साउदीका राजा र अमेरिकी विदेश मन्त्रीबिच भेट

ट्रम्पको बोलीमा बोली मिलाउँदै साउदी अरेबिया

बेपत्ता पत्रकार जमाल खाशोग्गीको अवस्थाका बारेमा सत्य–तथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि दबाब बढेको छ । यहि विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया पुगे र त्यहाँका राजा सलमानसँग भेटेका छन् ।

साउदी अरेबियाका राजा सलमान र अमेरिकी विदेश मन्त्री पोम्पेओबिच रियादमा खाशोग्गीको अवस्थाका बारेमा छलफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्ने दुई हप्तादेखि बेपत्ता साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गी यहि अक्टोबर २ देखि टर्कीबाट बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ ।

टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको बताउने गरेका छन् तर साउदी अरेबियाले उनको हत्या गरिएको कुरा ठाडै अस्वीकार गर्दै आएको छ ।

र पनि अमेरिकी सञ्चारमाध्यमले साउदी अरेबिया पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको बताएका छन् । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरेका छन् ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । यहि बिचमा टर्कीले भने खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको बताएको छ ।

उनको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरेका छन् ।

साउदी राजा सलमान र अमेरिकी विदेश मन्त्री पोम्पेओबिच भएको भेटको विस्तृत विवरण सार्वजनिक भएको छैन । राजा सलमानले अनुसन्धानको सम्पूर्ण प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको भने पोम्पेओले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजा सलमानसँग सोमबार टेलिफोन वार्ता भयो र राजा सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूहलाई कुनै पनि प्रकारको जानकारी नरहेको स्पष्ट पारे । ट्रम्पका प्रतिनिधि बनेर पत्रकार खाशोग्गीका बारेमा कुरा गर्न अमेरिकी विशेद मन्त्री पोम्पेओ रियाद पुगेका हुन् ।

राजा सलमानसँगको टेलिफोन वार्तापछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै खाशोग्गी बेपत्ता हुनुमा ‘घृणित हत्याराहरु’ को हात रहेको हुन सक्ने बताएका थिए । पोम्पेओले खाशोग्गी घटनाका बारेमा सत्य पत्तालगाउने हरसम्भव प्रयास गर्ने ट्रम्पले बताएका छन् ।

अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । यहि बिचमा टर्कीले भने खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको बताएको छ ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।

साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् ।

यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् ।

असोज ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्