फाइल तस्बिर
बसोबास सर्दा सारिएको परम्परा

कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?

आश्विन नवरात्रको सातौँ दिन, सप्तमी तिथि ‘फूलपाती भित्राउने दिन’। घटस्थापनाको दिन जमरा राखेको बसन्तपुरको दसैँ घरमा गोरखाबाट ल्याएको फूलपाती सप्तमीमा भित्र्याइन्छ। यस्तै जमरा राखिएका हरेक घरमा पनि।

फूलपाती भित्रने दसैँघर भने नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय हाँसिल गरिसकेपछि काठमाडौँमा बनेको हो। नत्र अहिले मनाउने फूलपाती गोरखा दरबारको दसैँ घरमा भित्रिन्थ्यो।

समय १८२५, भदौ महिना, राजा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्ने अभियानमा काठमाडौँ जितेका थिए। त्यसपछि बाइसे चौबिसे राज्य सबै एक भएर बनेको हो देश नेपाल र काठमाडौँ राजधानी।

राजा पृथ्वीनारायण शाहले आफ्नो बसोबास सार्दा परम्परा पनि सारे, गोरखा दरबारमा जस्तै काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि दसैँघर बनाए। जमरा राख्ने चलन बस्यो।

किन फूलपाती गोरखाबाट ल्याइन्छ ?


पृथ्वीनारायाण शाहले काठमाडौँलाई राजधानी बनाएपछि गोरखासँग दूरी हुने भयो। आफू बसाई सरेसँगै उनले धेरै चिनो आफूसँगै ल्याए।

काठमाडौँबाटै शासन सत्ता चल्ने भएपछि गोरखासँग जोडिनलाई उनले जुक्ति लगाए। त्यसैले दसैँघरमा फूलपाती भित्र्याउनलाई आवश्यक फूलहरु गोरखाबाट नै ल्याउने चलन रहिआएको बताइन्छ।

कसरी आइपुग्छ फूलपाती ?


आश्विन शुक्ल षष्ठीको दिन बसन्तपुर दरबारबाट थुमो, बोकोसहित अरु पूजा सामग्री लिएर धादिङ्गको धुनीवेशी जाने र गोरखाबाट आएको फूलपातीलाई ल्याउने चलन रहेको हनुमानढोका दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले बताइन्।

‘अहिले यातायातको सुविधाले एक दिन अगाडिमात्र लिन गए पनि भ्याइन्छ।’ फूलपाती लिन जाने टोली षष्ठीमा हनुमानढोका दरबारमा जाने, त्यहाँ विधिवत पूजा अर्चना गरेर बोका र थुमो लगायतको पूजा सामान लिएर धादिङ्, धुनीबेसीको जीवनपुरमा पुग्छन्।

यो टोली सीतापाइलाबाट गाडी चढेर भीमढुंगा पुग्ने र त्यहाँबाट पैदल जीवनपुर पुग्ने गरेको फूलपाती ल्याउने टोलीका एक सदस्य शमशेर गुरुङ्गले बताए। उनका अनुसार गोरखाबाट ल्याएको फूलपातीलाई त्यहाँ एक रात राख्ने र भोलिपल्ट नुहाई धुवाई गरेर बसन्तपुरबाट लगिएको बोका र थुमोलाई बलि दिएर बसन्तपुर ल्याउने गरिन्छ।

सातपल्ट फूलपाती लिन गएका शमशेर भन्छन्, ‘हामी पूजा सकेर बिहान छ बजे हिड्यौँ भने साँझ ४ बजेसम्म जमल आइपुग्छौँ, बिचमा एक ठाउँमा मात्र बिसाइन्छ।’

हनुमानढोका पर्वपूजा संयोजक मिठाराम पुडासैनी भन्छन्, ‘यो वर्ष फूलपाती लिन जाने टोलीमा ८ जना छन्, १६ जनासम्मको टोली हुन्छ।’ यो पर्व जातिय संलग्नताको हिसाबमा पनि धनी छ। गोरखाको फूलपाती बसन्तपुरसम्म ल्याउने टोलीमा मगर, नेवार, ब्राम्हण लगायतका धेरै जातजातिको सहभागिता रहन्छ।

धादिङ्को महादेव खोलामा नुवाई धुवाई गरी टोली फूलपाती लिएर सीतापाइला हुँदै रानी पोखरीको उत्तर किनारामा पुग्छन् । फूलपाती लिएर फर्केको टोलीलाई लिन हनुमानढोका दरबारबाट साइत गरी जानुपर्छ। हनुमानढोका दरबार संग्राहलय विकास समितिको कार्यकारी निर्देशक अरुणा नकर्मीका अनुसार यसपटकको फूलपाती लिन जाने साइत ३ बजेर १५ मिनेट जाँदाको छ।

यसको लागि केराको पात, पुष्प गुच्छा, रातो सिम्रिकले सिँगारिएको कलश, बाजागाजा लिएर लिन जाने गरिन्छ। यसरी विधि पुर्याएर लिन गएको फूलपातीलाई पर्स्याएर मात्र बसन्तपुर दरबार क्षेत्रको दसैँ घरमा ल्याइने नियम छ। बसन्तपुरको नासल चौकमा ल्याएर विधिपूर्वक पूजा गरेपछि मात्र फूलपाती दसैँघरमा भित्र्याइन्छ।

पुनश्च: हुनमानढोका दसैँघरसँगै घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती मंगलबार भित्र्याईँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फूलपातीका रुपमा भित्र्याइने केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

असोज ३०, २०७५ मा प्रकाशित