६३औं प्रहरी दिवस

समृद्धिका लागि शान्तिसुरक्षा अपरिहार्यः शेरधन राई

शेरधन राई।

विराटनगर – प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृृद्धिका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको बताएका छन्।

६३औं प्रहरी दिवस अवसरमा विराटनगरस्थित प्रदेश नम्बर–१ प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले जनतामा सुरक्षा प्रत्याभूतिका लागि सबै क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिएका हुन्।

राईले सुरक्षा निकायको सेवाकै कारण जनतामाँझ संगठनको नाम उच्च रहेको स्पष्ट पारे। उनले संगठनले आफूलाई नयाँ उचाईमा उभ्याएर अहिलेको भत्किएको परिस्थिति, भत्किएको धरातलमा उभिएर आफूलाई अघि बढाउनुपर्ने अवस्थामा प्रहरी संगठन उभिएको बताए।

कार्यक्रममा प्रदेश नम्बर–१ का प्रहरी नायव महानिरीक्षक केदार रिजालले पूर्ण व्यावसायिक रुपमा समर्पित भएर शान्ति सुरक्षाकायम गर्न र जनताको सेवामा जुट्न मातहतका प्रहरीलाई निर्देशन दिएका थिए।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना प्रहरीलाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरिएको थियो। ९० हजार राशीको सो पुरस्कार यसपटक दुई जनालाई प्रदान गरिएको हो।

प्रदेश नम्बर–१ प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान समुहका प्रहरी निरीक्षक लेखनाथ दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बुलाई सो पुरस्कार प्रदान गरिएको थियो।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू