मिथिलामा ‘झिझिया’ को उत्सव

टाउकोमा घैँटो बोकेर भूत भगाउने नाँच

तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो
बाबा हो झिझिरी पर होइयौ ने सबार
अबोधबा बालक तोहर किछियो ने जनै छ हो ।

जनकपुर—दसैँको अवसरमा गाइने यो गीतले जनकपुर अहिले गुञ्जमान छ । मिथिलाञ्चलमा घटस्थापनादेखि शुरु भई दसैँ अवधी भर प्रत्येक राती झिझिया गाउने परम्परा परापूर्वकालदेखी नै चल्दै आएको छ ।

माता दुर्गालाई रिझाउन र दसैंका बेला बोक्सी तथा भुतप्रेत सक्रिय हुने जनविश्वासका कारण यो बेला प्रत्येक रात झिझिया गाउने गरिन्छ ।

बोक्सीप्रति तीखो व्यंग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाहरू बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंँदैगाउँदै परिक्रमा गर्छन् ।

मिथिलाञ्चलको चर्चित यस नृत्यमा दलित महिलाहरू बढी सामेल हुन्छन्। नृत्य नै झिझियाको प्रमुख विशेषता मानिन्छ ।

बोक्सीले आफ्नो जादुको प्रयोग प्रायः मध्य रातपछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुन्छ ।

बत्ती बालेको घैटोको प्वाल बोक्सीले गणना गर्न भ्याए भने घैटो बोक्ने महिलाको मृत्यु हुने जनविश्वास छ। जसकारण झिझिया नृत्य गर्ने महिला निरन्तर नाँचिराख्नु पर्दछ ।

ग्रीष्मको बिदाइ र शीतको आगमन सँगै दसैँ भरी जनकपुर सहित तराईका विभिन्न ठाउँ र भारतको विहारमा झिझिया नाँच आयोजना गरिन्छ।

झिझिया हेर्नेको भीड़

दसैँका बेला आयोजित मेलामा पूजापाठ श्रद्धालु रमाएपनि उनीहरुले राती झिझिया हेर्न छुटाउँदैनन् । जनकपुर नगरको विभिन्न मन्दिर परिसरमा गराइने झिझिया हेर्न टाढाबाट समेत सयौंको संख्यामा श्रद्धालु आउँछन्।

दसैँको प्रत्येक राती झिझिया नाचागान हुँदै आएकाले यसलाई हिजोआज ‘दसैँ नाईट्स’ भन्ने समेत गरिएको छ।

‘झिझिया’ मा ‘कुम्हाल’ जातिका महिलाले माटोका विशेष प्रकारको प्वाल पारिएको घैटोमा दियो बाली नाच्ने गर्दछन ।

तर पछिल्लो समय अब सदाय जातीका परिवार पनि यसमा सक्रिय भएका छन्। माटोको भाँडामा आगो बालेर छमछम नाचेर झिझियाको माहोल तताउन उनीहरु व्यस्त बनेका छन्।  दिउँसो काम सकी घर आएर झिझियाको तयारी गर्छन्।

घटस्थापनाभन्दा अगाडि नैमाटोको घैंटो ल्याइन्छ।

त्यसमा अनगिन्ती प्वाल पारी नवरात्री प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने गरिन्छ ।

झिझियाको लागी चाहिने मटितेल वा रकमको लागी उनीहरु घर घर डुल्ने गर्छन । दसैँंको निसापूजा पछि झिझिया पनि समाप्त हुन्छ ।

असोज ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्