कैलालीको अत्तरीयामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना

धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।

पूर्वबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख १०१४ नम्बरको ट्याङ्कर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डिजेल बोकेको ट्याङ्कर दुर्घटना भए पनि कुनै क्षति भएको छैन र ठूलो क्षति हुनबाट जोगिएको छ । ट्याङ्कर दुर्घटना भएर सडकमा पल्टिएको थियो भने सवै डिजेल सडकमा पोखिएको थियो ।

तिब्र गतिमा रहेको उक्त ट्याङकर अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन सिंह ठकुरीले बताए ।

दुर्घटनापछि चालक टीकापुर, नगरपालिकाका हरिलाल चौधरी फरार छन भने सह–चालक रामस्वरुप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्