जीवन अनिश्चित छ। कतिबेला के हुन्छ थाहा छैन हैन त ? देशसञ्चारको यो प्रश्नसँग ननिताले तत्कालै सहमति जनाइन्। बालापनमा उनी गीत गाउँथिन्, नाच्थिन् अनि खेल्थिन् पनि।
उनको गीतबाट गुरुले उनी राम्रो गायीका बन्ने भविष्यवाणी गर्थे। नृत्यमा पनि उनको कला देखिन्थ्यो। ‘तिमीमा राम्रो नित्यंगना बन्ने क्षमता छ’, गुरुको हौसला ननितालाई ताजै लाग्छ। तर खेलको जितमा उनलाई बढी गर्व लाग्थ्यो। सोच्थिन,’ मसँग केही त छ ।
‘मलाई हरेक कुराको अनुभव लिन मन लाग्थ्यो । सबै काम गर्न सक्छु भन्ने लाग्थ्यो। मेरो प्रतिभा र प्रस्तुतीले तारिफ पाउँथ्यो। त्यसबाट म झन हौसिन्थे’, कीर्तिपुरे ननिता महर्जन भन्छिन्।
पारिवारिक दायित्वको स्विकारोक्ति
सामान्य परिवारकी उनी तीन सन्तानमध्येकी एक्ली छोरी थिइन्। बुबाको कीर्तिपुरमै सिलाई पसल थियो। प्लस टु पढ्दै गर्दा, २३ वर्षको उमेरमा उनको प्रेम विवाह भयो। श्रीमान संघर्षरत थिए। ससुरा थिएनन् ।
श्रीमान् जेठो छोरा भएकाले पारिवारिक जिम्मेवारी ननिताको काँधमा पनि थपियो। ‘मैले सबै कुरा बिर्सिएर श्रीमानलाई सघाउन थालेँ, परिवार बनाउन लागेँ’,ननिता भन्छिन्। संघर्षबीच परिवारमा खुसी थपिँदै थियो।
सन्तानका रुपमा छोरा जन्मिए। जीवन चल्दै थियो आफ्नै लयमा। हरेक सामान्य मान्छेको जस्तो उनको संघर्ष अरुकमा लागि अर्थ राख्दैन थियो।
उपचारका लागि फिटनेश सेन्टर
अचानक उनले शारीरिक समस्या झेल्न थालिन्। माइग्रेन, घुँडा दुख्ने, ढाड दुख्ने समस्या एकसाथ देखिए। उपचारका लागि अनगिन्ती अस्पताल धाइन् । बिसको उन्नाइस भएन। एक दिन श्रीमानले जिम जाँदा निको हुन सक्छ की भन्दै उनलाई त्यहाँ जान प्रेरित गरे।
ननिता हरेक दिन फिटनेश सेन्टरमा जान थालिन्। विस्तारै स्वास्थ्यमा सुधार आएको अनुभव गरिन। घरको सबै काम भ्याएर उनी नियमित फिटनेश सेन्टर धाउन थालिन थालिन्। त्यहाँ अन्य महिला पनि सहभागि थिए तर नियमित हुन सकेका थिएनन् उनीहरु।
विश्व च्याम्पियनसीपको यात्रा
फिटनेश सेन्टरमा आबद्ध दिनेश राजभन्डारीले ननितालाई एक दिन भने’, ‘तिम्रो ज्यान राम्रो छ, काठमाडौँमा महिला फिटनेश च्याम्पियनसिप हुँदैछ तिमी पनि किन सहभागि नहुने ?’
राम्रो ज्यान बनाउने शोख त ननितालाई सानैदेखि नै थियो तर प्रतियोगितामै गएर खेल्ने अाँट भने थिएन। त्यो पनि ‘टू पिस’ लगाउनु पर्ने। फसादमा परिन्। तर ५ र ६ वर्षको छोरा,श्रीमान अनि बाँकी परिवारका सबैलाई सम्झिइन् विश्वासका साथ । त्यसअघि महिला फिटनेश च्याम्पियनसिप नेपालमा भएको थिएन।
परिवारको समर्थन
फिटनेश सेन्टरमा गएर महिलाले ज्यान बनाउने चलन थिएन उनको समुदायमा। त्यसमाथि पनि ननिता विवाहित थिइन् र पारिवारिक जिम्मेवारीले बाँधेको थियो। तर श्रीमानले ननितालाई साथ दिए। त्यसपछि सुरु भयो उनको बडी बिल्डिङ र प्रतिस्पर्धाको यात्रा।
पछिल्ला चार वर्षको नयाँ चरणको संघर्षले उनलाई एउटा उचाईमा पुर्याएको छ। विगत सम्झिदा उनी आफै अचम्मित हुन्छिन्। कहिलेकाँही सपना जस्तै लाग्छ यी सबै काम र निर्णयहरु। कसरी यो सम्भव भयो ? उनले विश्व च्याम्पियनसिपमा एकपटक रजत र एकपटक कास्य पदक हात पारिसकेकी छन्।
नेपाललाई चिनाउने र सफलता हात पारिरहने भोक उनीभित्र तिव्र बन्दै छ । ‘मेरो खेल जविनलाई सहज बनाउने काम गर्नु भयो मेरै श्रीमान र सासुले। म आफै पनि कुनै काम सुरु गरेपछि शतप्रतिशत मेहेनेत गरेर सफलता हाँसिल गर्नु पर्छ भन्ने मान्यता राख्ने मानिस हुँ ’, ३३ वर्षीय ननिता भन्छिन्। ननिता खेलाडीका लागि मात्र नभएर आम मानिसका लागि समेत आदर्श र प्रेरणा बनेकी छन् अहिले।
‘सबैभन्दा पहिले स्वस्थ र फिट रहनुपर्छ महिला पुरुष दुवै । त्यसले काममा फोकस गराउँछ । तर हाम्रो समाजमा अघि निकै चुनौति पार गर्नु पर्छ। परिवारको पूर्ण साथ पाएमात्रै हामीलाई अघि बढ्न सहयोग मिल्छ’, उनले भनिन । परिवारको साथले नै चार वर्षअघि काठमाडौँ च्याम्पियनसिप ननिताको जिवनमा कोसेढुंगा बन्यो।
आत्मविश्वास
प्रतियोगितामा पहिलो स्थान हात पारेपछि चुलिएको चर्चाले नै ननितालाई प्रेरित ग¥यो। सबैले उनलाई यहि खेलमा भविस्य बनाउन सुझाव दिए। सन् २०१६ को डीसेम्बरमा थाइल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा भाग लिन जाँदा उनीसँग जितको थोरै अपेक्षा थियो।
बुझ्न बाँकी धेरै थियो। ‘मैले कुन इभेन्टमा प्रतिस्पर्धा गर्ने भन्ने समेत त्यहीँ गएर थाहा भयो। मोडल फिजिकमा तयारी गरेकोँ थिएँ तर त्यहाँ पुगेपछि मात्र मेरो शारिरिक बनावट एथलेटिक फिजिकका लागि बढी उपयुक्त रहेको भन्दै आफुले तयारी गरेको स्पर्धामा भिड्न नपाइने स्थिति आयो । तर पनि ननिताले हिम्मत हारिनन्।
सामान्य टिप्सकै भरमा उनी प्रतिस्पर्धामा उत्रिइन्। तेस्रो स्थान हात पारिन्। उनलाई सामान्य लाग्यो। भन्छिन,’तर नेपाल आईसकेपछि थाहा भयो,मैले हात पारेको सफलता त ठुलो रहेछ।’
चुलिदो उचाई, सामान्य अनुभव
गत वर्ष पनि विश्व च्याम्पियनसिप खेल्न पुगिन् । रजत पदक जितिन्। ननिताको चर्चा थप चुलियो तर आफु सामान्य लाग्छ उनलाई। अब उनले डिसेम्बरमा फेरी विश्व च्याम्पियनसिपमा भाग लिदै छन्। यसपटक उनको ‘स्वर्ण जित्ने’ उनको एउटै चाहना छ उनको।
पछिल्लो समय नेपाली बडी बिल्डिङको क्षेत्रमा धेरै महिला खेलाडीको संख्या बढ्दैछ। तर त्यसमा उनीहरुलाई समस्या छ। पारिवारिक देखि सामाजिक बाध्यताले उनीहरुलाई थिच्दा त्यसलाई निरन्तरता दिन कठिन हुन्छ ।
तर ननिता भन्छिन्’, हिम्मतले मलाई निरन्तरताको पक्षमा उभ्याई राख्छ। सफलता त त्यसको स्वभाविक ‘बाइप्रोडक्ट’ हो।’