बाढीपीडितका लागि राखिएको ‘ड्राइफुड’ ५ महिनादेखि गोदाममै

नेपालगञ्ज – बाढीको पूर्व तयारी स्वरुप राप्ती नदी पारी लगेर राखिएको ‘ड्राइफुड’ (तयारी खाद्य) पाँच महिनादेखि गोदाममै थन्किएको छ।

बाढी आउदा राप्तीपारी जान नसकिने अवस्थालाई मध्यनजर गर्दै जिल्ला दैवीप्रकोप उद्दार समितिले रेडक्रसमार्फत दुई ठाउँमा दश लाख रुपैयाँ बराबरको तयारी खाद्यान्न तथा उद्दार सामग्रीहरु राखेको थियो। यसपाली बाढी नै नआएपछि तयारी अवस्थामा राखिएको खाद्यान्न र उद्दार सामग्री त्यही थन्किएका हुन्।

गंगापुरस्थित रेडक्रस उपशाखाको गोदाम र राप्तीसोनारी गाउँपालिकामा १० लाख बराबरको चिउरा, चाउचाउ, बिस्कुट, पानी, नुन, चिनीलगायतका सामग्री राखिएको छ। रबर बोट, लाइफ ज्याकेट, मेघाफोन, स्ट्रेचरलगायतका सामान ‘स्टक’ राखिएका छन्।

बाढी नै नआएपछि ती सामानलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन। तयारी खाद्यको हकमा सम्बन्धित गाउँपालिकालाई जसबाट किनेको हो उसलाई नै फिर्ता गर्न भनिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले बताए।

जेठमा ‘स्टक’ राखिएको चिउरा, चाउचाउ, बिस्कुट, पानी, नुन, चिनीलगायतका तयारी खाद्य खान मिल्ने अवस्थामा छन् कि छैनन् हेरिएको छैन। प्याकेटमा रहेको उक्त सामान कति बिग्रिसकेको हुन सक्ने बुढाथोकीले आशंका गरेका छन्।

‘जुन पार्टीबाट किनिएको हो, उसलाई नै कति कम गरेर हुन सक्छ, फिर्ता गर्नका लागि नरैनापुर र राप्तीसोनारी गाउँपालिकालाई भनिसकिएको छ,’ बुढाथोकीले थपे, ‘अब किनेको मूल्यभन्दा धेरै कममा फिर्ता होला।’

राप्ती नदीमा पानीको सतह पाँच पुगेपछि खतराको संकेत गर्दै साइरन बुझाएर सचेत गराइन्छ। ५ मिटर ४० सेन्टिमिटरलाई खतरा मानिन्छ। यसपाली ४ दशमलव ८७ मिटरभन्दा माथि पानीको सतह बढेन।

गतवर्ष पानीको सतह ८ दशमलव ८७ मिटर पुगेको थियो। वि.सं. २०७१ मा पनि नदीमा पानी सतह यही हाराहारीमा थियो। २०७१ र २०७४ मा ठूलो बाढी आएको थियो।

वि.सं. २०७५ मा पनि यस्तै ठूलो बाढी आउन सक्नेतर्फ सचेत हुँदै जिल्ला दैवीप्रकोप उद्दार समितिले रेडक्रसमार्फत नदीपारी पहिले नै खाद्यान्न लगेर राखेको थियो। बाढी नआएपछि ती सामग्री वितरण हुन नसकेर गोदाममै थन्किएका छन्। अब त्यसलाई कसरी व्यवस्थापन गर्ने सम्बद्धहरु चिन्तित भएका छन्।

बाढीको पूर्वतयारी गर्दै यसपाली रबरबोट, लाइफ ज्याकेट, डुंगा, डोरी, स्ट्रेचरको व्यवस्था गरिसकिएको थियो। बाढीपीडितलाई उद्दार गर्न नेपाली सेनाको हेलिकप्टर तयारीमा अवस्थामा राख्नुका साथै ठूलो संख्यामा सुरक्षाफौज परिचालन गरिएको थियो।

बाढी आएमा उद्दार गर्नका लागि सेनाले एक सय ५, प्रहरीले १५, सशस्त्र प्रहरीले ५०, रेडक्रसले २ सय ७३, अन्य २ सय ७३ जना तयारी अवस्थामा थिए। थप मद्दतका लागि सेनाले एक हजार, प्रहरीले सात सय, सशस्त्र प्रहरीले आठ सय, रेडक्रसले पाँच सय र अन्यबाट एक सय ५० जना तयारी अवस्थामा राखिएको थियो।

राप्ती नदीमा वर्षेनीजसो बाढी आउँछ। बाटो नहुँदा बाढी आइहालेमा उद्धार गर्न कठिनाई हुने गर्दछ। भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधले गर्दा नेपाली भूभाग डुवान, कटान र पटानमा पर्दै आएको छ।

विपदको शीर्षकमा यसपाली स्थानीय तहले पनि राम्रै बजेट छुट्याएका छन्। यसपाली बाढीमा उनीहरुले त्यो बजेट खर्च गर्नु परेन। राप्ती नदीको सीधा मारमा पर्ने राप्तीसोनारी गाउँपालिकाले २ करोड, नरैनापुरले ३५ लाख, डुडुवाले ३७ लाख ४० हजार, कोहलपुरले ४९ लाख, बैजनाथले ३० लाख, जानकीले २५ लाख, नेपालगञ्ज उपमहानगरपालिकाले १० लाख र खजुराले ५ लाख रुपैया विपतमा छुट्याएका छन्।

यहाँका बासिन्दा बाढी र आगलागीबाट सधैँ नै पीडित हुँदै आएका छन्। राप्तीपारी वर्षेनीजसो नै आगलागी पनि हुने गर्दछ। एकैठाउँमा जोडिएका फुसका घरहरु एउटामा क्षति पुग्ने बित्तिकै गाउँ नै सखाप हुने गरेको पाइन्छ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्