हामीलाई त चाडवाड पनि रुवाउन मात्रै आउँछ

‘नाति लिएर बुहारी अर्कैसँग गई, छोराको खबरै छैन’

दिलबहादुर दर्जी आफ्नी श्रीमतीका साथमा।

काठमाडौं – दसैँतिहार मान्नैका लागि रुपन्देहीको कान्छीबजारका बुद्धिबहादुर दर्जी मलेसियाबाट फर्किएको १५ दिन भयो। बुद्धिबहादुर फर्किएपछि छिमेकी दिलबहादुर दर्जी उनको घरमा पुगे आफ्नो छोराको खबर सोध्न। तर, केही खबर ल्याएनन् बुद्धिबहादुरले।

गाउँघर छरछिमेकीका कमाउन र लेखपढका लागि घर छाडेका सन्तान चाडवाड मान्न भटाभट फर्किन थालेका छन्। बिदा नमिलेर फर्किन नपाएकाहरुले पनि फोन गरेर सम्झाउँछन्, ‘यो साल यस्तै भो अर्को सालको दसैँमा आउँला।’ उनीहरु त अर्को वर्षसँगै मानौँला भनेर पर्खेलान्। तर, दिलबहादुर दिल बुझाउने ठाउँ नै छैन। कहिलेसम्म पर्खिनु पर्ने हो, मलेसियामा हराएको छोरालाई त्यो पनि टुंगो छैन।

दिलबहादुरसँग न घर रुँगेर बसेकी बुहारी छिन्, न त परदेश लागेको छोराको खबर नै छ। वि.सं. २०६४ साल असार १८ गते रोजगारीका लागि मलेशिया गएको माइलो छोरो किसनले फोन गर्न छाडेको ६ वर्ष भयो। बुहारीले पनि यही समयदेखि घर छाडिन्। र, अर्को बिहे गरिन्।

किसन ६ वर्षसम्म पनि नफर्किएपछि बुहारी माइती गएकी थिइन्। त्यसपछि बुहारीको पनि घरमा मन अडिएन। ‘बुहारीलाई पनि के दोश र हजुर हाम्रै छोरो उस्तो भो, ५ साल पर्खी, अनि पनि फर्केन, अहिले अन्तै लागि,’ दिलबहादुरले पीडाले भरिएको दिल खोल्दै गए, ‘अर्को बिहे गरेर गएकी बुहारीसँग पनि उनको गुनासो देखिएन।’

बरु आफैँसँग गुनासो रहेछ दिलबहादुरको, ‘माइलालाई विदेश नै नपठाएको भए आज यो हालत हुन्थेन, मैरै आँखा फुटे, पानासोनिक कम्पनी भनेपछि राम्रै होला भनेर पठाएँ।’ मलेशिया राम्रो छैन, त्यहाँ नपठाउनु भनेर दिलबहादुरलाई छिमेकीले सल्लाह नदिएका पनि हैनन्।

राम्रो कम्पनी भनेपछि एक लाख ५ हजार रुपैयाँ ऋण काढेर छोरो बाटो लगाए। बुहारी गर्भवती थिइन्। उनैले रेखदेख गर्दै थिइन् घर परिवारलाई पनि। उनकै मोबाइलमा फोन गर्थे किसनले। बुहारीले बेलाबेला बाबुआमासँग पनि कुरा गराउँथिइन्। छोरो विदेश गएको सात महिनामा यहाँ नाति जन्मियो।

उता, किसनले पनि कमाएर ऋण तिर्दै गए। ‘सात महिना पुगेपछि नै पानासोनिक कम्पनीबाट भागेर अर्कै कम्पनीमा काम गर्न थालेको छु,’ भन्थे। अर्को कम्पनीमा गएँ भनेपछि पनि बेलाबेला घर खर्च पठाउँथे, श्रीमती र आमा बुवालाई।

यता, घर–माइती गर्दैथिइन् बुहारी। उनको राम्रै भरथेग थियो। ६ वर्षसम्म यसरी नै चल्यो यो परिवारको दैनिकी। उनको माइती पनि गाउँमै हो। तर, माइती गएकी बुहारीपछि घर फर्किनन्। किसनसँगको सम्बन्ध तोड्ने निधोमा पुगिछन्। ५ वर्षको छोरो च्यापेर गाउँकै अर्को केटासँग विवाह गरिन् उनले। त्यसपछि सुनसान भयो दिलबहादुरको घर।

बुहारीले छोडेपछि छोरासँग पनि कुरा हुन छाड्यो। अर्को बिहे गरेपछि बुहारीले पूरानो सिम फालिदिछिन्। दिलबहादुरसँग फोन थिएन। पछि अरुको फोनबाट गर्दा त किसनको पहिलेको नम्बरमा सम्पर्क हुनै सकेन। दिलबहादुरले सम्झिए टुटेको क्षण, ‘न उसले नि सम्झ्यो न मैले गर्दा फोन लाग्यो, त्यसले पनि नम्बर नै चेनफेन गरे छ क्यार भन्यौँ।’

आजभन्दै, भोलि भन्दै फोन त कसो नगर्ला भन्ने आशचाहिँ थियो दिलबहादुरलाई। तर, वर्ष गन्दै गएको पनि असारबाट ६ वर्ष लाग्यो खबरै थाहा छैन, स्वर सुन्ने के कुरा। ‘माइलो आफैँ अप्ठ्यारोमा पर्यो कि, माया मार्यो? के थाहा र हामीलाई,’ दिलबहादुरको मनले अनेक अड्कल काट्छ, ‘त्यो देश नै छाड्यो कि, जेल पो पर्यो? कतै मारेर त फालिदिएनन्?’

दिलबहादुरले मलेशियामा पछिल्लो समय भएको धड्पकडबारे पनि जानकारी लिइराखेका छन् – ‘मलेसियामा निक्कै जना पक्रे भन्छन्, कतै मेरो छोरो पनि पक्राउ त परेन!’ अहँ, उनलाई कसैले त्यो खबर पनि सुनाएका छैनन्। अचेल त बरु पक्राउ परेको छ भन्ने खबर सुन्न पाएपनि शान्ति मिल्थ्यो जस्तो भाछ दिलबहादुरलाई।

त्यही मलेशियामा काम गरेर दुनियाँका छोरा फर्किन्छन्। फर्किनेलाई दिलबहादुरले सोध्छन्। देख्यौं भनेर कसैले भन्दिँदैनन्।

फेरि सम्झिल्याउँछन् अनि गलत आफैँलाई देख्छन्, ‘यसरी हराउँछ भन्ने थाहा पाएको भए किन पठाउँथे र, यस्तो होला भन्ने त दश मुनमा एक मुन पनि सोचेको थिँ’न।’

किसनसँगै बाटो लागेका गाउँकै दुई भाई नेवार केटा र एउटा थारु केटो तीन वर्ष पुग्ने बित्तिकै फर्के। उनीहरुलाई पनि एजेण्ट विश्वनाथ यादवले नै लुम्बिनी दर्शन म्यानपावरमा पुर्याएका थिए। ‘सँगै गएका छोराका साथी देख्दा मन बाँधिएर आउँछ, उपाय केही छैन हजुर!,’ दिलबहादुरले सुनाए, ‘कसैको मनमा दया लागे खोज्देलान्, मेरो त उपाय भएजति लगाइसकेँ, अब केही चल्दैन।’

किसन दर्जी।

छोरो खोजिदिन प्रवासी नेपाली समन्वय समितिमा निवेदन दिएका छन्। मलेशियामा भएका आफ्ना प्रतिनिधिलाई बुझ्न पनि भनेको छ संस्थाले। अरु ठाउँमा पनि उनको निवेदन पुगेको छ, किसनलाई खोजी पाउँ भनि।

‘छोरो भेटिए जेलै परेको रहेछ भनेपनि उकासेर ल्याउँथें, गाउँका केटाहरु मलेशियामै छन्, उनीहरुलाई भन्थें,’ दिलबहादुरले देश सञ्चारसँग दुखेसो पोखे, ‘गरीब भएपनि हरिब छैन, ऋण त पत्याउँछन् नि!’

दिलबहादुरका तीन भाई छोरा हुन्। जेठो र कान्छो पहिल्यै छुट्टिएका थिए। ‘अलि ख्याल माइलैले गर्थ्यो, हातखुट्टा लाग्न छाडेपछि त्यसैले हेर्ला भन्ने’थ्यो, अब त के हेर्नु र, उसैको अवस्था के होला!’ यसरी दिल फुकाउँदै जाँदा दिलबहादुरका पीडा पोखिँदै गए।

‘बुढियाले घाँस काट्छे, म दिनभरि भैंसी चराउँछु, डेढ लिटर दुध डेरीमा लग्छौं, परान थाम्ने मेलो यस्तै छ,’ ५५ पुगेर ५६ वर्ष लागेका दिलबहादुरले बुढेसकालको दैनिकी सुनाए।

चाडवाड नजिकिँदै जाँदा गाउँघरको रमाइलोमा भुल्न सकेका छैनन्। ‘कहिलेकाहीँ त सपनामा पनि देख्छु, ब्युझिँदा छोरो हुँदैन, न कतैबाट खबर नै आउँछ, रातदिन त्यसकै यादले सताउँछ,’ दिलबहादुर भन्छन्, ‘हामीलाई त दसैँतिहार पनि रुवाउँन मात्रै आउँछ।’

छैनन् भन्दा गाउँमै छिन् बुहारी। घर अगाडिबाटै ओहोरदोहोर गर्छिन्। तर, अब उनी पनि आफ्नी रहिनन्।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू