दसैँमा कस्तो खानामा खाने?

दसैँको खानाः आकर्षक देखिने परिकार स्वास्थ्यका लागि घातक हुनसक्छ

दसैँ र मिठो परिकारको निकै घनिष्ट सम्बन्ध छ। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरुले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि मिठा परिकार जुटाउने गर्छन्। खासगरी बालबालिका र बृद्धबृद्धाहरु दसैँका बेला मिठा परिकारमा खुब रमाउने गर्छन्।

मिठा परिकार भन्ने बित्तिकै हामी मासुसँगै मिठाई, चिल्ला रोटीहरु, चिल्लोपिरो तरकारी, तारेका अन्य खाने कुरालाई बुझिन्छ। कतिपयले घरमा नभई रेस्टुँराका खानेकुरालाई प्राथमिकतामा राख्छन्। अर्थात बजारमा पाइने रेडीमेड खाना धेरैको रोजाईमा पर्ने गर्छ। फलफूल र सलाद कम प्राथमिकतामा पर्छन् यतिबेला। सकेसम्म ‘मुख मिठो पारीहालौं’ भन्ने सोचाई हुन्छ धेरैको।

त्यसका साथमा कोकाकोला, फेन्टा, पेप्सी, स्प्राइट, रेडबुल, बन्द बट्टाका जुसलाई अनिवार्य बनाइन्छ, साथीभाईको भेटघाट हुन्छ। त्यो बीचमा अल्कोहल सेवन गर्ने चलन पनि बढेको छ। दसैँमा मिल्ने लामो बिदामा शारीरिक निष्कृयता बढ्छ। त्यही समयमा यस्ता खाना खाँदा केही समयलाई त आनन्द मिल्ला तर स्वस्थ जीवन दीर्घकालिन रुपमा रोगबाट ग्रस्त जीवनमा परिणत हुन्छ।

कतिपयले खानै नहुने अवस्थामा पनि यस्ता पेयपदार्थ खाने चाहनालाई नियन्त्रण गर्न सक्दैनन्। मिठा परिकार कसैले बनाएर अघिल्तिर ल्याइदियो भने आज एक दिन खान्छु भन्ने सोच धेरैको पलाउँछ। तर त्यो उनीहरुको स्वास्थ्यका लागि घातक पनि सावित हुन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यान दिन पनि आवश्यक रहेको अल्का अस्पताल टाइटिशियन बिनिता पन्त बताउँछिन्। पन्तले दसैँमा आफ्नो स्वास्थ्यलाई हानी नपुग्ने गरी खाद्यान्न उपयोग गर्न आग्रह गर्दै निम्न कुरामा ध्यान दिन पनि सुझाएकी छिन्।

कस्तो मासु खाने?

चिल्लो, भुटेको र तारेको मासुले मुटुमा ठूलो असर पुर्याउँछ। चिल्लो रोटी या मिठाईले कोलेस्ट्रोल बढाउँछ, मोटोपन बढाउँछ। कार्बोहाइड्रेट धेरै हुने खानाले पनि स्वास्थ्यलाई फाइदा पुर्याउँदैन। त्यसले बोसो बढाउनुका साथै मुटुमै समस्या निम्तिाउँछ। एकैपटक धेरै मासु ल्याउने पकाउने, फ्रिजमा राख्ने र दैनिक जसो तताएर खाने र खुवाउने चलन छ अहिले।

चिल्लो र पिरो कम गरी राम्ररी पकाएको मासुले मात्रै स्वास्थ्यलाई राम्रो गर्ने हो। तर हेर्दा आकर्षक देखिने मासुका परिकारलाई हामी प्राथमिकतामा राख्छौँ, जुन गलत हो। जिब्रोका लागि मिठो हुने खानेकुराले शरीरलाई नोक्सान गर्छ। दैनिक खाने क्यालोरीको १० देखि १५ प्रतिशत प्रोटिन आवश्यकता पर्ने गर्छ। उक्त प्रोटिन अण्डा, माछा, मासु दूध, दही, दाल, गेडागुडीबाट आउने गर्दछ।

मासु खाएरै क्यालोरी पूरा गर्छुभन्दा आफ्नो स्वास्थ्यलाई नोक्सान गर्छ। अण्डा, माछा, दूध, दही, दाल, गेडागुडीबाट पनि प्रोटिन लिन सकिन्छ। या तिनलाई कम गरे मासु खान सकिन्छ। तेल या मासुको बोसोलाई घटाएर मात्रै दैनिक खाने खानामा ५० देखि ६० ग्राम खानु राम्रो हो। मासु छाकपिच्छे नै खानुभन्दा पनि एक छाकमा ५० देखि ६० ग्राम खाँदा स्वस्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ। तर दसैँको बेलामा कम्तिमा १ पाउदेखि १ केजीसम्म खाने चलन छ। जसले दीर्घ रोग निम्ताउँछ। बेचनी बढाउँछ।

कसले खाने?

दीर्घरोगबाट ग्रस्त बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मुटु, मधुमेह, दम, क्यान्सर, मिर्गौला लगायतको रागका बिरामीले चिल्लो अति काम भएको मासु खाँदा राम्रो हुन्छ। सकेसम्म यस्ता बिरामी मासुको सट्टा अन्य खानामा जोड दिँदा अझ उत्तम हुन्छ। सकेसम्म पोषणविद या चिकित्सकसँगको सल्लाहमा मासु खान सकिन्छ।

सम्भव नभएमा दैनिक खाइने खानामा चिल्लो र बढी प्रोटिन युक्त खानेकुरालाई घटाएर ५० देखि ६० प्रतिशत मात्रा खानु पर्दछ। दीर्घकालीन रोग हुनेहरुले खसीबोका, राँगा, सुगुर जस्ताको रातो मासुलाई कम गरेर कुखुराको मासु, अण्डाको सेतो भाग, माछा खान सकिन्छ। मासुलाई उसिनेर तरकारीका रुपमा खादा सबैभन्दा उत्तम हुन्छ।

फलफूल र पानीमा जोड

दसैँका बेला फलफुल र सागसब्जी भएपनि माछामासुलाई प्राथमिकता दिने गरिन्छ। पाउनका रुपमा कसैका घरमा गयो भने पनि हामीलाई त्यसलै स्वागत गर्न खोजिन्छ। बाहिर कतिपय अवस्थामा माछा मासु, चिल्ला र गुलिया पदार्थ खानैपर्ने बाध्यता आउँला।

तर, आफ्नो घरमा सकेसम्म, हरियो सागसब्जी, फलफुल र पानीमा जोड दिइयो भने स्वास्थ्यलाई राम्रो गर्छ। यी स्वास्थ्यका मेरुदण्ड हुन्। फाइवरयुक्त सागसब्जीले पाचन राम्रो गराउँछ। मौसमी फलफुलले पनि हामीलाई ताजा राख्न सहयोग गर्छ। पर्याप्त पानी पिउनाले कहिलेकाही खाने चिल्लो र पिरोको असर नियन्त्रणमा सहयोग गर्छ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्