जनकपुरका दुई मिठाई पसलमा शिलबन्दी

सरकारी अनुगमन टोली।

जनकपुरधाम – जनकपुरको रघुपति मिष्ठान भण्डार र ओम बेकरिज स्वीट्सको कारखाना शिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषा, घरेलु उद्योग कार्यालय र सुरक्षा निकायको टोलीले शुक्रबार जनकपुरको जानकीचोकमा अवस्थित रघुपति मिष्ठान भण्डार र देवीचोक स्थित रहेको ओम बेकरीको अवैद्य कारखाना बन्द गराएको छ।

मिष्ठान भण्डारले अवैद्य मिठाई कारखाना सञ्चालन गरेको र कारखानको धुवाधुलो एवं प्रदुषणबाट स्वास्थ्यमा समस्या परेको भन्दै देवीचोकका केही स्थानीयहरुले ओम बेकरिज स्वीट्स र रघुपति मिष्ठान भण्डारको कारखाना बन्द गराउन माग गर्दै उच्च अदालत जनकपुरमा रिट दर्ता गराएका थिए।

सोही रिटउपर सुनुवाई गर्दै उच्च अदालतले गत असोज १ गते अर्को आदेश नहुञ्जेलसम्मका लागि उक्त कारखाना बन्द गर्न आदेश दिएको थियो।

तर, झण्डै २५ दिनपछि जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग कार्यालय तथा सुरक्षा निकायको संयुक्त टोलीले कारखाना बन्द गराएको हो।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्