एक करोड रुपैयाँको लागतमा नेपालगञ्जमा फुटसल

नेपालगञ्जमा सञ्चालनमा ल्याइएको फुटसल मैदान।

नेपालगञ्ज – नेपालगञ्जमा फुटसलको शुरुवात गरिएको छ। एक करोड रुपैयाँभन्दा बढीको लागतमा न्यूरोडमा फुटबल मैदान तयार पारेर ६ जना युवाले फुटसलको शुरुवात गरेका हुन्।

नेपालमा पनि लोकप्रिय हुँदै गएको फुटसल खेल फुटबलको सानो रुप हो। एक सय २० मिटर लम्बाई र ६० मिटर चौडाईमा फुटबल खेलिन्छ। ४०–२० मिटरको मैदानमा फुटसल खेल्ने गरिन्छ। नेपालगञ्जमा ३०–२० मिटरको मैदान बनाइएको छ।

सञ्चालक ज्ञानमणि अधिकारीले एक करोडभन्दा बढी लागतमा फुटसल मैदान बनाएको बताए। इन्डोर खेल फुटसल खेल्न इच्छुकका लागि सञ्चालकले निश्चित शुल्क तोकेका छन्।

अधिकारीका अनुसार शनिबार या बिदाको दिन बिहान वा बेलुका एक घण्टा खेल्नका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। अरु दिन एक हजारदेखि एक हजार दुई सय रुपैयाँ कायम गरिएको छ।

यत्तिका रकम खर्च गरेर पूर्वाधार बनाइएको छ। असुली हुन्छ त? सञ्चालक अधिकारीले भने, ‘हामीले नाफाका लागि यो कार्य गरेका होइनौँ। आफ्नो इच्छा र फुटसलको क्रेज बढाउन सञ्चालन गरेका छौँ।’

फुटसलको क्रेज उद्घाटन अगावै देखिसकिएको छ। अहिले नै एक दर्जनभन्दा बढी टीमले नाम खेलाएर खेल्ने समय मिलाइसकेका छन्। बेलाबेलामा हुने म्याचले त अझ रौनकता थप्ने विश्वास गरिएको छ।

फुटबल मैदानको अभावमा खेल्न नपाएका तथा उमेर ढल्किसकेपछि शरीरलाई तन्दुरुस्त राख्नका लागि सानो मैदानमा अभ्यास गर्ने इच्छालाई फुटसलले पूरा गर्दैछ।

ज्ञानमणि, केशव राना, तोया कँडेल, टपेन्द्र खड्का, मोहन अधिकारी, सुवास अधिकारीले फुटसलको क्रेज बढाउँदैछन्। बिहान ६ देखि राति ९ बजेसम्म फुटसल खेल्न सकिनेछ। त्यसका लागि चाहिने जुत्ता, पोशाक सबै त्यही किन्न सकिन्छ। ब्राजिलबाट शुरु भएको फुटसल नेपालमा सन् २०११ मा भित्रिएको हो।

कुमारको चार गोल

पत्रकार र व्यापारीको टीमबीच प्रतियोगिता गराएर फुटसलको उद्घाटन गरिएको छ। मैत्रीपूर्ण खेलमा पत्रकार–११ ले नेपालगञ्ज उद्योग वाणिज्य संघको टीमलाई पराजित गरेको छ।

पत्रकार–११ ले ६ गोल हान्दा व्यापारीको टीम चार गोलमा सीमित भएको थियो। पत्रकारको तर्फबाट कुमार श्रेष्ठले एक्लैले चार गोल गरेका थिए। प्रभात देवकोटा र कमल खत्रीले एक–एक गोल थपेका थिए। व्यापारीका तर्फबाट उदय अधिकारीले २, मोहन अधिकारी र श्यामसुन्दर अधिकारीले एक–एक गोल गरेका थिए।

पत्रकार–११ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, कृष्ण अधिकारी, टीएस ठकुरी, नरेन्द्र थापा, गणेश राई, विष्णु वलीले खेलेका थिए। व्यापारीको तर्फबाट नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, संघ नेपालगञ्जका पूर्वमहासचिव विष्णु लामिछाने, कार्य समिति सदस्य श्यामसुन्दर अधिकारीलगायतले खेलेका थिए।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, एन्फा सदस्य प्रदेशसिंह राठौरले फुटसलको उद्घाटन गरेका थिए।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्