विश्व दृष्टि दिवसः

आँखाको ज्योति खोज्दै जुम्लादेखि लमही आएकी सुकमती

सुकमती रोकाया र उनका श्रीमान्। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ –जुम्ला तिला गाउँपालिका वडा नम्बर–८ घर भएकी सुकमती रोकायाको दुवै आँखा बसेको २ वर्ष भयो। मोतीबिन्दुले आँखा बसेको हो।

अरुको सहारामा हिँडडुल गर्नुपर्छ उनले। श्रीमानले उपचारका लागि लमही आँखा अस्पताल ल्याइपुर्याएका हुन्। नेपाल नेत्र ज्योति संघले उपचारका लागि सिफारिस गरेर पठाएको हो।

‘आँखा बसेपछि झारफुक गरेँ, निको भएन, घरेलु उपचार गरेँ, आँखा देख्न नसक्ने भएपछि उपचारका लागि लमही आइपुगेकी हुँ,’ रोकायाले देश सञ्चारसँग भनिन्।

सुकमतीको दुवै आँखाको निःशुल्क शल्यक्रिया गरिने लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए।

‘समयमा उपचार नपाएर धेरैले आँखाको ज्योति गुमाउनु परेको छ, मोतिया बिन्दुको शल्यक्रियापछि सुकमतीले आँखा देख्न सक्नुहुन्छ,’ उनले भने, ‘तर, हाम्रो गाउँ–ठाउँमा आँखाको उपचारपछि देख्न सकिन्छ भन्ने जानकारी नहुँदा दृष्टिविहीन भएर बस्नु परेको अवस्था छ।’

सुकमतीको सफलताको कथा तयार पार्ने पनि थापाले बताए। साथै उनको कात्तिकमा निःशुल्क शल्यक्रिया गर्ने थापाले जनाएका छन्।

अन्धोपन गराउने प्रमुख कारण मध्य आँखामा देखिने मोतिया बिन्दु, जलबिन्दु र दृष्टिदोष रहेको छ। तर, पछिल्लो समय मोतिया बिन्दु र दृष्टिदोष अगाडि आएको थापाले बताए।

साविक राप्ती अञ्चलको पाँच जिल्लामा १४ हजार ९ सय ५२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने तथ्यांक छ। सबैभन्दा बढी दाङमा मोतिया बिन्दुको समस्या देखिएको छ। सन् २०१० मा गरिएको अन्धोपन सर्वेक्षणले यस्तो देखाएको हो।

रुकुममा २१ सय ३८, सल्यानमा २ हजार ४ सय ७०, प्यूठानमा दुई हजार ३ सय ५८, रोल्पामा २ हजार ३ सय ३ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने तथ्यांक देखिएको लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले बताए।

तीन दशकमा आँखा स्वास्थ्य कार्यक्रमबाट २२ लाख ८३ हजार ९ सय २७ जना आँखाका बिरामीको उपचार गरिएको छ।

३ लाख ५७ हजार ९ सय २२ जनाको निःशुल्क उपचार, एक लाख ५४ हजार ४१ जनाको मोतिया बिन्दुको सल्यकृया गरिएको छ। जसमध्ये २५ हजार ८ सय ६७ जनाको निःशुल्क शल्यक्रिया भएको छ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू