गुर्जा हिमालमा पाँचजना कोरियाली पर्वतारोहीसहित नौजना बेपत्ता

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ ।
७ हजार १९३ मिटर उचाइको गूर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली पर्वतारोही र चारजना नेपाली टोली हावाहुरीले बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासी हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
बेसक्याम्पमा चलेको हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएको उनले बताए । टे«किङ एजेन्सीमार्फत उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगे पनि ल्याण्ड गर्न नसकेपछि फर्किएको उनले जानकारी दिए ।
हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसै साता मात्रै गुर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।