खाद्य संस्थानले शुक्रबारदेखि खसी, बोका बिक्री गर्ने

काठमाडौं भित्र्याइएका खसीबोका।

काठमाडौं – नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने भएको छ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो।

संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज बिष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङ्ग्रा काठमाडौँ आइपुगेको जानकारी दिए। शुक्रबारसम्म मुस्ताङबाट १ हजार च्याङ्ग्रा काठमाडौँ ल्याउने योजना बनाइएको छ।

हेटौँडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौँ ल्याउने संस्थानको योजना छ। शुक्रबार बिहान ८ बजेदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण हुनेछ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ। संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख बिष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको बिक्री वितरण हुने बताए। बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित कार्यालय परिसरबाट दसैँका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ। यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिनाई भइरहेको पनि संस्थानले जनाएको छ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू