सिक्टाको अनुगमनमा संसदीय टोली

‘भारतले सिक्टा सिँचाई आयोजना रोक्ने प्रयास गरेको छ, त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ’

नेपालगञ्ज – परीक्षणका बेलामा दुई पटक भत्किएको बहुप्रतिक्षित एवं गौरवको आयोजना सिक्टा सिँचाईको वास्तविकता बुझ्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका टोली बाँकेमा आएको छ।

समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको संसदीय टोलीले अगैयामा पुगेर सिक्टा सिँचाई आयोजनाको अनुगमन, निरीक्षण तथा सोधपुछ र अन्तरक्रिया गरेको छ। संसदीय टोलीले मूल बाँध र नहरको विशेष निरीक्षण गरेको छ।

वि.सं. २०७३ र यसपटक पानी परीक्षणको क्रममा नहर भत्किएको थियो। परीक्षणमै नहर भत्किएपछि विभिन्न आशंकाहरु उब्जिएका छन्। अनियमितता र गुणस्तरहीन काम भएको आशंका गरेर अख्तियार र जलस्रोत मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ।

संसदीय टोलीले अनुगमनपछि जिल्लाका सरोकार तथा अगुवासँग छलफल गरेर उनीहरुको भावना बुझ्ने जनाएको छ। अहिलेसम्मका अध्ययन टोली तथा त्यहाँ पुगेका विज्ञ र स्थानीयले खराब माटो प्रयोग गरेकाले नहर भत्किएको बताएका छन्।

सिक्टाको अनुगमनमा पुगेका प्रदेश सांसद आइपी खरेलले रिहार माटो प्रयोग गरेकाले नहर भत्किएको बताए। ‘रिहार माटो भनेको पानी नपाउँदा सुख्खा र पानी पाएपछि पग्लिने हुन्छ, यति कुरा पनि ठेकेदार कम्पनीका इन्जिनियरले नबुझेर त्यसले फिलिङ गर्दा नहर भत्किएको हो,’ सांसद खरेलले भने, ‘मैले यसोभन्दा इञ्जिनियरिङ क्याम्पस पुल्चोकबाट आएका विज्ञहरुले सहमति जनाएका थिए।’

बाँकेको ४३ हजार हेक्टर जमिन सिँचाई हुने सिक्टालाई अगाडि बढाउन नदिन भारतीय पक्षले चलखेल गरेको सांसद खरेलले बताए। ‘यो वा त्यो बहानामा भारतले सिक्टालाई रोक्ने प्रयास गरेको छ, त्यसलाई चिरेर हामी अगाडि बढ्नु पर्छ,’ खरेलले थपे, ‘मैले समितिमा पनि सिक्टालाई अवरोध हुने खालको होइन कि कसरी मिलाएर अगाडि बढाउन सकिन्छ। त्यसरी जान सुझाव दिएको छु।’

समितिको टोलीमा सांसदहरु सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढाक्षेत्री, शान्ति माया तामाङ पाख्रिन र शान्ता चौधरी रहेका छन्। सिक्टाको अनुगमनमा सांसद महेश्वर गहतराज, पूर्व सांसद देवराज भार, प्रदेश सांसद आइपी खरेल, कृष्ण केसीलगायत सहभागी थिए।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्