एक थान पेस्तोल र गोलीसहित तीन जना पक्राउ

पेस्तोलसहित पक्राउ परेका तीन युवक।

जनकपुरधाम – जनकपुरमा एक पेस्तोल र एक राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका–१९ वेंगाशीवपुरमा जुवातास खेलिरहेका तीन जना युवकलाई प्रहरीले पेस्तोलसहित समातेको हो।

जुवा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भाग्ने क्रममा पक्राउ परेका उनीहरुको चेकजाँच गरेपछि एकथान नलकटुवा पेस्तोल, एक राउण्ड गोली र दुई थान मोबाइल बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले बताएका छन्।

पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका–६ घर भएका २७ वर्षीय रामचन्द्र दास, जनकपुर–१९ बस्ने १९ वर्षीय ऋषिकेशप्रसाद साह र १८ वर्षीय आशिक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

वेंगाशिवपुरमा जुवातास खेलिरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्