थारु बस्तीमा सखिया नाच

महिलाले नाच्ने र पुरुषले बजाएर मनाईने सखिया नाच (फोटो फिचर)

धनगढी – कैलाली कञ्चनपुरका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक बढेको छ । थारु समुदायको अट्वारी पर्वदेखि नै सुरु हुने सखिया नाचको रौनकता दसैँ नजिकिएसँगै बढेको हो ।

यो नाच अट्वारी पर्वदेखि दसैँको पूर्णिमासम्म नाच्ने गरिन्छ । हरेक साँझ घरमा गएर युवती तथा महिलाहरु सखिया नाच नाच्छन् पुरुषले मादल बजाएर साथ दिन्छन् ।

‘पहिला अविवाहित युवतीले मात्रै सखिया नाच नाच्ने चलन थियो’ सखिया सम्बन्धी जानकार धनगढी उपमहानगरपालिका–५ जाईका धनबहादुर चौधरी भन्छन्, ‘हिजो आज विवाहित महिलाले पनि सखिया नाच नाच्ने चलन छ ।’

उनका अनुसार सखिया नाच हरेक साँझ नाच्ने गरिन्छ । सखिया गाउँमा रहेका सबै घरमा गएर नाचिन्छ ।

चौधरीले भने, ‘अहिले थारु बस्तीमा सखिया नाचको रौनक छ । दसैँपछि पाचदिनसम्म दिउँसो र साँझ पनि नाचरे मनाईन्छ ।’

सखिया नाच थारु समुदायको पुरानो परम्परा हो । यसमा महाभारत र कृष्ण भगवानका गाथा समेटिएका हुन्छन् । नाचगान गरेर रमाईलो गरिन्छ ।

थारु बुद्धिजीवि दिलबहादुर चौधरीले थारु समुदायले मनाउँदै आएको सखिया नाच पछिल्लो समयमा केही कम हुनै गएको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘पछिले एक महिना बढी समय यो नाच नाच्ने गरिन्थ्यो । तर, पछिल्लो समयमा भने दसैँको समयमा मात्रै मनउने गरिएको छ ।’
‘युवायुवती काम र पढाईका लागि घर बाहिर हुन थाले । त्यसैले उनीहरु सखियाबारे जानकार छैनन् । पछिल्लो पुस्ताले सखियालाई बिर्सिँदै गएका छन्।’ उनले भने ।

असोज ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्