शून्य समय

‘हिरोहरु’ को देशको यो हाल किन ?

नेपालमा आत्मकथा या आधिकारिक जीवन गाथा (अथोराइज्ड बायोग्राफी) जति संख्या या मात्रामा अहिले प्रकाशित भएका छन्, सायदै कुनै कालखण्डमा भएका थिए।

राजनीतिक परिवर्तन पछि गिरिजाप्रसाद कोइरालाको ‘अ म्यान अफ सिम्पल कनभिक्सन’ देखि विवेक शाहको ‘मैले देखेको दरबार’ हुँदै अहिले पूर्व आइजिपी अच्युतकृष्ण खरेलले आफ्नै नामको आत्मकथा निकालेका छन्। पुस्तक र लेखकहरुको सूचि लामो छ ।

मानव जीवन आफैमा दुर्लभ संयोग या उपलब्धी हो। त्यसमा पनि शासकीय हैसियत या राज्य संस्थाको नेतृत्व हासिल गर्नु अर्को उपलब्धी हो। त्यस्ता व्यक्तिहरुका भोगाई, दूरदर्शिता, राष्ट्रको सेवामा उनीहरुका समर्पण र उनीहरुले पुर्याएका योगदानले निश्चय पनि भावी पुस्ता र राष्ट्रसेवकका लागी ठूलो अर्थ राख्छ।

अझ त्यस्ता व्यक्तिहरुले आफ्ना भोगाई र मान्यता सार्वजनिकरुपमा पस्कने क्रममा इमानदारीसाथ आफ्ना सफलता र अझ साहसका साथ असफलतालाई पस्की दिएमा भावी पुस्ताका लागि र राष्ट्रकै लागि त्यो महत्वपूर्ण र बढी उपयोगी उपहार सावित हुनेछ ।

आत्मकथा किन लेखिन्छ ? आत्म प्रसस्ती र प्रशंसाका लागि ? लेखकहरुले सायद बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने पुस्तक प्रकाशन पछि त्यसमा प्रस्तुत गरिएका या सत्य भनी दाबी गरिएका घटनाहरुका साक्षी या अर्को जानकार पक्षले चुनौती दिन सक्छ। आत्मकथाका लेखकहरु पाठकहरु प्रतिको जिम्मेवारीबाट मुक्त हुँदैनन् ।

तर,नेपालमा विगत एक दशकयता आएका प्रश्नका उत्तरहरु आगामी संस्करणमा आउलान् भन्ने आशा कसैले लिएको छैन सायद। किनकी सबै पुस्तकहरु आत्मप्रशंसाका पुलिन्दाका रुपमा आएका छन्।

विवेक शाहको ‘मैले देखेको दरबार’ मा दुई–चारवटा रोचक प्रसंगहरु छन्। राजाका सैनिक सचिवले त्या हैसियतमा पाएका संवेदनशील सूचना कुन हदसम्म र कुन समय सीमा भित्र बाहिर ल्याउन सकिन्छ, त्यसलाई कानुन र ‘नैतिकता’ ले मात्र निर्देशित गर्छ । नेपालमा त्यस्ता विषयहरु आउलान भन्ने सायद सोचिएको थिएन । कानुनको अनुपस्थिति र नैतिकताको खडेरीले त्यो काम नेपालमा सहज बन्न जान्छ ।

राजा ज्ञानेन्द्रसँगको मतभेद र सेवा मुक्तिपछि शाहले त्रिभुवन विश्वविधालयका पूर्व उपकुलपति तथा शिक्षाविद् त्रैलोक्यनाथ उप्रेतीसँगको एउटा भेटघाटको प्रसंग वर्णन गरेका छन् । विवेक शाहजस्तो व्यक्तिलाई हटाएर राजाले आफ्नो विनाश निम्त्याएको उप्रेतीको कथन थियो शाहको दाबी अनुसार ।

के नेपालमा राजसंस्था अन्त हुनुको कारण त्यही होला त ? दरबारले अपेक्षित सम्मान आर्जित गर्न नसक्नुमा त्यहाँको निजामति तथा सैनिक सचिवालयको कुनै भूमिका थियो कि थिएन ? ती सचिवालयमा कार्यरतहरुको राष्ट्र र राजसंस्थाप्रतिको वफादारी कुन तहको थियो, तीबारे शाहले केही बोलेका छैनन्।

शाहपछि आएको रुक्माङ्गद कटुवालको आत्मवृत्तान्तमा अरु लेखकहरुले जस्तै उनले पनि आफूलाई राष्ट्रिय संकट अवस्थाको ‘हिरो’ कै रुपमा प्रस्तुत गरेका छन् । तर के भनिएको छ भन्दा पनि त्यसभित्रका ‘ओमिसन’ या छुटाइएका विषय बढी महत्वपूर्ण छन् ।

उक्त किताबको अंग्रेजी भर्सन सार्वजनिक गर्ने क्रममा ‘मोडरेटर’ को हैसियतमा पत्रकार अमित ढकालले एउटा प्रश्न सोधेका थिए, ‘कुलबहादुर खड्कालाई प्रधान सेनापति बनाउनेक्रममा तपाईँले बालुवाटारमा प्रदर्शन गरेको अवज्ञापछि सैनिक मुख्यालय फर्के लगत्तै गर्नु भएका फोनहरु देशभित्र मात्र थिए या बाहिर पनि ?’ कटवालबाट त्यसको सीधा र स्पष्ट उत्तर आएन। तर त्योभन्दा महत्वपूर्ण प्रश्न, जुन अनुत्तरित छ अहिलेसम्म ।

राजसंस्था अर्थात सेनाका परमाधिपतिलाई असंवैधानिक र विदेशी निर्देशनमा उन्मुलन गर्दा विरोध गर्न नचाहेको र नसकेको नेपाली सेना आफ्नो सेनापतिलाई हटाईँदा कुन शक्तिको आडमा अवज्ञा गर्न उद्यत भयो? १२ बुँदेपछि नेपालबाट राजसंस्था हटाउन लागि परेका भारतीय विदेश सचिव श्याम सरणले नेपाली सेनाका परमाधिपति राजाको भन्दा आफ्नो खटनमा चल्ने कुन्सित सन्देश दिन प्रयत्नरत थिए त्यही बेलादेखि नै।

२०६२/६३ को १९ दिने आन्दोलनमा भएका त्यत्ति नै मृत्युमा एउटा सेनाद्धारा भएको थियो उद्धारा रक्षित टेलिकम्युनिकेशन टावरमाथि आक्रमण हुँदा । अर्थात नेपाली सेनाले पर्याप्त संयम अपनाएको थियो। तर पनि डा. कर्णसिंहसँग भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विषेश दूतका रुपमा काठमाडौँ आएपछि सरणले तत्कालीन सेनापति प्यारजंग थापालाई भेटी ‘हिंशा प्रयोग नगर्न’ चेतावनी दिएको र त्यही चेतावनीकै कारण नेपाली सेना संयमित रहेको दाबी उनले आफ्ना लेखहरुमार्फत गरेका छन् ।

जबकी राजा ज्ञानेन्द्र स्वयंले आफ्नो ‘राजधर्म’ ले जनता मार्न नदिने निर्देशनका साथ डा. तुलसी गिरी लगायतको अलिबढी कठोर हुनुपर्ने प्रस्ताव अस्वीकार गरेका थिए । नेपाली सेनाको कुनै आधिकारिक वक्तव्यद्धारा सरणको दाबी खण्डन नगर्दा के अब उप्रान्त नेपाली सेनाले स्वतन्त्रताका साथ या बाह्य हैकम बिना काम गर्न सक्ला त ? भन्ने आशंका उठ्नु अस्वभाविक मानिने छैन ।

परमाधिपति या राज संस्थाको उन्मुलनमा सेनाको मौनता र कटुवाल प्रकरणमा अवज्ञाले त्यो सन्देशलाई थप मजबुद बनाएको छ । नेपाली सेनाले यसबारे आफ्नो स्पष्ट धारणा दिनु पर्ने आवश्यकता बढेको छ ।

आफूलाई ‘टाकुरामा एक्लो व्यक्ति’ का रुपमा प्रस्तुत गरेका तत्कालीन राष्ट्रपति रामवरण यादवले कति स्वतन्त्ररुपमा खड्का–कटुवाल प्रसंगमा निर्णय लिए होलान् ?, अनुमान गर्न सकिन्छ । कोठाभित्रको रोदनमा लोकमानसिंह कार्की नियुक्ति प्रकरणमा भारतको दबाबलाई आफूले अवज्ञा गर्न नसकेको यादवले स्वीकारे गरेका छन् उनका निकटस्थ पत्रकार र मानव अधिकारवादीहरुसँग ।

जब राजनीतिक दलका नेताहरु राजसंस्था उन्मुलनमा भारत र पश्चिमाहरुको निर्देशन स्वीकार्न बाध्य हुन्छन्, तब उनीहरु सेना प्रमुखको नियुक्ति या निलम्बन या अख्तियार प्रमुखको नियुक्तिमा फरक अडान राख्न सक्दैनन् ।

आत्मकथामा राष्ट्रपति यादव या अरु लेखकहरुले आफूलाई ‘हिरो’ का रुपमा प्रस्तुत गरे पनि त्यो बढी आत्मरतिबाट निर्देशित छ । बाहिरी जनमत त्यो भन्दा फरक छ । खिलराज रेग्मीले आत्मकथा नलेखेर सायद केही बुद्धीमानी देखाएका छन् । किनकी उनले लेखिहाले भने मुलुकका उद्धारकर्ताका रुपमा प्रस्तुत गर्ने छन् आफूलाई । न्यायपालिकालाई राजनीतिक दलको हातको ‘नरिवल’ बनाएकोमा अवराधबोध गर्ने छैनन् उनले पनि ।

यीसँगै अहिलेका चर्चित आत्मकथा ‘न्याय’ मा सुशीला कार्कीले आफू इमान्दार रहेको दाबी गरेकी छन् । व्यक्तिगतरुपमा र आर्थिक चलखेलमा कार्कीलाई उनका आलोचकहरुले पनि यसबारे कुनै आरोप लगाएका छैनन् । तर न्यायालय असक्षम र भष्ट्राचारको दलदलमा रहँदा त्यसको नेतृत्वले त्यो जिम्मेवारीबाट उम्कन सक्दैन ।

त्यस्तै ‘अच्युतकृष्ण खरेल’ का नायक लेखकले वामदेव गौतम लगायतका पात्रहरुले दिएको घुस आफूले नलिएको दाबी गरे पनि प्रहरी संस्थामा इमानदारी कति छ र त्यो राजनीति प्रभावबाट कति मुक्त छ ? अनि आफ्नै नेतृत्व कालमा यी विसंगति बढेको तथ्य स्वीकार नगर्नु आत्मकथा लेखनको मान्यताबाट विचलित हुनु हो । उनी पहिलो प्रहरी प्रमुख थिए जसले बर्दीमा सार्वजनिक रुपमा सेनाको खुलेरै आलोचना गरेर सेवामा रहने हैसियत गुमायो ।

अर्थात यती धेरै हिरोहरु भएको यो मुलुकको यो ‘अधोपतन’ अनि राज्यका संस्थाहरुको आधिकारिकता र दक्षताको क्षयीकरणको क्रमले किन तीव्रता पाएको छ ? किनकी उनीहरुको आफ्नै बारेको मूल्याङ्कनमा खोट छ । र उनीहरुमा जवाफदेहिताको शून्यता छ ।

बिपी कोइरालाको आत्मवृत्तान्त, कृष्णप्रसाद भट्टराईको आत्मकथा ‘मेरो म’ र मातृकाप्रसाद कोइरालाको ‘अ रोल इन द रिभोलुशन’ लाई मात्र इमान्दार प्रस्तुतिका रुपमा हेर्न सकिन्छ च्याउ जसरी जन्मिएका ‘बायोग्राफी’ या अटोबायोग्राफीको यो भीडमा ।

अशोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्