नेकपाको विरोधका वावजुद प्रदेश प्रहरी ऐन विधेयक–२०७५ बहुमतले पारित

प्रदेशसभा बैठक।

जनकपुरधाम – चार महिनादेखि प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको प्रदेश प्रहरी ऐनको विधेयक शनिबार पारित भएको छ।

प्रदेश प्रहरी सेवा सम्बन्धी अध्ययन विशेष समिति–२०७५ की संयोजक सुरिताकुमारी साहले पेश गरेको प्रतिवेदन छलफलसहित बहुमतबाट पारित भएको हो।

छलफल क्रममा संघीय समाजवादी फोरम नेपालका सचेतक शैलेन्द्र यादवले नियम निलम्बनको प्रस्ताव पेश गरे पश्चात राजपा नेपालका सचेतक परमेश्वर साहले प्रस्तावको समर्थन गर्दै नेकपाको विरोधका वावजुद प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक २०७५ बहुमतबाट पारित भयो।

दफाबार छलफलको क्रममा नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयकको विपक्षमा नेकपा नरहेपनि हत्तारमा ल्याएको अहिले संसदमा नल्याउन आग्रह गरेका थिए।

संसदमा सांसद विश्वकर्माले भने, ‘प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयकको विपक्षमा छैनौं, ऐन ल्याएकोमा हाम्रो विमत्ति छैन, तर प्रदेश प्रहरीको सैद्धान्तिक पक्षमा हाम्रो विमत्ति छ।’

सम्पूर्ण विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको बताउँदै विश्वकर्माले विपक्षी दलको रचनात्मक सहयोगले सम्भव भएको बताए। उनले भने, ‘सरकारले ल्याएको हरेक विधेयक आँखा चिम्लेर पारित होस् भन्ने चाहन्छ, तर प्रदेश प्रहरी सेवा सम्बन्धी अध्ययन विशेष समितिको सदस्यको विरोधका वावजुद कसरी समर्थन गर्ने?’

उनले संघीय सरकारले प्रहरी ऐन नल्याइसकेको अवस्थामा प्रहरी ऐन अलोकतान्त्रिक भएको बताउँदै यसलाई सर्वसम्मत बनाउन आग्रह गरेका थिए।
नेकपाकै अर्का सांसद दिलीपकुमार साहले समितिमा व्यापक छलफल र बहस नभएका कारण प्रहरी ऐनमा त्रुटी भएकोले सच्याएर पेश गर्न आग्रह गरेका थिए।

उनले प्रहरी ऐनको विरोध गरेको तर लोकतान्त्रिक मूल्य र मान्यताको नजिर विपरीत बनेकाले अलि ढिलो भएपनि दुरुस्त प्रहरी ऐन ल्याउन सुझाव दिएका थिए। सांसद साहले भने, ‘अहिले विधेयक पास गरेर पछि पछुताउनुभन्दा विधेयक नल्याउन ठिक हुनेछ।’

साहले संघीयता टिकाउन संघ सरकारसँग प्रदेश सरकारको समन्वयन आवश्यक रहेको बताउँदै संघीय सरकारले प्रहरी ऐन नल्याएको समस्या देखाई प्रदेश २ सरकारले प्रतिपक्षीसँग विभेद गरेको आरोप लगाए।

सरकारको ध्यानाकर्षण

प्रदेशसभामा सांसदले महोत्तरीको भंगहा नगरपालिका–९ हरिमरीमा दलित विद्यार्थीलाई विद्यालयबाट निकालेको घटनाप्रति प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रदेशसभामा किशोरी जनता मावि हरिमरीका विद्यालयमा भोजको सरसफाई गर्न अस्वीकार गरेपछि एक विद्यार्थीलाई विद्यालयबाट निकालेका प्रधानाध्यापक राममनोहर यादवलाई कारबाहीको माग गरिएको छ।

डोम समुदायको ती विद्यार्थीलाई विद्यालयबाट निकालिएको घटनाको १ महिना हुन लागेपनि शिक्षकमाथि कारबाही हुन नसकेको भन्दै बैठकमा सरकारलाई ध्यानाकर्षण गराइएको थियो।

यस्तै, नेकपा सांसद रामकुमार यादवले सिरहा गोलबजारको हेमबहादुर तामाङको हत्या भएको २८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाए।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्