अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज-५ : योनीका कथाले दिएको अठोट

रंगकर्मबाट महिला हिंसाविरुद्ध उत्रिएका आकांक्षा कार्कीका पाइला

आर्थिक अवस्था मजबुत, शिक्षित परिवार, रातो बंगला स्कुलको पढाई। राजधानीमै हुर्किएकी अकांक्षा कार्कीलाई नपुग्दो केही थिएन। आर्जित शिक्षा र योग्ताले कार्कीका लागि कुनै पनि नामी संस्थामा चाहेको पेशामा जागिर कठिन थिएन।

पैसा र सुविधापूर्ण जीवन टाढा देखिँदैन थियो। बंगला र गाडी उनका लागि सामान्य हुने थिए। पहुँचभित्रका ती सारा सुविधा त्यागेर कार्कीले यस्तो लडाई सुरु गरिन् जसको मुख्य उद्देश्य सदियौँदेखि त्याग्न नसकेका सोच र मूल्यमान्यतालाई भत्काउनु हो रंगकर्मको माध्यमबाट। त्यो अर्थपूर्ण हुँदै गएको छ।

विभिन्न बहानामा महिलामाथि हुने यौन हिंसा र लैंगिक विभेदविरुद्धको लडाईँ हो यो। जित सजिलो छैन तर २६ वर्षीया कार्कीको गार्म्भीयता, आत्मविश्वास र प्रतिबद्धताले ‘असम्भव’ लाई कमजोर बनाइसकेको छ।

रंगकर्मी या निर्देशक बन्छु बन्ने उद्देश्य उनको सानै देखिको हैन। सामाजिक परिवेश र सोचले उनलाई एक कुशल रंगकर्मी, कलाकार, निर्देशक र परामर्शकर्ता बनाएको छ । लगन र मिहेनतसँगै योनीका कथा, त्यसको सन्देश र सफलताले उनलाई उर्जा दिएको छ थियटरमा काम गर्न।

हुजुरबुवाको एउटा वाक्य


आमा स्त्रीरोग विशेषज्ञ, बुवा नेपाली सेनाका ईन्जिनियर, राजधानीको घर। आकांक्षाले परिवारमा छोरीको नाममा कुनै पनि विभेदको सामना गर्नु परेन। कविता लेख्ने, त्यो वाचन गर्ने, नाटक गर्ने रुची बालमस्तिष्कमै बढेको थियो उनको। आकांक्षाले पुरस्कार जितेर घर आउँदा उनका हजुरबुवाले खुशी निकै प्रकट गर्थे।

तर एक दिन पुरस्कार लिएर दंग पर्दै घर आउँदा उनका हजुरबुवाको मुखबाट एउटा वाक्य निस्कियो । जुन उनको मनमा वाण सरह रोपियो । वाक्य थियो’, तिमीले गज्जब गर्यौ, तिम्रो प्रगितमा गर्व छ मलाई। तर तिमी छोरा भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो नातिनी।

सबै कुरा गर्न सक्षम भएर पनि छोरीलाई पूर्णरुपमा नदेख्ने त्यो मनोवैज्ञानिकप्रति उनलाई रिस उठ्यो, घृणा जाग्यो। त्यसले घोच्न थाल्यो स्कुले जीवनमै । ‘मेरो हजुरबुवाको मायामा म पुलकित थिएँ। उहाँ मेरो साथी पनि हुनुहुन्थ्यो तर मलाई पूर्ण देख्नु भएन। म छोरा भएको देख्ने उहाँको रहरप्रति म सहमत हुन सक्दै सकिन र त्यस सोचविरुद्धको अदृश्य लडाईँ सुरु गरे’, आकांक्षाले विगत कोट्याइन् ।

महिलाको शरीरप्रति अस्वीकृति


आकांक्षाले छोटा पोसाक लगाउँथिन्। उनको कपाल पनि छोटो हुन्थ्यो। तर कपडा र श्रृंगार भन्दा पनि गृहकार्य र सृजनामा ध्यान जान्थ्यो उनको। आकांक्षाका अन्य तीन दिदीबहिनीको स्वभाव पनि उस्तै। मोटा भए पनि स्वस्थ थिए उनीहरु ।

जब उनीहरु घरबाट निस्कन्थे र आफन्तकहाँ पुग्थे त्यहाँ उनीहरुको सुन्दरता र कपडाको मापन हुन्थ्यो। उनीहरुको शरीर तलदेखि माथिसम्म घोरिएर हेरिन्थ्यो। उनलाई अपमानित भएको अनुभूति हुन्थ्यो। त्यसविपरित काम गर्न मन लाग्थ्यो । फेरि पनि उनी निहुरिएर हिँड्न बाध्य हुन्थिन् समाजका अघि।

आकांक्षाको बहिनीलाई आफ्नो शरीरदेखि निकै चिन्ता थियो। ‘मोटी हुनुहुन्न। पातली र राम्री हुनु पर्छ । छोटा कपडा लगाउनु हुन्न । बोल्दा र हिँड्दा विचार पुर्याउनु पर्छ । धेरै हाँस्नु हुन्न। यस्तै भन्नु हुन्थ्यो आफन्तहरु,’ आकांक्षा भन्छिन्’, मोटी हुँदा के हुन्छ ? के लाई राम्रो भन्ने? छोटो कपडा लगाउँदा के हुन्छ? धेरै बोल्दा के हुन्छ? यस्ता प्रश्नहरुले गिज्याउन थाले मलाई।’

छोरीहरुलाई घरमा भेदभाव मुक्त वातावरणमा हुर्काए पनि आकांक्षाकी आमालाई त्यही समाजको भय थियो।

शिक्षितहरुको सेतो खोल


शिक्षा र चेतनाको अभावमा अर्थात शिक्षा र चेतनाबिच सामजस्य नभए महिला हिंसा हुन्छ नै । शिक्षित परिवारमा पनि महिला कुनै न कुनैरुपबाट शोषित हुनु पर्दा आकांक्षा मन खान्थ्यो ।

‘जसले हिंसाविरुद्ध बाहिर भाषण गर्छन उनीहरुले नै सबैभन्दा धेरै महिलालाई यातना दिने गरेको पाइन्छ’, आकांक्षा भन्छिन्, त्यसले मलाई सामाजिक विकृतिविरुद्धको नाटक निर्माण र प्रस्तुत गर्न मन लाग्छ। कतिपय शिक्षित पुरुष आफू संलग्न नभएका हिंसा र शोषणका घटनामा मौन बस्छन् । मौन बस्नुले त्यसको समर्थन गरेको बुझ्छिन् उनी।

बौद्धिक साथीको संगत र स्वतन्त्रता


यौन जीवन, शोषण, हिंसाबारे नजिकका मानिसलाई समेत सेयर गर्ने नगर्ने चलन छ। त्यही परिवेशमै हुर्किएकी आकांक्षालाई आफ्ना समस्या अरुलाई सुनाउदा सुरक्षित महसुस हुन थाल्यो । नाटक या कविता प्रस्तुत गर्न स्टेजमा उभिएपछि झनै खुल्थिन उनी ।

‘हामी महिला कसैको नराम्रो व्यवहारलाई लिएर घण्टौ रुन्छौं, निरास हुन्छौं, काम गर्न छोड्छौं तर त्यो समस्या अभिभावक, मिल्ने साथी या शिक्षकलाई भनियो भने मन हल्का हुन्छ’, अकांक्षा भन्छिन्, ‘विस्तारै मेरो संगत स्वतन्त्रताका लागि लडिरहेका साथीहरुसँग भयो ।’

भारतको बेङग्लोरस्थित क्राइस्ट कलेजमा सन् २०१० देखि ‘पर्फोमिङ आर्टस’ ‘थियटर’ मा स्नातक र ‘काउन्सेलिङ्ग साकोलोजी’ मा स्नात्तकोत्तर गरिन्।

अध्ययनका क्रममा भारतमा उनको संघर्षको अर्को अध्याय सुरु भयो । नेपाल भन्दा पनि असुरक्षित थियो महिलाका लागि भारत। सामाजिक सोच र मुल्यमान्यता अझै अनुदार। तर विश्वविद्यालयका साथीहरुको संगतले उनी निडर हुनुका साथै सोच पनि फराकिलो बन्दै गयो। प्रतिस्पर्धा गर्न सिकियो र त्यसले अनुशासित र मिहेनति बनायो। मिहेनतबाट कामको गुणस्तर बढ्यो।

‘भारतमा मेरो रियालिटी चेक गर्ने मौका पाएँ। दुःख मोले। बौद्धिक साथीहरुबिचको छलफलले धेरै निष्कर्ष निस्किए । थियटरमा भाग लिन थाल्यौं’, आकांक्षाले आफ्नो अनुभव सुनाईन्। भारतमै पाँचवटा थियटरमा सामेल भइसकेकी आकांक्षालाई त्यही राम्रो जागिर समेत मिलेको थियो।

सन् २०१५ मा अध्ययन सकेर बिदामा नेपाल आएकी आकांक्षाको सोच भारत नै फर्कने थियो। तर भूईँचालोले उनको सोच परिवर्तन गर्यो नेपालमै बसेर काम गर्ने निर्णय गरिन्।

योनीका कथाको जन्म


अध्ययन, योग्यता र अनुभवबाट ‘बोल्ड’ बनेकी आकांक्षाले महिला हिंसाका विभिन्न रुप पहिचान गर्दै गइन्। त्यसमध्येको एउटा डरलाग्दो यौन हिंसा थियो । त्यसले एकातिर महिलाको खुशी खोसेको थियो भने अर्कातर्फ दम्पत्तिको जीवन पनि खलबलाएको थियो। अन्तर्राष्ट्रियरुपमा चर्चित अंग्रेजी कथा ‘द भजाइना मनोलोग्स’ ले त्यसको केही हल गर्ने लाग्यो।

आकांक्षाले त्यसलाई नेपाली संस्करणमा ढाल्ने निर्णय गरिन्। निर्माणमा आकांक्षा र उनकी साथी गुञ्जन दीक्षित रहेका बेला त्यो नारीवादको उत्कर्ष रुप भएकोले नेपालमा प्रस्तुत गर्न नहुने भन्दै केही पुरुष विरोधमा उत्रिए । धम्की समेत आयो उनलाई। त्यसबाट अकांक्षा विचलित नभएकी होइनन् । कयौं दिन उनका आसुँ पनि बगे।

तर आत्मबल र साथीहरुको साथले उनले योनीका कथा निर्माण गरी छोडिन्। नाटकको प्रस्तुति सुरु भयो । समाजमा ख्याती कमाएकादेखि सामान्य महिला र पुरुष दुवै थियटर भित्रिए । उनीहरुका आँखा रसाए । कतिपय मौन बने।

नाटक सकिएपछि कयौंले आकांक्षालाई लामो समय अंगालो हाल्दै, हात समात्दै धन्यवाद भने र बधाई दिए।

‘योनीका कथा बनाउने नेपाली समाजका लागि बोल्ड र कठोर निर्णय थियो। त्यसको विरोध गर्नेहरुको पनि लाइन लाग्यो । कतिपयले जथाभावी आरोप लगाए तर हामीले त्यसको प्रवाह गरेनौँ’, अकांक्षाले सम्झिन्।

थियटरमा छुट्टा छुट्टै समूहमा पुगेका दाइ र बहिनीले अब आफूहरुलाई यौन लगायत कुनै पनि मामिलामा छलफल गर्न सहज भएको बताए । योनीका कथाको सफलताले जागिरे जीवन छोडेर उनलाई पूर्णरुपमा कला र रंगकर्ममै लाग्ने निर्णय लिने आँट दियो ।

योनीका कथा किन


‘इभ एनसलर’ ले लेखेको यो कथाले महिलाको स्वतन्त्रता, गोपनियता, उनको योनीले भोग्ने यातना र असामान्य परिस्थितिलाई उजागर गरेको छ। यो कथाका हरेक शव्ब्द र दृश्यले योनीलाई सताउने, नियन्त्रण गर्ने र त्यसको संवेदनशिलता नबुझ्नेहरु प्रति गतिलो प्रहार गरेका छन्।

योनीसँग जोडिएका शारीरिक र मानसिक सोचले महिला हिंसा र लैंगिकत विभेद निम्ताउनेबारे एनसलरले प्रष्ट्याएकी छन् कथामा। प्रस्तुतिका बेला कलाकारको वाक्यबिच हुने लामो रोकावटले दर्शकलाई सोच्ने मौका दिन्छ र आत्म मूल्यांकनको अवसर पनि प्रदान गर्छ ।

किन यस्ता कथा ?


यौनका मामिलामा खुलेर छलफल या बहस नगर्ने हाम्रो समाजमा यसको कौतुहलता र कुण्ठा बढेको आकांक्षाको निष्कर्ष छ । त्यसबाट हिंसा, बलात्कार र हत्या समेतका घटना निम्तिरहेकोमा उनको ठहर छ । उनको चाहना छ यो विषयले विद्यालय तहमै प्रवेश पाओस्, छलफल होस्, खासगरी बालकहरु यसबाट सचेत हुन्।

‘घरमा छोराहरुलाई राजा जस्तो हुर्काइन्छ, विद्यालयमा पनि उनीहरु उच्छ्ङिखल बन्छन्। उनीहरुको यौन कौतुहलता मेटाउन अभिभावक र शिक्षक गम्भीर छैनन्। विस्तारै उनीहरुमा यौन कुण्ठा भरिन्छ’, आकांक्षा भन्छिन्।

यौनसँगै विभिन्न मुल्य र मान्यतामा हुने हिंसाको न्युनिकरणका लागि उनले सुरु गरेको अभियानमा अहिले दक्ष कलाकाहरु जोडिएका छन्। महिला हिंसा अन्त्य नभएसम्म हरेक वर्ष योनीका कथा देखाउने प्रण छ उनीहरुको।

कौशी थियटर किन ?


महिला हिंसा विरुद्धको अभियानसँगै पूरै जीवन कला र रंगकर्ममा बिताउने अठोट गरेकी आकांक्षाले स्वदेश तथा विदेशबाट आएका जागिरका लागि अफर त्यागिन् । तर उनलाई त्यसप्रति मोह छैन। अरुको थियटरको भरमा चाहेको समयमा योजना अनुसार नाटक प्रस्तुत गर्न कठिन भयो उनलाई ।

नाटकका लागि अन्त अनकुल नभएपछि उनले अहिले टेकुस्थित आफ्नै घरको छतमा थियटर निर्माण गरेकी छन् । नाम पनि दिइन् ‘कौशी थियटर’।

उनका बुवाआमाले उनको निर्णयलाई सम्मान मात्रै गरेनन् त्यसमा पूर्ण सहयोगी बने। त्यहाँ लागेको धुलो पुच्छदै बुवा सन्तोश कार्की भन्छन्, ‘आकांक्षाले जे गर्दैछिन त्यसमा हामीलाई गर्व छ। उनको नाटक हेर्ने १००० जनाले अर्को पटक त्यति नै संख्यामा मानिस पठाउँछन्।’

कौशीको निर्माणपछि त्यहाँ थुप्रै नाटकहरु प्रस्तुत भइसकेका छन्। दर्शकको भिड उस्तै छ। उनलाई लाग्छ त्यसबाट मानिस सचेत हुन्छ र महिला हिंसा न्युनिकरणमा सहयोग पुग्छ। कथा पनि उनले त्यस्तै रोज्छिन् र दर्शकको भावनालाई छुने प्रस्तुतिमा जोड दिन्छिन् ।

‘यो क्षेत्र अब दर्शकको भावना छुने, उनीहरुले मनन र चिन्तन गर्ने वातावरण तयार गर्ने तर्फ लाग्नु पर्छ । यसको दायीत्व फराकिलो पार्नु पर्छ । मनरोञ्जन मात्रै हैन अब सभ्य समाजको विकासका लागि भूमिका खेल्नु पर्छ’, अकांक्षा भन्छिन्।

दर्शकको भिडमा आकांक्षका अभिभावक र आफ्ना साथी, आफन्त र अपरिचित समूह पनि भेटिन्छन्।

‘हिंसा र वभेदमुक्त समाजका लागि हाम्रो पाइला सानो छ । तर यही कामबाट मैले खुशी प्राप्त गरेकी छु, यसैले मलाई चिनाएको छ । अरु सुख सुविधाको लोभ छैन अब। मात्र म गलतलाई गलत भन्न सकिरहुँ । र अरुलाई पनि त्यसप्रति प्रतिवद्ध बनाउन सकुँ’, अकांक्षा भन्छिन्।

सबै तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

असोज २८, २०७५ मा प्रकाशित