देश सञ्‍चार साँझ

चिनीको मुल्यवृद्धिमा सरकारको चलखेल’, विखण्डनकारी विरुद्ध नेपाली सेना

संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनीको चरम मूल्यबृद्धि गराउन सरकारले ठूलो आर्थिक चलखेल गरेका निष्कर्ष निकालेको छ। लेखराज भट्ट संयोजकत्वको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा सरकारी निकायकै मिलेमतोमा चिनीको चरम मूल्यबृद्धि गरिएको दावीका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानवीनको जिम्मा लगाउन सरकारलाई सुझाव दिएको छ।

विखन्डनकारी विरुद्ध नेपाली सेना
प्रधानसेनापति पूर्णचन्द्र थापाले / नेपाली सेनाले विखन्डनकारी गतिविधिलाई सरकारको आदेश पाएमा तुरुन्त पराजित गर्ने बताएका छन्। संविधानले दिएको अधिकार अन्तर्गत नेपाली सेना आफ्नो भूमिका र जिम्मेवारीमा स्पष्ट रहेको उनले बताए। पत्रकारहरुसँग दसैंको शुभकामना आदानप्रदानका क्रममा प्रधानसेनापति थापाले यी अभिव्यक्ति दिएका हुन्।

निजगढ विमानस्थल समयमै पूरा गर्न दबाब
फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ। समितिले राजधानीमा पत्रकार सम्मेलन गरेर निर्धारित समयसीमा निर्माण सुनिश्चित गर्न सरकारसंग माग गरेको हो।

द्वन्द्वमा मारिएका सबै प्रहरीलाई शहीद घोषणाको माग
सभामुख कृष्णबहादुर महराले माओवादी सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका सबै प्रहरीलाई शहीद घोषणा गर्नुपर्ने सुझाव दिएका छन्। दाङमा ६३औं प्रहरी दिवस समापन समारोहमा सभामुख महराले इतिहासमा जीवन बलिदान गरेका सबै प्रहरीलाई राज्यले शहीद घोषणा गर्न दृढतापूर्वक आफु उभिने बताए ।

सिक्टा परियोजना अनुगमन
परीक्षणका बेलामा दुई पटक भत्किएको बहुप्रतिक्षित एवं गौरवको आयोजना सिक्टा सिँचाईको वास्तविकता बुझ्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली बाँकेमा पुगेको छ। समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा पुगेको संसदीय टोलीले अगैयामा पुगेर सिक्टा सिँचाई आयोजनाको अनुगमन, निरीक्षण र सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

निहारिकालाई मदन पुरस्कार
मदन पुरस्कार गुठीले शान्तदास मानन्धरलाई जगदम्बाश्री सम्मान र उपन्यासकार नीलम कार्की ‘निहारिका’लाई मदन पुरस्कार प्रदान गरेको छ। बालसाहित्यको विकास, विस्तार तथा प्रवद्र्धनका लागि पाँच दशकसम्म योगदान पु¥याएका मानन्धर सम्मानित भएका हुन् भने ‘योगमाया’ उपन्यासका लागि कार्कीलाई पुरस्कार प्रदान गरिएको हो।

गंगा सफाई अभियान्ताको अनशनमै निधन
विगत एक सय ११ दिनदेखि गंगा सफाईको माग गर्दै भारतको हरिद्धारमा अनशन बसिरहेका प्रोफेसर जीडी अग्रवालको निधन भएको छ। पर्यावरणविद् प्रोफेसर अग्रवालको निधन भएको हो। अक्टोबर ९ तारिखदेखि उनले पानी समेत पिउन छोडेका थिए।

बिहारका मुख्यमन्त्रीमाथि चप्पल प्रहार
बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि युवा जनता दल (यू)ले आयोजना गरेको कार्यक्रममा चप्पल प्रहार भएको छ। मुख्यमन्त्री नीतीश कुमारमाथि एक व्यक्तिले चप्पल प्रहार गरेपनि उनी डायसमा रहेकाले उनलाई लागेन। पटना पुलिसले चन्दन तिवारी नामका ती युवकलाई गिरफ्तार गरेको छ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू