सेलिब्रेटीको दसैँ योजना

तास खेल्ने देखि ससुराली जानेसम्म

काठमाडौँ – दसैँ सबैलाई जस्तै कलाकारलाई पनि लागेको छ । तर कलाकारको दसैँ रौनक धेरै हदसम्म उनीहरुकै कर्मसँग जोडिएको हुन्छ । यहि मौका छोपेर चलचित्रहरु प्रदर्शनमा आउँछन् । कलाकारहरु दर्शक भेट्न हलसम्म पुग्छन् । व्यस्तताका बिचमा उनीहरुले आफ्ना लागि चाडवर्पमा समय निकाल्ने प्रयास भने गरिरहेका हुन्छन् । हामीले केही कलाकारसँग उनीहरुको दसैँ योजनाबारे सोधेका छौँ ।

दीपकराज गिरी

घटस्थापनादेखि छक्का पञ्जा – ३ प्रदर्शन भइरहेको छ। यो चलचित्रका कथाकार, अभिनेता दीपकराज गिरी अहिले हलहलमा गएर दर्शकलाई भेटिरहेका छन्। यो वर्षको दसैँ उनले यसरी नै मनाउने योजना सुनाए। ‘विजया दशमीको टीकामा बाहेक अरु दिन हल हलमा गएर म दर्शकसँग शुभकामना बाड्ने तयारीमा छु’ उनले दर्शकसँग हलहलमा भेटेर दसैँ मनाएको यो तेस्रो वर्ष हो। छक्का पञ्जा तीजमा रिलिज भएको थियो तर यो चलचित्र दसैँसम्म चलेकोले उनी हलमा नै थिए। ‘दर्शकको मायाले नै छक्का पञ्जा–३ सम्म आइपुगेका छौँ, दशमीमा आफ्ना दाजुभाइ र आफन्तसँग टीका लगाएर म भोलिपल्टबाट हलमा जाने योजनामा छुँ।’

आँचल शर्मा

नायिका आँचल शर्मा यो पटक परिवारसँग बसेर समय बिताउन चाहन्छिन्। ‘दसैँमा अरुबेला भेट हुन नपाएका आफन्तहरु पनि भेट हुन्छ, त्यसैले म कतै पनि जान्नँ।’ उनलाई बाहिर हिँड्न मन पर्दैन। अझ दसैँमा त उनी परिवारसँग मात्र बस्न रुचाउँछिन्। परिवार सबै उपत्यका भित्र नै भएकोले बाहिर जान पर्दैन पनि। उनी दसैँमा तास खेल्छिन्, तर घर परिवारसँग मात्र। ‘रमाइलोको लागि मात्र हो, बाहिर खेल्दिन। मैले धेरै खेल्ने फलाँस हो, यो पाली जितिपनि रहेकी छु।’

राजनराज शिवाकोटी

गायक तथा संगीतकार राजनराज शिवाकोटीको परिवारमा यो पाली दसैँ छैन। जुठो परेकोले घरमा पूजाआजा छैन। उनी कार्यक्रममा व्यस्त छन्। अहिले धनुषा हरेका शिवाकोटी यो दसैँमा ससुराली पुग्दैछन्, त्यो पनि १० वर्षपछि। ‘२०६५ सालमा छोरी जन्मेपछि म ससुराली गएको छैन।’ अहिले उनका छोरीहरु मामाघरमा नै छन्। नवमीमा उनी जनकपुर घुम्न जाने योजना छ अनि त्यसपछि सीधै काठमाडौँ। उनको पुर्ख्यौली घर दोलखा हो, यो वर्ष दसैँ नभए पनि आफन्तजनलाई भेट्ने उनको योजना छ।

निर शाह

निर शाह अमेरिकाबाट फर्केको भर्खर १० दिन भयो। दसैँको मुखमा घर फर्केका शाह यो पालि दसैँ नातिहरुसँग मनाउने योजनामा छन् । ‘मेरो नातिहरु यो पाली नेपाल आएका छन्। म उनीहरुसँगै दशैभरी हुन्छु होला।’ निरशाहको दसैँ शाकाहारी हुनेछ।

भुवन केसी

नायक तथा निर्माता भुवक केसीको योजना पारिवारिक जमघटमा नै छ। अहिले खेलाडी चलचित्रको छायंकनमा रहेका भुवनले चलचित्रको कामबाट टाढा बस्ने योजना सुनाए। ‘दसैँ तीन करोड नेपालीको भन्दा फरक छैन मेरो। परिवारसँग बसेर सुख दुःखका कुरा गर्न मन छ।’ उनले छोरा अनमोल र यहाँ भएका परिवारसँग सँगै बसेर टिका लगाउने र पारिवारिक समय बिताउने योजना सुनाए।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्