अठोट र साधनाबाट आर्जित शक्तिपुञ्ज-६

बहुआयामिक प्रतिभाको बोझमा विनम्र नूपुर

जीवनका मोडहरुको कुरा हुँदै थियो । उनी २०२३ सालको मोडमा आएर अडिइन् । त्यो समयको सम्झना गर्दा उनको आँखाको तेज प्रष्ट देखिन्थ्यो । मुस्कुराइन्, फेरि त्यहि समयमा पुगिन् र भनिन् ‘यो मोड मेरो जीवनको सबैभन्दा महत्वपूर्ण बन्यो ।’

नूपुर बनर्जी (विवाहपछि भट्टाचार्य), नेपाली लोक, सुगम, बाल तथा भक्ति संगीतकी सर्वकालीन प्रिय गायिका । उनीसँग तय गरेको जीवन–मार्ग र त्यो यात्राका सम्झनाहरुबारे कुरा हुँदै थियो । यहि क्रममा २०२३ सालको मोडको कुरा आएको हो ।

त्यो बेला नुपुर भर्खर २० वर्षकी थिइन् र उच्च शिक्षाका लागि भारतको कोलकाता गएकी थिइन् । संगीतमा रुची पारिवारिक वातावरणले सायद शिशुकालदेखि नै थियो । तर २०२३ सालमा रेडियो नेपालले आयोजना गरेको १४ अञ्चल लोक गीत प्रतियोगिताले उनलाई गायिकाको औपचारिक परिचय दियो र त्यही रुपमा स्थापित गर्यो ।

प्रतिस्पर्धामा कोशी अञ्चलको तर्फबाट भाग लिएकी नुपुरले ‘लेकलेक हिँड्ने लेक मृग, कसले पो देख्छ भोक तिर्खा’ बोलको तामाङ्ग सेलो गीत गाएर दोस्रो भइन् । गण्डकी अञ्चलबाट आएका झलकमान गन्धर्ब पहिलो भएका थिए कालजयी सावित हुन पुगेको ‘आमाले सोध्लिन् नि खै छोरो भन्लिन्’ गीत गाएर ।

यहि प्रधिस्पर्धापछि नूपुरले रेडियो नेपालमा गायिकाको रुपमा औपचारिक पहिचान पाइन् । गीत रेकर्ड भए । राष्ट्रिय रेडियोमा उनका गीत बज्न थाले । उनको स्वर विराटनगर भन्दा धेरै टाढाटाढा पनि गुञ्जिन थाल्यो । धेरैका ओठबाट ती सुन्दर पंक्तिहरु फुट्न थाले..लेकलेक हिँड्ने लेक मिर्ग…।

अहिले ५२ वर्षपछि पनि उनलाई त्यो समयको सम्झनाले उत्साहित बनाउँछ । गफगाफको क्रममा यो प्रशंगमा आइपुग्दा केही बेर मुस्कुराएकी नुपुरले भनिन्, ‘जीवनका धेरै मोडहरु काटिए, ती मोडहरुसँगै धेरै अवसर र चुनौतिहरु पनि आए । यो मोडले अहिले म जे छु त्यसको औपचारिक आधार दिएको हो ।’

सुरुको यात्रा


नूपुर बंगाली मुलकी नेपाली हुन् । उनका बुवा डा. सुशील चन्द्र बनर्जी र आमा डा. शान्ति बेनर्जी, दुवै चिकित्सक । बुवा आँखा रोग विशेषज्ञ, आमा स्त्री रोग विशेषज्ञ ।

नूपुरका बुवाआमा २००२ सालमा पूर्वी बंगाल (हाल बंगलादेशको ढाकामा रहेको धानमण्डी) बाट नेपाल आएका थिए । आमाबुवा दुवै नेपाली नागरिकता लिए । नूपुरकी आमा डा. शान्तीले विराटनगरको अस्पतालमा काम गर्न थालिन् । अर्को वर्ष अर्थात २००३ सालमा त्यहीँ नूपुर जन्मिइन् ।

नूपुरले भनिन्, ‘मेरो जन्म विराटनगरमा भएको हो । जन्मिँदा बुवाआमा नेपाली नागरिक भइसक्नु भएको थियो । अवश्य पनि हामी बंगाली मुलका नेपाली हौँ ।’

मानव सेवामा समर्पित बुवाआमाकी सन्तान नुपुरलाई संगीतमा जोडेको पारिवारिक वातावरणले हो । उनका बुवा औपाचारिक रुपमा संगीतमा सक्रिय नभए पनि गीत संगीत रुचाउने र गाउने पनि गर्थे ।

आमाले पनि गीत गाउने तर शौखिन रुपमा । यहि कारणले नुपुरले पाँच वर्षको हुँदा नै सानो हार्मोनियम उपहार पाइन् । बुवाले नुपुरलाई शास्त्रीय संगीत सिकाउन गुरु राखिदिए घरमै । पाँच वर्षकै हुँदा उनलाई शास्त्रीय संगीत सिकाउन आउने गुरु निरन्जन देवको सम्झना अहिले पनि ताजा छ उनमा ।

नूपुरको सांगीतिक जीवनमा सबैभन्दा प्रभावकारी माध्यम बनेर आयो प्राथमिक शिक्षाका लागि शान्तिनिकेतनको यात्रा । विश्व कवि रवीन्द्रनाथ ठाकुरद्धारा भारतको पश्चिम बंगालमा स्थापित विद्याश्रममा उनलाई बुवाआमाले शिक्षाका लागि पठाए ।

सुरुवाति चरणबारे नुपुरले भनिन् ‘हामीले शान्तिनिकेतनमा कितावी ज्ञान मात्रै पाएनौँ, जीवन र जगतका बारेमा सिक्ने मौका पायौँ । त्यहिँबाट रवीन्द्र संगीतको शिक्षा पनि प्रारम्भ भयो ।’

संगीत र जीवन


बंगाली परिवारमा अरु होस् नहोस् संगीतमा जीवन र अस्तित्व गाँसिन पुग्छ । त्यसमा पनि रवीन्द्र संगीत बंगाली परिवारले पूजा गर्ने विधा । त्यस अर्थमा नूपुर रवीन्द्र संगीतलाई नेपाल ल्याउने सीमित व्यक्तिमध्येमा पर्छिन् ।

नुपुरको स्वरमा नेपाली लोक गीत, आधुनिक गीत, बाल गीत र भजनले प्राण पाएका छन् । रेडियो नेपालको प्रतिस्पर्धा जितेपछि औपचारिक रुपमा गायिका बनेकी उनले गोपाल योञ्जन, नाती काजी, शिव शंकर, फत्तेमान राजभण्डारी, दिव्य खालिङ्ग, हरिबहादुर रञ्जितकार, कोइली देवीसँग सहकार्य गरेर विविध गीत गाइन् ।

नुपुर शास्त्रीय संगीतमा आधारित गीत, गजल, भजन तथा संस्कृत श्लोक स्तोत्र गायनमा विशेष दक्षता भएकी कलाकार हुन् । तर सायद उनको सरलताका कारण के नूपुर यति बहुआयामिक प्रतिभाशाली होलिन् र भन्ने धेरैलाई थाहा नै हुन पाएन ।

विराटनगर माइती जनकपुर घर भएकी नुपुरको परिवारको अहिले ललितपुर–१० कुपन्डोलमा बसोबास छ । उनलाई भेट्न हामी उनकै घर पुगेका थियौँ ।

आँगनको छेउमा रहेको फूलबारीमा बसेर कुरागर्दै उनले संगीतप्रतिको मोह बोलिन्, ‘जीवनमा जस्तो अवस्था आओस्, संगीतले साथ छोड्दैन । यसले आँसुमा फेरि हाँस्ने माध्यम निर्माण गर्छ । दुःखमा डटेर लड्ने शक्ति पनि दिएको छ । संगीत बिनाको जीवन त के क्षण पनि कल्पना गर्न सकिँदैन ।’

उनका श्रीमान र छोराछोरी सबै चिकित्सक तर कुनै न कुनै रुपमा संगीतसँग जोडिएका छन् । श्रीमान प्रख्यात शल्य चिकित्सक सुदिपकुमार भट्टाचार्यलाई पनि संगीत अनि मन पर्छ । दुई छोरी र छोरा चिकित्सकसँगै गायिका तथा गायक पनि । यसले गर्दा घरमा जहिले संगीतको वातावरण बनिरह्यो ।

जीवनका मोड र अरु कर्महरु


नूपुरको जीवन यात्रामा धेरै मोडहरु आए । ती मोडहरुमा चुनौतिहरु पनि थिए र उनको आँटसँगै साथ दिनेहरुको भरले उनलाई पछि फर्कनु परेन । गायिका त थिइन् नै ।

२०३० सालमा उनको अर्को परिचय थपियो । उनी रेडियो नेपालमा कार्यक्रम प्रस्तोताका रुपमा आबद्ध भइन् । नयाँ काममा उनले आँट गरिन् । अरुले साथ दिए । महिला तथा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरु निर्माण तथा प्रस्तुतिमा संलग्न भइन् ।

‘रेडियोको सम्झना मात्रै होइन, अहिले नै रेडियो फर्किउँ जस्तो लाग्छ । रेडियो कार्यक्रम सञ्चालक या निर्माता हुँदा जीवनमा धेरै कुरा एक्सप्लोर गर्न पाएँ ।’ नुपुरलाई रेडियो औधी मन पर्ने रहेछ । आवाजको पेशा भएकाले उनको मन थप बसेको रहेछ रेडियोमा ।

नूपुर बिस्तारै आफ्नो मनले रुचाएको क्षेत्र बालबालिकासम्म पुगिन् । उनीहरुकै गीत गाइन् । रेडियो कार्यक्रम बनाइन् । त्यो भन्दा ठूलो कुरा अपांगता भएका बालबालिकाको पक्षमा काम गर्न थालिन् । यसैको रुप बन्यो ‘हातेमालो रेडियो बाल कार्यक्रम’ ।

त्यो उनको जीवनको अर्को अत्यन्त आनन्दमय पक्ष । २०३८ सालदेखि सुरु भएको यो यात्राले थप संघन रुप लियो, जब उनी अपांगता भएका बालबालिकाको पुनर्स्थापनामा सक्रिय भइन् २०४० देखि ।

२०४७ सालमा रेडियो नेपालको जागिर छोडेर नूपुर सम्पूर्ण रुपले बालबालिकाकै लागि समर्पित भइन् । र अहिले यहि क्षेत्रमा क्रियाशिल छन् ।

मिलेका उर्जाहरु


७२ वर्षकी भइन् उनी । उर्जा भने अहिले पनि युवाकै जस्तो छ । नूपुरलाई बिना काम बस्न मन लाग्दैन । यो उर्जा विशेष गरी आमाबाट पाएको मान्छिन् उनी । जीवनलाई व्यवस्थापन गर्ने कला पनि उनैबाट प्राप्त भयो ।

उनकी आमाले २०१३ सालमा लोक गीत प्रतियोगिता दोस्रो भएर पाएको पुरस्कारको रकममा थप गरेर तानपुरा किनिदिइन् । अनि बिहेमा हार्मोनियम दाइजो (उपहार) दिइन् ।

जीवनका हरेक सजिला–अप्ठ्याराहरुमा आमाको स्नेह प्रत्यक्ष–परोक्ष रुपमा साथी बन्ने गरेका छन् नुपुरका । ‘अहिले पनि मसँग त्यो तानपुरा र हार्मोनियम छ ।’ आमा नभए पनि उनको स्नेह र दूरदर्शिताको प्रतिक हुन् ती नूपुरका लागि स्मरण गराउँछन् ।’ नुपुरले आमाको सम्झना गर्दा थप उज्यालिएको थियो अनुहार ।

यस्तै जीवनका हरेक मोडहरुमा पतिको साथ मिल्यो । कार्यस्थलमा केही सञ्जनहरु भेटिए । शक्तिकी उपासक उनी मान्छिन् केही देवीहरुको भर पनि मिल्यो । नूपुरलाई गुनासो छैन जीवनको । छोराछोरी हुर्काउँदै गर्दा केही अप्ठ्यारा आएका हुन् ।

तर कामलाई सम्मान गर्नु पर्छ भन्ने धर्म बुझेकी उनलाई ती असजिलाहरु जीवनका परीक्षा लागे । उनी पास हुँदै गइन् । ‘कामलाई सम्मान गर्नुपर्छ । आफूले गरेको काममा गर्व पनि छ । र सबैभन्दा ठूलो कुरा आफू जे छु त्यसमा कुनै पछुतो छैन ।’

उनको कामलाई चिन्नेहरु नूपुरको नाम आदरले लिन्छन् । नूपुरलाई सांगीतिक कर्म, रेडियोकर्म तथा अधिकारको क्षेत्रको काममा नजिकबाट चिन्ने मध्ये हुन् संस्कृतिकर्मी चेतन कार्की ।

नुपुरबारे उनले भने, ‘नुपुर रवीन्द्र संगीत नेपालमा जीवन्त राख्ने सीमित पात्रहरु मध्ये एक हुन् । उनको आवाज निकै भव्य छ । उसको लगाव पनि सम्मान गर्न योग्य छ ।’

आफ्नो समग्र जीवन भोगाइबारे बिस्तारमा बोलेकी नुपुरले कुराकानीको बिट मार्दै भनेकी थिइन् ‘अझै पनि म सक्रिय छु । हराएकी छैन है । यहिँ हुनेछु ।’

सबै तस्बिर तथा भिडियो : प्रभात खनाल/देश सञ्चार

अशोज २९, २०७५ मा प्रकाशित