
धनगढी — भारतको पलियाबाट डेढ घण्टाको दूरी पार गर्दै नेपाल–भारत सीमा नाका गौरीफन्टास्थित बसमा आर्लिदा अछाम साँफेबगर २ का वीरबहादुर कुँवर निकै हर्षित देखिए। सबै थोक पाए जसरी प्रशन्न बनेका उनी आफ्नो गन्तव्यतर्फ पाइला बढाए। ‘यो बेला खुशी नभए कहिले हुने ?’, उनको प्रश्न थियो।
उनको खुशी भर्ने काम दसैँले गरेको थियो। भारतको बैङ्गरस्थित एक होटलमा दुई वर्षदेखि ‘कुकिङ’ गर्दै आएका कुवँर आफ्नो खुशी परिवारसँग बाड्न आतुर थिए। दुई वर्षअघि त्यहाँ पुगेका उनी एक पटक पनि घर र्फिन पाएनन्।
‘गाउँका साथीभाइले फेसबुकमा रातो टीका, जमारासहित आफन्तसँग बसेर खिचेको फोटोहरु पोस्ट गर्थे । तिहारमा सप्तरंगी टीका लगाएर खुशी मनाएको देख्दा मन खान्थ्यो उनको। ‘यसपाली खुब रमाइलो गर्ने हो, अहिलेसम्मको दुःख मेटाउन’, उनले सुरुमै भने, ‘नेपालमा सबै रमाएका बेला म भने होटलमा पकाइरहेको हुन्थे। मुस्किलले विदा मिलाएर दसैँ र तिहार मनाउने गरी घर आएको छु । आफ्नो सीमामा पुगेपछि पनि घरमै पुगेजस्तो लाग्ने ।’
सीमा नाका त्रिनगरमा भेटिएका कुँवर झनै दंग थिए। ‘दुई वर्षदेखि मनाउन नपाएको दसैँै र तिहार पनि अव एकै चोटी मनाएर फर्किन्छ’, उनले भने। आँदो सालको बिदा निश्चित छैन उनको। त्यसले सकेसम्म बिदाको समय सदुपयोग गर्ने मनस्थिति बनाएका छन् उनले।
डोटीको बोगटान गाउँपालिकाका २५ वर्ष दीपक बोहरा दसैँ मनाउन आउन पाउँदाको खुशी परिवारका सदस्यमा साटदै थिए। उनको पनि हर्षको सिमा थिएन। आर्थिक अवस्था कमजोर हुँदा ११ कक्षा पूरा नगरी उनी भारत भासिएका थिए। चार वर्षअघि घर छोडेका दीपकले योबिचमा घर आउने मौका पाएनन्। बुढा आमाबुवा, बहिनी र भाइको सम्झनाले सताइरह्यो।
पैसा कमाउन परिवारको मायाबाट टाढिनु परेको थियो उनलाई। त्योसँगै दसैँमा साथीभाइसँग रमाइलो गर्ने, आफन्त भेट्ने, आमाबुवाको आर्शिवाद लिने, मिठो खाने पलहहरु पनि पर भए। भारतको पुनामा काम गरेर फर्किएका दीपकले चार वर्षमा केही आम्दानी जुटाएका छन्। तर त्यहाँ झेलेको दुःख पहाड भन्दा अग्लो लाग्छ त्यो उनलाई ।
‘मनले भन्छ यतै कमाउ, परिवारसँगै हासिखुशी जीवन बिताउ तर यहाँ काम गर्ने वातावरण छैन । ज्याला पनि थोरै छ’, उनले भने । अघिपछि दुःख गरेर भए पनि दसैँमा रमाउनु पर्छ भन्ने धारणा उनको छ। दसैँमा घर आउन पाउँदा दंग पर्ने वीरबहादुर र दीपक मात्रै छैनन्।
मजदुरीका लागि भारत पुगेका दैनिक सयौँ नेपाली युवा हर्षित मुद्रामा कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी नाका भएर जन्मथलो भित्रिएका छन्। विदेशीएका छोराहरु घर फिर्दा परिवारमा पनि खुशी छाएको छ, उत्साहमा छन् उनीहरु। परदेशीसँगै घरपरिवारका लागि खानेकुरा, नयाँ कपडा, खाद्यन्न र उपहारहरु भित्रिएका छन्। आफन्तलाई भेट्दा वर्षदिनको थकाई र पीडा मेटिन्छ उनीहरुको।
सीमाको असहजता
रोजगारी गरेर दसैँका बेला फर्किने नेपाली सीमामा लुटिने परम्परा कायमै छ। उनीहरुले सामान ल्याएबापत पाँच सयदेखि एक हजार भारतीय रुपैयाँसम्म भारतीय सुरक्षाकर्मीलाई बुझाउनु पर्छ। भारतीय सुरक्षा अधिकारीले पैसा नपाए अनावश्यक दुःख दिने गर्छन् ।
नेपालकै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि रकम लिन्छन् । त्यो समस्या अझै अन्त्य नहुनु दुःखद भएको स्वदेश फिरेका नेपाली बताउँछन्। ‘दसैँका बेला दुःखजिलो गरी कमाएर ल्याएको पैसा पनि अरुलाई दिनु पर्छ’, कैलालीको घोडाघोडी नगरपालिकाका श्यामलाल चौधरीले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने दसैँ तिहार मनाउन भारतबाट फर्किनेहरुको सहजताका लागि सीमा नामाका सहयता कक्षा स्थापना गरिएको बताए ।
लुटिने र कुटिने समस्या समाधानका लागि पनि भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको उनको भनाई छ।