दसैंको सस्तो बजारमा अखाद्य वस्तु भेटियो

जनकपुरधाम- दशैंको घटस्थापना देखी जनकपुरमा शुरु भएको सस्तो बजारमा अखाद्य पदार्थ भेटिएको छ। राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले उद्घाटन गरेका उक्त बजारको दोस्रो दिन विहीबार साँझ अनुगमनका क्रममा अखाद्य समाग्री फेला परेको छ।

जनकपुरको गोपाल धर्मशालामा लागेको सस्तो बजारमा एक आइसक्रिम पसलमा अखाद्य वस्तु फेला परेपछि विक्रेतालाई अनुगमन टोलीले नियन्त्रण लिएका छन्।

अनुगमन क्रममा अमर आइसक्रिममा देखिएको कालो पदार्थ के हो सोध्दा विक्रेता विकास दासले अटेरी गरेपछी उनलाई नियन्त्रणमा लिएको टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि जितेन्द्र प्रसाद सिंहले जनाएका छन्।

जनकपुर उपमहानगरपालिका वाड नं. ८ स्थित मनोज चौधरीले संचालन गरेको अमर आइसक्रिम उद्योगबाट उत्पादित आइसक्रिममा म्याद समेत नभएको अनुगमन टोलीले बताएको छ।

हिन्दुहरुको महान पर्व दशैं, तिहार तथा छठलाई मध्यजनर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमनलाई तिव्रता दिएको छ।पर्वको समयमा कालोबजारी, महंगी बढेको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालयका अधिकृत दिनेश साहको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ।

नापतौल कार्यालय धनुषाका वीरेन्द्र उपाध्याय, घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी हवल्दार शंकर कटुवाल लगायतको सहभागिता रहेको उक्त टोलीले केही दिन अगाडी मात्रै जनकपुरनगरको अनुगमन क्रममा म्याद नाघेको सामान फेला पारेको थियो।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्