बेपत्ता पत्रकार जमाल खाशोग्गी र अमेरिका–साउदी अरेबिया सम्बन्ध

साउदीका राजासँग टेलिफोन वार्तापछि खाशोग्गी घटनामा ट्रम्पको बोली फेरियो

हत्या गरिएको भनिएका साउदी अरेबियाका पत्रकार जामाल खाशोग्गीको विषयलाई लिएर अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा तनाव उत्पन्न भइरहेका बेला यो घटनाले नयाँ मोड लिएको छ ।

पत्रकार खाशोग्गीको ‘हत्या’ मा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको देखिए गम्भीर कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही नरम देखिएका छन् ।

पत्रकार खाशोग्गीका बारेमा ट्रम्पले सोमबार साउदी अरेबियाका राजा सलमानसँग कुराकानी गरेका थिए । त्यसक्रममा राजा सलमानले खाशोग्गीमाथि भएको घटनाका बारेमा आफूलाई केही जानकारी नरहेको स्पष्ट रुपमा बताएको खबरमा उल्लेख छ ।

यसपछि ट्रम्पको बोली केही नरम बनेको हो । राजा सलमानसँगको टेलिफोन वार्तापछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै खाशोग्गी बेपत्ता हुनुमा ‘घृणित हत्याराहरु’ को हात रहेको हुन सक्ने बताए । ट्रम्पले घटनाका बारेमा बिस्तारमा कुरा गर्न विदेश मन्त्री माइक पोम्पेओलाई साउदी अरेबिया पठाएका छन् ।

पोम्पेओले खाशोग्गी घटनाका बारेमा सत्य पत्तालगाउने हरसम्भव प्रयास गर्ने ट्रम्पले बताएका छन् । अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी यहि अक्टोबर २ देखि बेपत्ता छन् । उनी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् ।

तर साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्या भएको भन्ने खबर झुट रहेको दाबी गर्दै आएको छ । यहि बिचमा टर्कीले भने खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको बताएको छ ।

साउदी अरेबियाका आन्तरिक मामिला मन्त्रीले शुक्रबार पत्रकार खाशोग्गीका बारेमा वास्तविक तथ्य बाहिर ल्याउन प्रतिबद्ध रहेको र उनीको हत्या गर्न आदेश दिइएको भन्ने खबर पूर्णरुपले आधारहिन रहेको बताइसकेका छन्न ।

र पनि टर्कीको सैन्य स्रोतले भने अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्ने साउदी पत्रकार खाशोग्गीकोसाउदी अरेबियाको कन्सुलर कार्यालय भित्रै हत्या भएको र आफूहरुसँग त्यसको अडियो तथा भिडियो प्रमाण रहेको दाबी गरेको छ ।

घटनाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले पनि गम्भीर चासो व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई यसबारे बोल्न आह्वान गरेका छन् ।

साउदी अरेबियामा आउँदो महिना लगानी सम्मेलन हुँदैछ । रियादमा हुने सम्मेलनमा भाग लिने या नलिने बारे पत्रकार खाशोग्गीको अवस्थाबारे जानकारी आएपछि निर्णय गरिने ट्रम्पले स्पष्ट पारेका छन् ।

विश्व बैंकका जिम किमले रियादमा हुने सम्मेलनमा भाग नलिने बताइसकेका छन् । बेलायत र अमेरिकाले रियादमा हुने सम्मेलनमा सहभागी नहुने मनसाय बनाएको खबर पनि आएका छन् ।

खाशोग्गीले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान सुधारकभन्दा पनि खराब शासक रहेको आरोप लगाउँदै आएका थिए । यहि कारण साउदी सरकारकै निर्देशनमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएका छन् ।

असोज ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्