साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान
बेपत्ता पत्रकार खाशोग्गी र अमेरिका–साउदी अरेबिया सम्बन्ध

साउदी अरेबियाका शक्तिशाली युवराजलाई नै थाहा छैन टर्कीस्थित कन्सुलर कार्यालयमा के भयो!

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले बेपत्ता पत्रकार जमाल खाशोग्गीमाथि के भयो वा उनको अवस्था के छ भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

क्राउन प्रिन्स सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूलाई कुनै जानकारी नरहेको कुरा बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरेका हुन् ।

पत्रकार खाशोग्गीका बारेमा विस्तृत जानकारी हाँसिल गर्न भन्दै रियाद पुगेका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार राजा सलमानलाई भेटेपछि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका थिए । पत्रकार खाशोग्गी बेपत्ता हुनुमा साउदी अरेबियाको हात रहेको र उनको हत्या भइसकेको बताउने गरिएको छ । साउदी अरेबियाले भने खाशोग्गीका सम्बन्धमा लगातार कुनै जानकारी नरहेको बताउने गरेको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘साउदी अरेबियामाथि लागेको आरोप त्यो बेलासम्म कायम रहनेछ जुन बेलासम्म उ निर्दोष प्रमाणित हुनेछैन’ भनेको समाचार संस्था एपीले जनाएको छ । टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा गरिएको खानतलासीपछि खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको टर्कीका एक अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ ।

उनको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरेका हुन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्ने दुई हप्तादेखि बेपत्ता साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गी यहि अक्टोबर २ देखि टर्कीबाट बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ ।

टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको बताउने गरेका छन् तर साउदी अरेबियाले उनको हत्या गरिएको कुरा ठाडै अस्वीकार गर्दै आएको छ ।

र पनि अमेरिकी सञ्चारमाध्यमले साउदी अरेबिया पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको बताएका छन् । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरेका छन् ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।

साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजा सलमानसँग सोमबार टेलिफोन वार्ता भयो र राजा सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूहलाई कुनै पनि प्रकारको जानकारी नरहेको स्पष्ट पारेका थिए । ट्रम्पका प्रतिनिधि बनेर पत्रकार खाशोग्गीका बारेमा कुरा गर्न अमेरिकी विशेद मन्त्री पोम्पेओ रियाद पुगेका छन् ।

राजा सलमानसँगको टेलिफोन वार्तापछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै खाशोग्गी बेपत्ता हुनुमा ‘घृणित हत्याराहरु’ को हात रहेको हुन सक्ने बताएका थिए ।

अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।

खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका हुन् ।

आफूसँग भएको टेलिफोन वार्तामा क्राउन प्रिन्सले टर्कीमा रहेको कन्सुलर कार्यालयमा के भयो भन्नेबारे आफूलाई कुनै पनि जानकारी नरहेको स्पष्ट पारेको ट्रम्पले ट्वीट मार्फत जानकारी दिएका छन् । यस विषयमा तीव्र गतिमा अनुसन्धान भइरहेको र सत्यतथ्य चाँडै नै बाहिर आउने क्राउन प्रिन्सले बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

असोज ३१, २०७५ मा प्रकाशित