दीपक हेमकार हत्याकाण्डः सुरेश सोनी प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाँके।

नेपालगञ्ज – दीपक हेमकार परिवारको हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले नेपालगञ्जका सुरेश सोनीलाई नियन्त्रणमा लिएको छ।

मुख्य योजनाकारका रुपमा दीपकका ससुरा किशोरीलाल सोनीलाई पक्राउ गरेको प्रहरीले सुरेशलाई पनि सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले सोधपुछका लागि सुरेशलाई ल्याएको बताए। हेमकार हत्याकाण्डको अनुसन्धान गरिरहेका डिएसपी राजेन्द्र अर्यालले विभिन्न व्यक्तिसँग सोधपुछ गरिरहेको बताए।

असोज १४ गते प्रहरीले किशोरीलाललाई नियन्त्रणमा लिएपछि घटनामा संलग्नताको आशंकामा प्रहरीले विभिन्न व्यक्तिहरुलाई बोलाउदै सोधपुछ गरिरहेको डिएसपी अर्यालले बताए।

वि.सं. २०६२ फागुन २३ गते नेपालगञ्जको त्रिभुवनचोकमा रहेको दीप ज्वेलर्सका सञ्चालक दीपकसहित पाँच जनाको हत्या भएको थियो।

त्यो हत्याकाण्डमा ३२ वर्षका दीपक, ६२ वर्षका बुवा जगदेव, आमा सीतादेवी, हजुरआमा ८२ वर्षकी गुलाबीदेवी र कुसुम घर भएका कामदार रामसनिचर चौधरी मारिएका थिए।

हत्याकाण्डमा दीपककी श्रीमती दीपाको हात रहेको प्रहरीले आशंका गर्दै आएको छ। प्रहरीले मुख्य योजनाकारको रुपमा दीपकका ससुरा किशोरीलाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

२०६३ जेठ १४ गते दीपककी श्रीमती दीपाले सबै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। पछि सबै सम्पत्ति अरुलाई बेचिन्।

प्रहरीले अहिले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएका सुरेशले दीपकबाट श्रीमती दीपामा सरेको सम्पत्ति बिक्री वितरणमा सहयोग गरेको खुलेको छ। स्रोतका अनुसार सबै सम्पत्ती, सुन, चाँदी बिक्री वितरणमा सुरेशले सहयोग गरेका थिए।

नेपालगञ्ज–११ मा पर्ने भट्टीटोलमा कोठा भाडामा लिएर कालीगढीको काम गर्ने सुरेश त्यसपछि एकाएक धनाढ्य भएको जानकारहरु बताउँछन्। उनले नेपालगञ्ज–११ मै घर खरीद गरेका छन्।

नेपालगञ्जको चर्चित र पुरानो हत्याकाण्डको फाइल खोलेर प्रहरीले अनुसन्धान गरेपछि स्थानीयले प्रहरीप्रति विश्वास जताएका छन्। हुन त, बाँकेमा आउने सबैजसो प्रहरी प्रमुखले हेमकार हत्याकाण्डको फाइल खोल्ने प्रतिबद्धता गर्दै आएका थिए।

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्