा हामीहरु खडा छौं, ती नागरिक हुन् कि सुरक्षाकर्मी सबैको सम्मानका लागि शहीद घोषणा गर्नुपर्छ,’ उनले भने।

सबैलाई शहीद घोषणा गर्न राज्यले अझैँ नसकेको उल्लेख गर्दै महराले सरकारलाई त्यो विषयमा अनुरोध गर्दै आएको बताए। प्रहरी ऐन २०१२ पछि धेरै प्रहरी भइसकेको भन्दै उनले सरकारले छिटोभन्दा छिटो संघीय प्रहरी ऐन ल्याउन जरुरी रहेको उनले बताए।

नबिराउ नडराउ भन्ने प्रहरीको मुलमन्त्र हुनुपर्ने धारणा राख्दै महराले प्रहरी नै राज्य र जनताको बिचमा पुलको काम गर्ने सबैभन्दा महत्वपूर्ण संस्था भएको बताए। अहिले चुनौतिपूर्ण अवस्था रहेपनि त्यसलाई सामना गर्न सक्ने आँट सरकारसँग भएको महराले दाबी गरे।

कार्यक्रमर्लाइ सम्बोधन गर्दै प्रदेश नम्बर–५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम)ले शान्ति सुरक्षा बिना विकास असम्भब हुने बताए।

‘जहाँ सुरक्षा शक्तिशाली हुन्छ त्यो देश र त्यो क्षेत्र मात्रै समृद्धिमा जान्छ, अनि जहाँ सुरक्षा अंग कमजोर हुन्छ त्यो मुलुकले प्रगति गरेको देखिँदैन, त्यसैले सुरक्षामा प्रदेश सरकार गम्भीर रुपमा प्रस्तुत हुन्छ,’ केसीले भने।

प्रदेश प्रहरी अस्पतालका निम्ति हेटक्वाटरसँग अन्तिम सहमति गरिसकेको मन्त्री केसीले जानकारी दिए। त्यस्तै उनले प्रदेश प्रहरी तालिम केन्द्रका लागि र प्रदेश विपद प्रतिकार्यका लागि अर्को कार्यालय र द्वन्द्व प्रभावित परिवारका सन्तानका लागि भर्नाका लागि विशेष व्यवस्था ऐनमै गरिने बताए।

५ नम्बर प्रदेशसँग विदेशी भूमिसँग सीमाना जोडिएको सबैभन्दा लामो दूरी रहेको जनाउँदै मन्त्री केसीले यसपाली प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सीमामा लुटिने दाजुभाईको सुरक्षा व्यवस्था मजबुत बनाएको बताए।

५ नम्बर प्रदेश तत्कालिन द्वन्द्वको सबैभन्दा धेरै प्रभाव भएको क्षेत्र भएको हुँदा यो वर्ष द्वन्द्व प्रभावित सबैलाई सूचिकृत गरेर आगामी वर्ष ती सबै परिवारको लागि निश्चित बजेट विनियोजित भइसकेको हुँदा सबैको जीवनयापनको ग्यारेन्टी सरकारले गर्ने मन्त्री केसीले बताए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ५ नम्बर प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले विसमपरिस्थितिमा पनि प्रहरी जहिले पनि नैतिक बल, अदम्य साहस र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे। त्यसअवसरमा विभिन्न प्रतियोगिताहरुका विजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू