संसदीय समितिको बैठक

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई पुनः निर्देशन

बजार अनुगमन गर्दै सरकारी टोली। तस्बिरः देश सञ्चार

काठमाडौं – संसदीय समितिले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको छ।

प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य बस्तुको विक्री वितरण भइरहेको उल्लेख गर्दै बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा चिनीको मूल्य प्रतिकेजी सय रुपैयाँमा बिक्री वितरण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै समितिका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए।

बजार अनुगमनको कामलाई प्रभावकारी बनाएर चिनीलगायतका दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

समितिले चिनी उद्योग र त्यसको सम्पूर्ण गतिविधिको विवरण समितिमा पेश गर्न पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सीमित स्रोत, साधनका कारण सबै ठाउँमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकिएको स्पष्टीकरण दिए।

उनले आफू स्वयम् उपभोक्ता भएकाले बजारमा बढेको मूल्यले पीडा दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सक्दो पहल गरिएको दावी गरे। सचिव घिमिरेले ठूला बजार अनुगमनको कामलाई सरकारले प्रभावकारी ढंगले अघि बढाएको दावी पनि गरे।

बैठकमा समितिका सदस्यहरुले उखु किसानको बक्यौता रकम चिनी मिलबाट उपलब्ध गराउन नसकेको भन्दै सरकारको चर्काे आयोजना पनि गरेका थियो।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्