मलेसियामा सन्दीपको जादु, ६ खेलमा २४ विकेट

फाइल तस्बिर

काठमाडौँ- मलेसियामा जारी टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगितामा नेपाली स्पीनर सन्दीप लामिछानेले जादुमयी प्रदर्शन गरेका छन्।

सन्दीपले प्रतियोगिताका ६ खेलमा २४ विकेट लिए। पहिलो खेलमा म्यानमारविरुद्ध चार विकेट लिएका सन्दीपले त्यसपछिका लगातार दुई ख‍ेलमा मलेसिया र थाइल्यान्डसँग पाँच पाँच विकेट हात पारेका थिए।

उनले चीन र भुटानविरुद्ध तीन तीन विकेट लिएका थिए। सन्दीपले प्रतियोगितामा २०.३ ओभरमा ४ मेडन राखेर ५७ रन खर्चिए। उनीभन्दा पछाडि रहेका नेपालकै ललित राजबंशीको नाममा ११ विकेट छ।

जारी प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग भिडिरहेको छ। पहिला ब्याटिङ गरेको  सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ।

सिंगापुरले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सोमपाल कामी र करण केसीले पनि दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो।

प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेका छन्।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्