दसैं, मासु र स्वास्थ्य

पोलेको र तारेको मासु किन हानिकारक ?

फाइल तस्बिर

काठमाडौँ— ‘दसैँका बेला मुख मिठो पारेरै जानुहोस्।’ यतिबेला प्राय सबैका घरमा पाउनालाई यस्तै अनुरोध गरिन्छ। पाउनाका लागि तयार पारिने मिठा परिकारमा मासुलाई विशेष प्राथमिकता दिइन्छ। राक्षसी प्रवृतिको अन्त्यका लागि देवीलाई बलि चडाउने र बाँकी मासु प्रसादका रुपमा खाने चलन थियो सुरुमा । तर पछिल्लो समय त्यसमा परिवर्तन आएको छ।

आर्थिक हैसियत बलियो हुनेहरुले मासुलाई भान्सामा अनिवार्य तरकारी बनाउन थालेका छन्। दसैंका बेला त त्यो झनै विशेष भईदिन्छन्। मिठो पनि हुने र ‘प्रोटिन’ पनि पाइने भएकाले धेरैको रोजाईमा मासु नै पर्ने गरेको हो। तर त्यसलाई कसरी पकाएर खाने, कति मात्रामा खाने, कुन समयमा खाने भन्नेबारे पर्याप्त जानकारी नहुँदा या जानकारी भएरपनि हेलचेक्र्याँई गर्दा यसबाट स्वास्थ्यमा असर पुगेका घटना बढ्न थालेका छन्। बजारमा मासुको किनबेच अत्याधिक छ।

धेरै टाढाबाट खसीबोका,राँगा भित्रिएका छन्। घरमा लगेपछि अनेकौं परिकार बनाएर खाने गरिन्छ। अत्याधिक मसला हालेर, भुटेर या तारेर खाने चलन छ। त्यसबाट जे पूर्ति गर्न मासु खाइन्छ त्यो पक्कै पाइदैन अर्थात अत्याधिक मसलेदार, तारेको वा भुटेको मासुमा पौष्टिक तत्व नष्ट हुन्छ। त्यस्तो मासुले उल्टै स्वास्थ्यलाई खराब गर्छ। मासुका कारण अनेकौ रोगबाट ग्रस्त हुनु पर्ने अवस्था आउँछ । चिकित्सक भन्छन्’, मासुकै कारण डेढ सय भन्दा बढी रोग लाग्ने गर्छ । त्यसबाट बच्न मासु खरिददेखि पकाउने र खाने समयलाई विशेष ध्यान दिनु पर्छ ।

कस्तो मासु खाने ?

खसी, बोका राँगा, बँदेल, भेँडा–च्याङ्ग्रा आदिको मासुमा ‘प्रोटिन’ प्रशस्त पाइन्छ । मुटु, कलेजो, मिगौला, फोक्सो आदि अंगका मासुमा कोलेस्ट्रेरोलका साथै भिटामिन ए, डी, ई र केही मात्रामा भिटामिन बी पाइन्छ । तामा, लौह, जिन्कजस्ता खनिज तत्व पनि प्रशस्त पाइन्छ त्यसमा। कुखुरा, हाँस, जस्ता मासुमा चिल्लो पदार्थ कम हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छन्।

स्ट्रिच, बट्टाई तथा परेवाको मासुमा चिल्लो कोलेस्टेरोल र क्यालोरी कम हुने भएकाले ती पनि स्वास्थ्यका लागि लाभदायीक मानिन्छन्। तर छालासहित कुखुराको खुट्टा, पखेटा, साँप्रोमा कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ, जुन हानिकारक मानिन्छ। माछामा चिल्लो तथा फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रशस्त हुन्छ ।

खासगरी यसमा भिटामिन बी र डी प्रसस्त हुनुको साथै फोसफोरस आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरू पनि हुन्छन् । अति आवश्यक तत्व ओमेगा ३ पनि हुन्छ। त्यसलाई स्वास्थ्य मजवुत बनाउँछ।

खरिद गर्दा के कुरामा ध्यान दिने ?

स्वास्थ्यलाई मजबुत बनाउन मासु खरिददेखिनै विशेष ध्यान दिनु पर्छ। तर मानिसलाई सँधै हतार छ। जस्तो ठाउँमा राखेको भएपनि, जसरी बध गरेको भए पनि या जस्तो हातले बिक्री गरेपनि पसल नजिक छ भने त्यहीबाट मासु खरिद गर्ने धेरैको बानी छ । जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीकाअनुसार संक्रमित चौपायाको मासु खानु हुँदैन ।

स्वस्थ चौपायलाई पनि फोहोर स्थानमा बध गर्दा मासु दुषित र संक्रमित बन्न पुग्छ। मासु काट्ने मानिसले पनि आफ्नो सरसफाईमा ध्यान दिएको हुनुपर्छ। दुषित मासुबाट रोगका किटाणु मानिसको शरीरमा प्रवेश गर्ने र अनेक समस्या देखिने गर्छन।

स्वास्थ्य परीक्षण गरेको ग्यारेन्टी लिएर मात्रै मासु खरिद गर्नु लाभदायी हुन्छ। विभिन्न रोगका किटाणुहरु हुन सक्ने खतरा बढि हुने भएकाले छाला फ्याँकेको मासु खानु उत्तम हुन्छ। त्यस्तैै राँगा, खसी, बंगुर जस्ता जनावरको रातो मासु भन्दा माछा खानु उपयुक्त हुन्छ। यस्तो मासुमा कोलेस्ट्रोल कम हुने भएकाले मानिसको स्वास्थ्यमा असर गर्दैन । बोसोयुक्त मासुको अत्याधिक सेवनले पित्त थैलीको संक्रमण हुने खतरा रहन्छ।

पकाउँदा के मा ध्यान दिने ?

स्वस्थ मासु किनेर मात्रै हुँदैन। त्यसलाई राम्ररी पकाइएन भने उल्टै स्वास्थ्यलाई असर गर्छ । कतिपय मानिस मासु पकाउँदा हतारिन्छन् । तर पूर्णरुपमा पकाएपछि मात्रै मासु खानु पर्छ। उसनेर पछि हल्का भुटेर मासु खाँदा राम्रो मानिन्छ। राम्ररी पाकेको मासु किटाणुरहित हुन्छ। त्यसबाट पर्याप्त प्रोटिन मिल्छ । प्रोटिनले शारीरिक वृद्धि तथा विकास गर्छ अर्थात कोष÷कोषिकाहरूको बृद्धि विकास गर्छ। खिइएको कोष/कोषिकाहरूको मर्मत–सम्भार गर्छ । भनिन्छ’, एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

लामो समय राख्दा किन असर ?

दसैँका बेला एकै पटक धेरै चौपाया काट्ने चलन छ । अनि धेरै मासु पनि खरिद गरिन्छ । त्यसलाई एकै पटक पकाएर प्रिजमा राख्ने र फेरी तताएर खाने चलन सहरमा धेरै छ। तर पकाइसकेको मासु फ्रिजमा राख्दै अनि तताउँदै खादा स्वास्थ्यलाई फाइदा गर्दैन । राख्ने पर्ने अवस्थामा आएमा अन्य पाकेका परिकारसँगै राख्नु हुन्न। ‘डी प्रिmज’मा मासु राख्दा राम्रो तर धेरै दिन हैन । छोपेर प्रिजमा राखेमा मासुमा भएको तत्व नष्ट हुन पाउँदैन।

पोलेको र तारेको मासु किन हानिकारक ?

दसैंका बेला प्राय हरेकका घरमा पोलेर, छोयला बनाएर वा सुकुटु बनाएर या तारेर मासु खाने चलन छ । यो स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने चिकित्सक बताउँछन्। मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन समेत उत्पन्न हुन्छ ।

त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने संभावना हुन्छ । मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न भई क्यान्सर र मुटुरोग निम्ताउने चिकित्सकको भनाई छ । डा. उप्रतीकाअनुसार धेरै चिल्लो मासुले स्वास्थ्य मनिस संगै मिर्गौला तथा कलेजोका मुटु रोगीहरुलाई हानिकारक हुन्छ ।

मासु छुट्याएर खाँदा के हुन्छ?

कतिपय घरमा पकाएको र नपकाएको मासुलाई एकै ठाउँमा राख्ने चलन छ। अन्य परिकारसँग मिसाएर पनि राख्ने गरिन्छ। तर यस्ता मासु अलगअलग राख्नुपर्छ। सँगसँगै राखिएमा नपकाएको मासुका किटाणु पकाएको मासुमा संर्न पुगी मासु अस्वस्थकर हुने चिकित्सक बताउँछन्।

उसिनेको मासुको किन फाइदा ?

चिकित्सक भन्छन्, ‘स्वास्थ्य राम्रो बनाउने हो भने उसनेर मासु खानु पर्छ। स्वस्थ खसीबोका,कुखुरा लगायतको मासु प्रेसर कुकरमा लामो समय पकाएर झोलिलो बनाएर खानु पर्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउने र छाला निकाल्नु राम्रो मानिन्छ।

मासु खाने शैली कस्तो हुनुपर्छ ?

दसैंका बेला पाउन लाग्न जाँदा र पाउना घरमा आउँदा धेरै मासु खाइरहने चलन हुन्छ। त्यो पनि जतिबेला जति पनि खाने दुस्प्रयास गरिन्छ। धेरै मासु खाँदा प्रोटिन बढी भई समस्या उत्पन्न हुन्छ। धेरै मासु खाएमा तत्कालै पेटमा समस्या आउन सक्छ ।

श्वासप्रश्वास र बेचैनीका समस्या निम्तिन सक्छन्।चिकित्सक सकेसम्म मासु सलाद, अन्य फलफुल र हरियो सागसब्जीका साथ खान सकिन्छ । त्यो पनि थोरै मात्रामा । रातीको समयमा सकेसम्म मासु नखान चिकित्सकले सुझाव दिएका छन्।

मदिरा र जंगफुडसँग किन मासु नखाने ?

प्राय मानिस मदिरा र जंगफुडसँग मासु खाने गर्छन् । त्यसले झनै स्वास्थ्यलाई हानी गर्ने चिकित्सकको भनाई छ। पेटरोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेका अनुसार मासुसँग रक्सी खाँदा पेटेको समस्या बढेन गर्छ । मदिराले रक्तचाप घटानाउने र शारीरिक तापलाई पनि घटाउने गर्छ । त्यो बेला चिल्लो मासु खाएको खण्डमा मुटुमा समस्या थपिन सक्छ।

चाउचउ,लेज, कोकाकोला लगायत जंगफुड र पेय पदार्थसँग पनि मासु खानु राम्रो मानिदैन। यस्ता खानाले ग्यास्ट्रिक निम्ताउने र त्यसबाट अल्सर हुन सक्ने संभावना प्रवल हुन्छ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्