दसैँको उपहार, नयाँ घर

नयाँ घर पाउँदा थामिएनन् सुशीलाका आँसु, लालबहादुर पनि भक्‍कानिए

‘ठूला–ठूला महल होइन, शीप सिकाउने झुपडी देऊ, दैव’ नजिकै चिया पसलको रेडियोमा कर्णदासको गीत घन्किरहेको थियो।

विजयादशमीको पूर्वसन्ध्यामा नजिकै सेतो र आकाशे निलो रङमा जस्तापाताले छाएको घरमा नौलो रौनक रहेको थियो।

सन्दर्भ थियो, श्रेष्ठ दम्पत्तिलाई नवनिर्मित घर हस्तान्तरण। विराटनगर वडा नम्बर एक परोपकारघाटमा विगत ४ सय २ दिनको अथक प्रयासपछि अति विपन्‍न श्रेष्ठ दम्पत्तिलाई शनिबार घर निर्माण गरि हस्तान्तरण गरिएको थियो।

गतवर्ष साउन महिनामा गएको बाढी र डुबानले लालबहादुर श्रेष्ठ र उनकी अर्धाङ्गिनी सुशीला श्रेष्ठ दम्पत्तीको बाँसको कटेरोको घर बगाएको थियो। त्यसयता उनीहरु खुला अकाशमूनि जीवन बिताउदै आइरहेका थिए।

श्रेष्ठ दम्पत्ती नवनिर्माण घर प्रवेशका क्रममा अलि गम्भीर पनि थिए र अलि उत्साहित पनि। घर प्रवेशका क्रममा मुटुरोगको औषधि खाँदै आएका पीडित लालबहादुरको मुहार हँसिलो देखिन्थ्यो। श्रीमती सुशीलाको आँखा रसाएका थिए।

घरको बरण्डामा प्लाष्टिकको कुर्सीमा बसेकी ६३ वर्षीया सुशीला घर प्रवेशका क्रममा एकाएक भक्कानिन पुगिन्। चौतर्फी मानिसको भीड थियो।

उनीसँगै पछाडि उभिएका ६० वर्षीय श्रीमान् लालबहादुरले सुशीलाको काँधमा हात राख्दै मौन रुपमा दह्रो बन्न सुझाइरहेका थिए। यस क्रममा सुशीला कुर्सीमै बसिरहिन् र विगतलाई सम्झँदै एकोहोरो रुपमा मुख छोपेर भक्कानी रहिन्।

दुई वर्षअघि सुशीला एकाएक बिरामी भइन्। तत्कालै लालबहादुरले उपचारका लागि भारतको बिहार, विराटनगरका अस्पतालमा उपचारका लागि पुर्याए।

तर, कतै केही लागेन। ‘केही समय औषधि पनि चल्यो,’ लालबहादुर लामो सास फेर्दै भन्छन्, ‘पछि रोगले च्याप्दै गएपछि अहिले उनी हिड्डुल गर्न सक्दिनन्। शरीरको आधा भागले काम गर्दैन।’

यति बताइरहदा लालबहादुर समेत गम्भीर भए र केही समय मौन बसे। पुगर्निर्माण गरिएको घरलाई हेर्दै उनले भने, ‘दसैँको मुखमा यस्तो घरको कल्पना नि गर्न सकेको थिएनौं हामी दुवैले, धेरै ढुक्क भएको छु।’

‘दसैँ त विगतका वर्षमा पनि मनाइएको हो, जस्तो आउछ मिलेर टार्छौ, यसपटक दसैँसँगै घरमा बस्ने मौका पाएकाछौँ निक्कै खुशी छु,’ उनले हसिलो हुँदै भने।

२०५६ सालअघिसम्म श्रेष्ठ दम्पत्तीको परिवार हाँसिखुशी थियो। एक छोरा दिपक र बुहारीसँग हाँसिखुशी जीवन अघि बढिरहेको थियो। दिपक आफैँपनि स्थानीय क्लबबाट फुटबल खेल्ने गर्दथे।

स्थानीय सम्राट स्पोर्टिङ क्लबको गोलकिपरका रुपमा खेलजीवन अघि बढाउने क्रममा बिरामी परे। २६ वर्षकै उमेर २०५६ सालमा दिपकको निधन हुनपुग्यो। त्यसपछि श्रेष्ठपरिवार विक्षिप्त बन्यो। ‘बुहारी एउटा नातिलिएर सुनसरी घर फर्किएपछि, घरमा शुन्यता छायो,’ लालबहादुरले भने।

२०५१ सालमा परोपकारघाट सुकुम्बासी टोलमा बसोबास गर्दै आएको श्रेष्ठपरिवारको आयश्रोत छैन। खानपानका लागि उनीहरु दुवै नजिकका घरछिमेकीको भर पर्छन्। केही वर्षअघिसम्म घरबनाउने राजमिस्त्रीको काम गर्दै आएका लालबहादुरपनि मुटुमा समस्या देखिएपछि घरमै छन्।

सुशीलाले पनि करिब दुइवर्षअघि स्थानीय एजेलिया बोर्डिङ स्कुलमा काम गरिन्। तर छोराको निधनले स्तब्ध सुशीला त्यसपनि काममा फर्किन चाहिनन्।

घर हस्तानतरण कार्यक्रममा हसिलो देखिएको उनको अनुसार, नवनिर्मित घरमा रहँदा मलिन अनि गहभरि आँसुले भरिएको स्पस्ट देखिन्थ्यो।

यसैबीच, देश सञ्चार संवाददाताले श्रीमान् लालबहादुरसँग कहिले कहाँ भेट भयो विवाह कसरी भयो भन्ने प्रश्न राख्दा कुर्सीमा बसेकी सुशीलाले पछाडि उभिएका लालबहादुरलाई हेरिन् र मुस्कुराइन्। अनि बाक्य फुटाइन् प्रेम विवाह गरियो।

सुनसरीको दुहबीस्थित फुपुको घरमा बस्दै आएकी सुशीला र लालबहादुरबीच २०३६ सालमा भेट भएको थियो। ‘सोही समय दुवै प्रेममा परे, त्यही प्रेमविवाह गरियो,’ सुशीलाले मन्द मुस्कानका भनिन्।

हाल घरमा सानो बारी छ, अघिल्लितिर तुलसी मोठ र सानो बारीमा साग रोपेका छन्। बासको कटेरो डुबान र बाढीले बगाएपछि अलपत्र अवस्थामा श्रेष्ठ दम्पत्ती शरण खोज्दै नजिकैको एजेलिया बोर्डिङ पुगेका थिए। जहाँ अखिल नेपाल फुटबल संघ मान्यता प्राप्त रेफ्री विक्रम कार्कीले श्रेष्ठ दम्पत्तीलाई सहयोग गर्ने बाचा गरे।

यहीबाट भत्किएको घर पुनर्निमार्ण हुने कार्यले गति पाएको कार्कीको भनाइ छ।

‘विपद्ले पनि सुखी दुःखी गरिब धनी नछुट्याउने रहेछ, लालबहादुर मुटुका विरामी र सुशीलाको आधा शरिर प्यारालाइसेस। त्यसैले पनि उनीहरुका लागि केही गर्नुपर्छ भन्ने आँटका साथ अघि बढे,’ सामाजिक कार्यमा सक्रिय राष्ट्रिय रेफ्री कार्कीले भने, ‘घर त बनाउन खटियो अब सुशीलाको लागि व्हील चेयरको आवश्यकता रहेको छ, त्योपनि कतै सहयोग मागेरै भएपनि उपलब्ध गराउने प्रयास गर्दैछु।’

सो घरका लागि गएको एकवर्षमा २ लाख ५१ हजार रुपैया खर्च भएको छ। राउत कन्ट्रक्सन विराटनगर, महानगरपालिका, त्यसैगरि एक नम्बर वडा कार्यालयले निर्माणमा सहयोग गरेको कार्कीको भनाइ छ।

अन्य सहयोगी हातहरुमा सेन्ट म्यारिज स्कुलले पनि आर्थिक सहयोग गरेको छ। घर निर्माण र बाढीका समय खानपानमा सहयोग पुराएका कार्कीले अझैपनि बजारबाट ल्याएको सामानको करिब ४५ हजार रुपैया तिर्न बाकी रहेको बताए।