सरकारले गर्व गर्न लायक काम गरिरहेको प्रचण्डको दावी

‘सरकारलाई असफल बनाउन र नेकपाको एकता तोड्न देशी–विदेशी लागेका छन्’

पुष्पकमल दाहाल प्रचण्ड। फाइल तस्बिर।

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई असफल बनाउन र नेकपाको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको दावी गरेका छन्।

उनले बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको आरोप पनि लगाएका छन्।

शुक्रबार दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दावी गरेका छन्।

सरकारको कामलाई लिएर पार्टीभित्रैबाट पनि आलोचना भइरहेका बेला प्रचण्डले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको दावी गर्दै सरकारको बचाउ गरेका हुन्।

प्रचण्डले सरकारले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धी सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको बताए।

डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको बताउँदै प्रचण्डले त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे।

उनले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्