साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खाशोग्गी र कूटनीतिक सम्बन्ध

खाशोग्गीको हत्या भएको भए साउदीमाथि गम्भीर कारवाही गर्ने ट्रम्पको चेतावनी

हत्या गरिएको भनिएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको ‘हत्या’ मा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको पाइएमा गम्भीर कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार खाशोग्गीको हत्या भएको र त्यसमा साउदी अरेबियाको संलग्नता रहेको पाइएमा त्यो आफ्ना लागि निकै आक्रोशको विषय बन्ने बताएका हुन् । तर दुई देशबिच हुने भनिएको ठूलो सैन्य सम्झौतालाई भने असर नपर्ने ट्रम्पले स्पष्ट पारेका छन् ।

अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगीका रुपमा अघि आएका थिए । तर पत्रकार खाशोग्गीको सम्भावित हत्याको घटनाले दुई देशबिचको सम्बन्धमा तनाव सिर्जना गरेको छ ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी यहि अक्टोबर २ देखि बेपत्ता छन् । उनी टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् ।

साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्या भएको भन्ने खबर झुट रहेको दाबी गर्दै आएको छ । यहि बिचमा टर्कीले भने खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको बताएको छ ।

साउदी अरेबियाका आन्तरिक मामिला मन्त्रीले शुक्रबार पत्रकार खाशोग्गीका बारेमा वास्तविक तथ्य बाहिर ल्याउन प्रतिबद्ध रहेको र उनीको हत्या गर्न आदेश दिइएको भन्ने खबर पूर्णरुपले आधार हिन रहेको बताएका छन् ।

तर टर्कीको सैन्य स्रोतले भने अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्ने साउदी पत्रकार खाशोग्गीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय भित्रै हत्या भएको र आफूहरुसँग त्यसको अडियो तथा भिडियो प्रमाण रहेको बताएको छ ।

साउदी अरेबियाले अहिलेसम्म यो घटनामा अनुसन्धानका लागि सहयोग तथा सहकार्य नगरेको टर्कीको विशेष मन्त्रालयले जनाएको छ । अहिलेसम्म टर्कीका अधिकारीलाई कन्सुलर कार्यालयमा छिर्न दिइएको छैन ।

सिबिएस न्युजसँगको अन्तर्वार्ताको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार खाशोग्गीको हत्या भएको कुरा सत्य भए त्यो निकै डरलाग्दो र घृणित रहेको बताए । यो घटनाको सतहसम्म पुगेर अनुसन्धान गर्ने र यस्तो रहेमा गम्भीर कारवाही गर्ने उनले बताएका हुन् ।

घटनाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले पनि गम्भीर चासो व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई यसबारे बोल्न आह्वान गरेका छन् ।

साउदी अरेबियामा आउँदो महिना लगानी सम्मेलन हुँदैछ । रियादमा हुने सम्मेलनमा भाग लिने या नलिने बारे पत्रकार खाशोग्गीको अवस्थाबारे जानकारी आएपछि निर्णय गरिने ट्रम्पले स्पष्ट पारेका छन् ।


विश्व बैंकका जिम किमले रियादमा हुने सम्मेलनमा भाग नलिने बताइसकेका छन् । बेलायत र अमेरिकाले रियादमा हुने सम्मेलनमा सहभागी नहुने मनसाय बनाएको खबर पनि आएका छन् ।

खाशोग्गीले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान सुधारकभन्दा पनि खराब शासक रहेको आरोप लगाउँदै आएका थिए । यहि कारण साउदी सरकारकै निर्देशनमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएका छन् ।

असोज २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्