दसैँमा कुन कुन पुस्तक पढ्दै छन् पोखरेलीहरु?

दसैँलाई मिठो खाने, नयाँ लाउने र भेटघाटमा रमाउने पर्वको रुपमा लिने गरिए पनि पछिल्लो समय युवाहरुले घुमघाम र पुस्तक अध्ययन गर्ने समयको रुपमा लिने गरेका छन् ।

कर्मचारी वर्गको अलि लामो बिदा हुने समय। कामको व्यस्ततालाई थाँती राखेकाहरुलाई शरद ऋतुमा खुल्ने मौसमले लोभ्याउँछ। दसैँ विशेषमा पोखराका विविध व्यक्तिहरुको दसैँ र पुस्तकाबारे गरिएको कुराकानी।

सरस्वती प्रतिक्षा (साहित्यकार)

यो रमाइलो वातावरणमा आफूलाई मन परेका लेखकका उत्कृष्ट किताब अध्ययन गरेर रमाउन अझै विशेष मन पर्छ । भर्खर मात्रै पहिलो चोटि पुगेको सिंगापुर, मलेशिया, थाइल्याण्ड र इण्डोनेशियका विभिन्न ठाउँको नयाँ अनुभव मनभरी उत्तिकै ताजा छन् ।

शहर प्रवेशसँगै पोखराको सुन्दर परिवेशले मेडिटेशन भइरहेको छ । दसैँको रमणीय वातावरण, खुलेको मौसममा मनपर्ने पुस्तकका हरफ हरफ पढ्दै ‘इन्जोए’ गरिरहेकी छु । अहिले पनि यो दसैँको परिवेशमा मैले सुशीला कार्कीको न्याय, रामलाल जोशीको सखी, रमेश सायनको छुटेको अनुहार, पाउलो कोयलोको हिप्पी अध्ययनको लिष्टमा छन् ।

अहिले हातमा रामलाल जोशीको ‘सखी’ छ, अध्ययन गरिरहेकी छु । पर्व विशेषलाई अध्ययन विशेष बनाएर जाने सोचमा छु । नथियाको सफलतासँगै अर्को कृतिका लागि मनस्थिति बनाइरहेकी छु । यो सँगै दसैँका नियमित कर्ममा पनि जुट्ने छु ।

दिपेन्द्र श्रेष्ठ (अध्यक्ष, पत्रकार महासंघ कास्की)

दसैँ मेरो लागि साँच्चै उत्सव नै हो । जसरी यो परिवेशमा आकाशमा चंगा उडेर माथि माथि पुगेका हुन्छन् यतिबेलाको मौसम र वातावरणले मनलाई पनि चंगा नै बनाइदिएको हुन्छ । यस्तो रमणीय वातावरणमा बौद्धिक खुराक हाँसिल गर्ने पछिल्लो समय चर्चित पुस्तकहरु कलेक्शन गरेको छु ।

न्यायको प्रत्येक पानामा सुशीला कार्कीको एउटा चित्रण सरलक्क उत्रिरहेको भान भइरहेको छ । उहाँको हकि स्वभावहरु शब्दमा देखिएका छन् ।

निलम कार्की निहारिकाको ‘योगमाया’ पुस्तक त्यस अलावा रामलालको सखी, सुविन भट्टराईको ‘प्रिय सुफि’ मेरो अध्ययनको लाइब्रेरीमा दसैँ विशेष पुस्तक बनेर बसेका छन् । पुस्तक अध्ययन पश्चात दसैँको भोलिपल्ट परिवारसहित सौराहा जाने योजनालाई पनि सार्थक पार्ने अभ्यासमा पनि जुटेको छु ।

गनेस पौडेल (संस्थापक अध्यक्ष, र्याण्डम रिर्डस सोसाइटि अफ नेपाल एवं लेखक)

दसैँका बेला घुमघाम धेरै हुन्छ । यसपटक प्रकाशक भुपेन्द्र खड्का र कुमार नगरकोटी सहित १५ दिनका लागि मुम्बई, गोवा, चेन्नई लगायत दक्षिण भारतका केही ठाउँ घुम्न निस्किदैँ छु ।

फर्केपछि ‘देजाभू’ लाई अन्तिम रुप दिन अति व्यस्त हुनुपर्छ । हालै किनेका रामलाल जोशीको ‘सखी’, राजेन्द्र पराजुलीको ‘अघोरी’ र रमेश सायनको ‘छुटेका अनुहार’, युभल नोह हरारीको ‘ट्वेन्टी वान लेसन्स फर ट्वेन्टी फस्ट सेन्चुरी’, नगरकोटी दाइबाट उपहार आएका २ किताब मार्लन जेम्सको ‘अ ब्रिफ हिस्ट्री अफ् सेभेन किलिङ्स्’ अनि डेभिड ग्रासम्यानको ‘अ हर्स वाक्स् इनटु र बार’ रिडिङ टेबलमा छन् ।

रमेश सायन र हरारीलाई दुईचार दिनभित्र नपढे विद्वतवार्तामा साह्रै पछि पो परिने हो कि भन्ने डर लागेको छ । पूर्वजन्ममा रमेश सायन सायद झेन भिक्षु पो थिए कि ! उता ‘स्यापियन्स’ र ‘होमो ड्युस’ बाटै अथाह ज्ञान, विवेक र प्रस्तुतिले संसार हल्लाएका हरारी नपढ्ने कुरै भएन । यी दुवै किताब बोकेर भारत जानेबारे सोच्दैछु ।

यो दसैँको साँझ बिहानमा गीत सुन्नेछु । केही मित्रहरूलाई उपहार दिन किताब तयार गरेको छु ।

मिरा ढकाल (प्रशासन तथा मानव संसाधन व्यवस्थापक, लिवर्ड तथा सदस्य र्याण्डम रिडर्स सोसाइटि अफ नेपाल)

अहिलेको माहौल नै खुशीको । सफा आकाश, खेतभरी पाक्दै गरेका धानका बाला। पीडा लुकाएरै भए पनि खुशी मुद्रामा घर फर्किने मान्छे । कुरिरहेका आफन्त । आफैलाई नविकरण गर्ने समय जस्तो लाग्छ दसैँ ।

पुस्तक पढ्ने बानी छ, निरन्तर पढ्न मन पराउँछु । र्याण्डम रिर्डसमा आवद्ध छु । विशेष लगाव छ । एक दुई हप्ताको ग्यापमा पुस्तक किनिरहन्छु । दसैँमा लामो बिदा हुने भएकोले धेरै पुस्तक पढ्ने समय मिल्छ ।

यतिबेला निर्मलाको न्याय अभियानमा जोडिएको छु , समय झनै बाँडिएको छ । रेगुलुर स्केलमा जस्तो पढ्न पाएको छैन अचेल । यो दशैमा पढ्नका लागि छुटेको अनुहार, सखी, अघोरी, हिप्पी, न्याय, पर्खालभित्र र बाहिर, होमो डि यस, लगायत एक दर्जन पुस्तक किनेको छु । सुशीला कार्कीको ‘न्याय’ पुस्तक पढ्न थालेकी छु ।

उहाँको भनाई ‘डा. गोविन्द केसी जस्ता अभियन्ताले थालेको सामाजिक आन्दोलनलाई लक्ष्यमा पुर्याउन संचार माध्यमले सहि भूमिका खेल्नुपर्छ । सामाजिक आन्दोलनले नै हो, लोकतन्त्रलाई जीवन्त राख्ने तथा न्याय अधिकारको सुनिश्चिता गर्ने । बिडम्बना नेपालमा त्यस्तो सामाजिक आन्दोलन भएको छैन’ अध्ययन गरिरहँदा विशेष छोएको छ न्यायका हरफहरुले । यो पुस्तक अध्ययनले सामाजिक न्यायकालागि अझै सक्रिय हुने ऊर्जा मिलेको छ ।

शर्मिला न्यौपाने दाहाल (पर्यटन ब्यवसायि एवं शिक्षिका)

यो बेला आगनका डिलभरि फुलेका सयपत्री फूलले खेतबारीका झुलिरहेका धानको बालाले दसैँलाई स्वागत गरेको भान हुन्छ । बालापनका दसैँहरु अब सम्झनाका तरेली बनिरहेका छन् । यद्यपि दसैँको यो माहौलले भने सधै लोभाइरहन्छ । अरुलाई फुर्सद मिल्ने समय भए पनि पर्यटन क्षेत्रमा आवद्ध भएकाले सिजनको समय हो ।

व्यस्तता अलि बढी नै हुन्छ । यद्यपि यो माहौलबाट म पनि टाढा रहन कहाँ सक्छुर? दसैँलाई लक्षित गरेर केही पुस्तक किनेर ल्याइसकेकी छु । जसमा रामलाल जोशीको ‘सखी’ सुबिन भट्टराईको ‘सुफी’ प्राथमिकतमा छन् । मदन पुरस्कार प्राप्त कृति निलम कार्की निहारिकाको ‘योगमाया’ पनि पढ्नका लागि अत्यन्तै इच्छाइएको पुस्तक हो ।

साहित्यको विद्यार्थी , शिक्षक र नेपाली साहित्य र कृतिमा चासो राख्ने भएकोले यी भन्दा अगाडि पनि धेरै कृतिहरु पढी सकेकी छु । फुर्सदको समयको सदुपयोगनै पुस्तक पढेर गर्न प्रयास गरिरहन्छु।

दसैँमा नयाँ लुगा कपडा किन्नुभन्दा किताबका भारी किन्न रुचाउने मध्ये एक म पनि हुँ । भर्खरै पढेर सकेका तिर्थ गुरुङको पाठशाला र सरस्वती प्रतीक्षाको नथिया र बालमनोविज्ञानमा आधारित भएर लेखिएको दामोदर न्यौपानेको ‘स्कुल बेच्ने बालक’ पनि मलाई मन पर्ने भित्रका कृतिहरु हुन् ।

अशोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्