आश्विन नवरात्रको चौथो दिनः आज कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ – आश्विन नवरात्रको चौथो दिन शनिबार माता दुर्गाको चौथो स्वरुप कुष्माण्डा भगवतीको पूजाआजा गरी मनाईँदैछ ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। यी देवीको आठ हात भएका हुनेभएकोले यीनलाई अष्टभुजा देवी पनि भनिन्छ।

उष्णता तथा शीतलाता सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको विश्वास गरिन्छ । यी देवी उष्ण रक्त समूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुईवटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दसैँमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्