एसिड आक्रमणको पीडा

दसैँमा थामिएनन् सम्झनाका परिवारको आँसु

रौतहट— गाउँभरी दसैँको रमझम छ। दसैँका लागि नयाँ धान भित्र्याउने चटारोमा छन् गाउँले उत्साहका साथ। रौतहट चन्द्रपुर ६ का केटाकेटी र वृद्धहरु उमंगमा छन्। तर रमाइरहेकाे गाउँको एउटा छाप्रो सन्नाटामा छ।

जमरासँगै देवीको पूजाआराधना हुने बेला यो छाप्रोमा सामानहरु छरपस्ट छन्। परिवारका सदष्य कसैको अनुहारमा पनि उत्साह छैन। एसिड आक्रमणमा परी ज्यान गुमाएकी १७ वर्षीया सम्झना दासको छाप्रो हो यो । जहाँ निराशा बाहेक केही भेटिदैन।

सम्झनाका बुवा जादोलाल दास।

जनकपुरबाट झण्डै चार घण्टाको यात्रापछि गाउँ छिचोलेर त्यो छाप्रोमा पुग्दा शोकबाट उठ्न नसकेमा मानिस मात्रै भेटिए। अभिभावक, पारिवारका अन्य सदस्य, छिमेकी र साथीभाईको मनमस्तिष्कमा सम्झना ‘सम्झना’ बनेर बसेकी छन्।

वर्ष दिनमा आउने दसैँमा खुव रमाउँथे सम्झनाको परिवार। एकै ठाउँमा जम्मा हुन्थे, मिठो खान्थे अनि छमछमी नाच्थे। तर यो दसैँ उनको अभावमा पूर्णमात्रामा खल्लो छ यी सबैका लागि।

‘दसैँको खुसी लुटेर लग्यो शत्रुले। खुशी हुने ठाउँ नै भेटिएन। जब दसैँ आउँथ्यो सम्झना खुव रमाउँथिन्। उनले हामीलाई पनि निकै खुसी राख्थिन्। । उनका मिल्ने साथीहरुको घरमा लर्को लाग्थ्यो। । घरसँगै मन्दिरमा नाचगान गथ्र्यौ हामी। त्यो सबै हरायो’, बुवा जादोलाल दास सुरुमै भावविह्ल भए।

सम्झनाकी बहिनी सुस्मिता दास ।

सम्झना परिवारमा सबैभन्दा मिलनासार थिइन। मिहेनती र साथीभाईको प्रिय थिइन उनी । अध्ययनसँगै उनलाई खुब रमाइलो गर्न मन लाग्ने । दसैँका बेला नयाँ लुगा लगाउन र चिरीच्याट् हुन मन पराउने। पढेर समाज सेवा गर्ने उनको धोको थियो ।  ‘पढाईमा तेजिली थिई । रमाइलो पनि उत्तिकै गर्नु पथ्र्यो उसलाई । त्यो रहरसँगै छोरी मारिदिए सत्रुले’, जादोलालका आँसु थामिएनन्।

गएको भदौ २८ गते, दरखाने दिन आफन्त र साथीभाईसँग नाचगान गरी दर खाएर सम्झना र उनकी बहिनी सुस्मिता एउटै कोठामा सुतेका थिए। मध्यरातमा पिसाब फर्ने आएर फेरी सुतेका उनीहरुमाथि एकैछिनमा एसिड प्रहार भयो । सम्झनाको बोली बन्द भयो, चिच्याइन मात्रै । सुस्मिताको एसिडले दाहिने हात र कांध जल्यो। र्कीतिपुर अस्पतालमा उपचारार्थ सम्झनाले १० दिनमा मृत्युवरण गर्नु पर्‍यो ।

सम्पतिको नाममा जम्मा ४/५ धुर जग्गा र त्यसमै बनेको दुईवटा कोठा छाप्रोमा अहिले सम्झनाको किरिया उम्काउने तयारी गरिएको छ।  यहीबेला सुस्मिताको स्वास्थ्यको ‘फलो अप’का लागि काठमाडौँ पुर्‍याउनु छ।

‘सम्झनाको किरिया कार्य सम्पन गर्ने पैसा भएन। सुस्मिताको उपचार कसरी गरुँला’, जादोलाल भावुक बने । जादोलालले सुरुमा सम्झना र अहिले सुस्मिताको उपचारमा करिब ५ लाख रुपैयाँ खर्चि सकेका छन् । केही रकम सहयोग स्वरुप प्राप्त भयो भने केही ऋण बोके उनले ।

सम्झनाका हजुरबुवा र भाई ।

छोरी गुमाउँदा जति पीडामा जादोला छन् त्यतिनै दुःखमा छिन् उनकी बहिनी सुस्मिता।  ‘अस्पतालमा एकातिर म लडिरहेको थिएँ, अर्कोतिर मेरी दिदी बेहोस थिइन। उनीसँग कुरा गर्न चाहान्थे तर सकिन । अन्तिम पटक पनि दिदीको मुख हेर्न पाईन, अहिले सपनामा मात्रै आउँछिन’, सुस्मिताले अस्पतालका दिन सम्झिन।’

दिदीको अभावमा शुन्यता छ जताततै सुस्मिताका लागि। ‘दिदी हाँसिरहन्थिन, रमाइला कुरा गर्थिन। दसैँ र तिहार उनको मन पर्ने चाड थियो । हामी सँगै किनमेल गर्न जान्थ्यौ’, सुस्मिता विगततर्फ मोडिन्।

हसिली दिदीको जलेको अनुहार मात्रै उनको आँखामा आउँछ। सपनामा ‘मलाई केही कुरा पुगेन’ भन्दै आउँछिन्। दसैँका लागि सम्झनाले एकजोर कुर्ता सुरुवाल किनिदिएकी थिइन सुस्मिताका लागि। त्यसलाई जोगाएर राखिन तर अहिले उनको अभावमा लगाउने आँट आएन ।

‘दिदीसंग सुतेको कोठा पस्न डर लाग्छ, त्यहाँ छिर्ने वितिक्कै दिदीले बोलाए जस्तो लाग्छ । दिदीको जलेको जिउँ र अनुहार कोठाको कुनामा छ जस्तो लाग्छ’, सुस्मिताले भनिन्।  दिदी बहिनी भएपनि उनीहरु साथी जस्तै मिल्थे । दुःख सुख साट्थे।

१२ वर्षीय भाई परदेशी दासको आँखामा पनि सम्झना छाइरहेकी छिन्। तीजका बेला दिदी गुमाउदाको पीडाबाट उनी उठ्न सकेका छैनन्। सम्झनाका हजुरबुवा सुकदेव दास पनि शोक छन् प्यारी नातिनीलाई गुमाउनु पर्दा।
तीज नसकिदै उनीहरुले दसैँमा घुम्न जाने योजना बनाएका थिए।

एसिड आक्रमणमा सम्झना ज्यान गुमाएपछि उनका स्कुले र छिमेकी साथीहरुका लागि समेत यो दसैँ खल्लो भएको छ। त्योसँगै आफुहरुलाई पनि त्यस्तै हुने होकी भन्ने भय छ उनीहरुलाई ।

‘उनी हाम्रो मिल्ने साथी थिइन्। । दसैँका बेला हामी फिल्म हेर्न जान्थ्यौँ, घुम्न जान्थ्यौँ । घरमै गीत लगाएर नाच्थ्यौँ’, सम्झनाकी साथी दिव्या गुरुङ्गले भनिन,’ अहिले त डर लाग्छ हामीलाई पनि त्यस्तै हुने हो की ? सम्झनाकी अर्की साथी लक्ष्मी गुरुङ्गले जन्मदिनमा सम्झना रमाएको पल समिझन्।

सुस्मिताकाअनुसार घटना हुनु भन्दा केही महिनादेखि छिमेकी ६० वर्षीय रामबाबु पासवानले सम्झनालाई बारम्बार फोन गर्ने, बाटो छेक्ने गर्थे । सम्झनाबारे सबै जानकारी राख्ते । पासवानले सम्झनालाईलाई विवाह गर्न चोहेका थिए ।

त्यसो गर्न नमानेपछि सम्झनामाथि एसिड प्रहार गरेको उनको परिवारको दावी छ । पासवान अहिले प्रहरी कठघरामा छन् । सम्झना र सुस्मितालाई र्कीतिपुर अस्पतालमा राखेका बेला ‘बिरामी कुरुवा’का रुपमा आएका पासवानलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको थियो।

एसिड प्रहार गरी सम्झनाको ज्यान लिनेलाई कारवाही हुनु पर्ने माग गरिरहेका छन् उनका परिवारका सदस्यहरु ।
‘पासवानलाई कडा कडा कारवाही होस् । मेरो दिदीलाई मार्ने उनलाई पनि फाँसी दिनु पर्छ । कुनै पनि हालतमा फुत्किन नपाउन उनी’, सुस्मिताले भनिन्।

आफुखुसी गर्न नपाएपछि सम्झनालाई धम्की समेत आएको थियो। तर परिवारको बेवास्ताले यस्तो घटना भएको हुन सक्ने आफन्त बताउँछन् । बुवा जादोलाको बजारमा एउटा सानो पुल हाउस छ । प्राय उतै सुत्थे उनी । कान्छि आमासँगै बस्ने सम्झना र सुस्मिता चुकुल नभएको कोठामा सुत्थे।

‘कोठा बलियो भएको भए सायद यस्तो हुँदैन थियो की ? हामीले कान्छि आमालाई त्यसबारे जानकारी त गराएका थियौँ । उहाँले विर्सनु भयो की ?’, सुस्मिताको मनमा प्रश्न मात्रै छ । दसैँले दिदी सम्झनाको याद झनै आएको छ उनलाई ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्