अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज-४ : पूर्व कमलरी उर्मिला चौधरी

दासत्वको जञ्जिरदेखि मुक्तिको नेतृत्वसम्म

अभिभावका काखमा लुट्पुटिने बेला मालिकको घरमा जुठा भाँडा माझ्न थालिन्। कापीकलम च्यापेर स्कुल जाने रहर मनमै रह्यो। पढेर ‘ठूलो मान्छे’ बनिन्छ भन्ने कुरा कहिलेकाहिँ अरुले भन्दा कानमा पर्थ्यो उनको ।

गढवा गाउँपालिका वडा नं. ७ मानपुरकी उर्मिला चौधरीलाई जब ‘बँधुवा कमलरी’ बनाइयो उनको जीवनका रंगहरु फिक्का बने। ११ वर्षको ‘बँधुवा कमलरी’ जीवनमा हाँस्न बहाना खोज्नु पर्थ्यो उनले । तर समय सधैँ एकनास हुँदैन ।

संघर्षले उनको जीवनले कोल्टे फेर्ने मौका पायो । मनको अठोटले फेरि एउटा अवसर पायो। दासत्वको जीवन स्वीकारेकी तिनै उर्मिलाले पश्चिम नेपालको कमलरी मुक्त अभियानको नेतृत्व गरिन्।

आफ्नो सँगै हजारौँ कमलरीको ओठमा हाँसो फर्काइन्। राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मञ्चमा पुगेर कमलरी र महिला हिंसाविरुद्ध आवाज उठाइन र जीवन अर्थपूर्णबनाइन्।

गरिबीले जन्माएको दासत्व


दशजनाको परिवार। बिहान साँझ छाक जुटाउन हम्मेहम्मे। यो दैनिकी नियति थियो उनको परिवारको। परिवार पाल्न उर्मिलाको बुवा फुलपत कमैया बसे। अभावबाट ग्रस्तहरु कमलरी बस्ने थारु समुदायमा परम्परा नै थियो। कलिला छोरीहरु नै त्यसका लागि रोजाईमा पर्थे ३/३ जना दाई र दिदी, एउटा भाइ । कान्छी छोरी थिइन् ।

दिदीहरु सबैलाई कमलरी बसालेपछि उर्मिलाको पनि पालो आयो ६ वर्षकै छँदा । घर भन्दा धेरै टाढा, अञ्जान ठाउँमा । आँसु झार्दै काठमाडौँस्थित मालिकको घर आइपुगिन्। पढाउने सर्तमा ल्याइएको थियो उनलाई काम लगाउन। तर अध्ययनबाट वञ्चित भइन् उनी । फेरि जीवन अनिश्चिततामा भासिए जस्तो भयो । १३ जना को त्यो परिवारमा घाम झुल्कनु भन्दा पहिलेदेखि राती अबेरसम्मको कामले उनको ज्यान गलेको हुन्थ्यो । मालिकको व्यवहार त्यतिकै रुखो थियो। आँसुसँगसँगै भात निल्थिन् ।

८ वर्षसम्म उनले त्यहाँ कस्टकर जीवन बिताइन्। कमलरीबाट मुक्तिको आस पनि टुट्न थाल्यो । पछि तिनै मालिकको आफन्तकहाँ सरिन् उनी । तर हैसियत फेरिएन । भाँडा माझेको ज्याला वार्षिक चार हजार तोकियो । त्यो पनि हातमा परेन। मुस्किलले एक÷दुई जोड कपडाका भरमा उनको वर्ष कट्थ्यो । उर्मिलासँगै उनको गाउँबाट ८ जना बालिकालाई कमलरी बसाल्न राजधानी ल्याइएको थियो। उनीहरुबिच खासै कुनै सम्पर्क थिएन।

कमलरी मुक्तिको यात्रा


कमलरीका प्रथाले दासत्वमा आधारित थियो, एउटा मालिक, अर्को कमलरी अपमानित जीवन अपवाद थिएन। मालिकविरुद्ध उभिन सक्ने परिस्थिति पनि थिएन । घर चलाउनु थियो उनीहरुलाई।

२०६३ मंसिर पुसमा राजधानीमा मुक्त कमैयाको ठूलै आन्दोलन सुरु भयो। उर्मिलाका दाइ पनि कमैया मुक्ति आन्दोलनमा संलग्न भए। बाध्यताले कमलरी बनेकी बहिनीलाई मुक्त गराउन चाहान्थे उनका दाइ। । आन्दोलन चर्किदै जाँदा उनले उर्मिला कमलरी बसेको ठेगाना खोज्न थाले ।

एक दिन घर मालिकको कपालमा तेल लगाएर मालिस गरिरहेका बेला उर्मिलाले टेलिभिजनबाट मुुक्त कमैया आन्दोलनकारीहरु देखिन्, आन्दोलनमा एउटा अनुहार उनको दाइको पनि थियो । कम्मल ओढेर बसिरहेका थिए उनी। त्यसबाट उर्मिलालाई एकाएक हौसला बढ्यो।

तर घर मालिकका अघि केही बोलिनन् । दाइले केही दिनपछि उर्मिलालाई त्यो घरबाट निस्क भन्दै फोन गरे। तर उर्मिलाई सहज थिएन निस्कन । केही सिप नलागेपछि दाइले आफै घरमालिकलाई भेटे । तर पनि आफूसँग लग्न सकेनन् बहिनीलाई ।

कमलरीबाट बहिनीलाई मुक्त गराउन नसकेकोमा उनलाई हिनताबोध भयो । उनले गाउँमा आन्दोलन चर्काए। उर्मिलालाई राजधानीबाट झिकाउन दबाब बढ्यो । अन्ततः २०६३ साल माघ १ गते उर्मिला दासत्वबाट मुक्त भइन् ।

नयाँ जीवनको सुरुवात


घर पुगे लगत्तै एकाएक आत्मविश्वास बढ्यो । नजिकैको ज्ञान ज्योती विद्यालयमा पुगिन्। ‘सानो मान्छे स्कुलमा, ठूलो मान्छे काममा, कमलरी राख्न पाईदैन’ भन्ने नारासहितको कमलरी मुक्ति अभियानमा संलग्न भइन्। आन्दोलनको नेतृत्व गर्न थालिन्, आफैले भोगेको अनुभव र पीडाले अरुलाई समेत संगठित बनायो ।

कमलरीका घरघरमा पुगिन्, कमलरी छुटाउन मद्दत गरिन्। ‘आफू कमलरी बसेको पीडा मसँग थियो। अरुलाई त्यो पीडाबाट मुक्त गराउन चाहान्थँे । त्यसैले म त्यो अभियानमा निरन्तर लागेँ र सफल पनि भएँ’, उर्मिला भन्छिन्। कमलरी मुक्ति अभियानमा लाग्दा उनका विरुद्धमा समाजमा धेरै जालहरु बुनिए। तर पूर्व कमलरी जीवनले उनलाई अघि बढ्न प्रेरित गर्यो ।

२०६५ सालमा शान्तिपूर्ण आन्दोलनको लागि पश्चिम नेपालका कमलरीहरु राजधानी आए, उर्मिला पनि आइन्। मुक्ति पछि पुनर्स्थापनामा राज्यको सहयोग चाहिने माग पनि उनीहरुको अभियानले बोकेको थियो। अन्ततः सरकारले १२ करोड रुपैयाँ मुक्त कमलरीको शिक्षाको लागि विनियोजन गर्यो । २०६९ सालमा फेरि मुक्त कमलरीको आन्दोलन चर्कियो ।

राजधानीमा कमलरी बसेकी देउखुरी मौरीघाटकी सृजना चौधरीको जलेर भएको मृत्युले आन्दोलन तताएको थियो। त्यसपल्ट आन्दोलन सिंहदरबार पुग्यो । आन्दोलनकारी र प्रहरीबिच झडप भयो। । १५ जना घाइते भए। उर्मिला चर्चामा आइन्, घाइते र बेहोस भएपछि । ७५ जना प्रहरी नियन्त्रणमा परे। अन्ततः सरकारले दश बुँदै सम्झौता सँगै २०७० असार १३ गते मुलुकमा कमलरी मुक्तिको घोषणा गर्यो । अझै ९३ जना कमलरी बसेको रेकर्डमा छन्। लागि परेकी छन् उनीहरुको खोजी र मुभिक्तमा ।

स्कुले जीवनको सुरुवात


कमलरीबाट मुक्त उर्मिलालाई पढ्न मन लाग्यो। उमेर र समाजले छेक्ने भय पनि थियो । तर शिक्षा चेतना बिना मुक्तिले जीवनमा र समाजमा ठूलो परिवर्तन ल्याउँदैन भन्ने उनले कठोर भोगाइबाट बुझिसकेकी थिइन्। उनी घर पुग्दा मुक्त कमलरीहरुलाई ‘ब्रिजकोर्ष’ गर्न निःशुल्क कक्षा सञ्चालनमा आएको थियो। त्यसमा संलग्न भइन्। कक्षा ३ र ४ को परिक्षा दिएर ५ मा भर्ना भई जनता माध्यमिक विद्यालयमा औपचारीक शिक्षा सुरु गरिन् ।

अध्ययन र कमलरी मुक्ति अभियान सँगसँगै अघि बढाइन् । डेढ महिनामा मात्रै ९३ जना कमलरी बालिका छात्राबासमा राखिए। घरमा पुनर्स्थापना हुन नसकेका, अभिभावक बिहीन बालिकाहरु छात्राबासमा राखिए। कमलरी मुक्तिका लागि साझा मञ्चको अगुवाईमा टोलटोलमा कमलरी बालिकाहरुको तथ्यांक खोजी हुन थाल्यो।

चुनौतीको दायरा झन फराकिलो बन्यो । तर त्यसलाई अवसरका रुपमा लिइन उनले। अहिले कक्षा १२ पढ्दै गरेकी उर्मिला भन्छिन्’, इच्छाशक्तिले नै हो सोचेको काम पूरा हुने । त्यसमा न उमेर न समाजले नै छेक्छ ।’

अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रा


यसबिचमा उर्मिला अन्तर्राष्ट्रिय मञ्चमा उभिन सफल पनि भएकी छन्। । कमैया परिवारमा जन्मेकी र कमलरी जीवन बिताएकी उर्मिला ‘फ्रिडम फ्रम फियर’ को अवार्डबाट सम्मानित नेपालको पहिलो व्यक्ति बन्न पुगिन् । नेल्सन मण्डेला, आङसाङ सुकी, चार्ल्स एञ्जिला, मलालाले हात पारेको यो अवार्ड पाएपछि थप दायित्वबोध भयो उनलाई ।

नदरल्याण्डसमा त्यो सम्मान हाँसिल गर्नु अघि उनले जर्मनी पुगेर दश हजार यूरोको ‘ह्याकर प्राईज’ पाएकी थिइन् । त्यसको ठूलो भाग मुक्त कमलरी विकास मञ्चलाई दिइन्। उर्मिलाको संघर्षको आधारमा (बेचिएकी चेली) नेपाली अनुवाद समेत प्रकाशन भयो। सन् २०११ मा बिक्री भएका किताब थियो त्यो। त्यसले उनलाई चर्चाको शिखरमा लग्यो ।

उनको जीवनमा आधारित ‘मेमोरीज माई पावर’ नामक चलचित्र पनि बनेको छ । कमलरी भूमिहिन र सुकुम्बासीको पुनर्स्थापनका लागि काम गरिरहेको ‘सोसाइटी वेलफेयर एक्सन नेपाल’ को कार्यसमितिको सचिवमन रुपमा काम गरिरहेकी छन्।

अहिले पनि उनको नाम चर्चामा छ । तर ३९ वर्षीया उर्मिला भन्छिन्, ‘जुन कामले मलाई चिनायो त्यो म बाँचुञ्जेल गर्छु । अहिले पनि कुनै न कुनै रुपमा कमलरी प्रथा जारी छ। शोषणबाट बालिका मुक्त छैनन्। त्यस विरुद्ध म लागिरेहेकी छु।’

अशोज २७, २०७५ मा प्रकाशित