पोखरा— उपल्लोे मुस्ताङबाट भेडाच्याङ्ग्राहरु झरिसके। सानो ठूला सबै होटलहरुका कोठा ६० प्रतिशत बढी ‘बुक’ भइसके। पोखरालाई दसैं लाग्न यी दुई कुराहरु नै पर्याप्त छन्।

मुसुक्क हाँसिरहेको माछापुच्छ्रे, खुलेको निलो आकाशमुनि फेवातालका डुंगाले दसैँका बेला पर्यटकलाई पोखरा झनै झार्छ। यो बेला मिल्ने लामो विदाले आन्तरिक पर्यटकले पोखराको सुन्दरता चुम्न पाउँछन्। बाह्य पर्यटकका लागि पनि सिजन सुरु भएको छ।

पोखराको लेकसाइडमा अवस्थित होटल माउण्ट कैलाश र होटल बाराहीका कोठाहरु ८० प्रतिशत ‘बुक’ भइसकेको छ। लेकसाइडकै गौरी घाटको रानिवन आर्केडमा पनि अहिले सम्म ६० प्रतिशत कोठाहरु ‘बुक’ भइसकेको छ।

‘आन्तरिक र बाह्य पर्यटककोलागि उपयुक्त मौसम भएकाले अकुपेन्सी र बुकिङ राम्रो छ,’ रानीवन आर्केडका सञ्चालक कुश भुजेलले देशसञ्चारसँग भने।

प्राकृतिक सुन्दरता, साहासिक खेल, हिम श्रृखंलाको रहर लाग्दा दृश्य, सुस्ताइरहेको सेती र तालहरुले दसैँमा रौनक थपेका छन्। फेवातालमा माछापुच्छ्रेको लोभलाग्दो दृश्य, मठमन्दिर, गुम्बा, गुफा, झरना लगायत पोखराका विशेषता समेत हुन् ।

कम प्रदुषित  याे सहरले काठमाडौँबाट सबैभन्दा धेरै आन्तरिक पर्यटक तान्ने गरेको छ। होटल माउण्ट कैलाशका संचालक नरेश भट्टराई भन्छन्, ‘आन्तरिक तथा बाह्य पर्यटकको लागि उपयुक्त सिजन हो । त्यसैले अहिले ६५ प्रतिशत कोठा बुकिङ भएका छन् ।’

उनले दशै तिहार विदामा शतप्रतिशत कोठा बुक हुने बताए ।  दसैँ तिहार र छठ पर्व विशेषलाई लक्षित गरी लेकसाइडका अधिकाशं होटलहरुले नेपाली पर्यटकलाई फुड एण्ड वेभरेज र केही होटलले कोठामा छुट ब्यवस्था समेत गरेका छन् ।

फुड एण्ड वेभरेजमा १५ प्रतिशत र कोठाहरुमा १० देखि २० प्रतिशत सम्म होटलहरुले छुट दिएका छन् । विशेषगरी अक्टोबर, नोभेम्बर, डिसेम्बर, मार्च र अप्रिल महिनालाई पर्यटकीय सिजनका रुपमा लिइन्छ ।

दसैँ, तिहार, छठ पनि यीनै महिना भित्र पर्ने भएकाले आन्तरिक पर्यटकले पनि पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याएका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर होटलहरुले विभिन्न प्याकेजहरु तयार गरेका छन्।

पश्चिमाञ्चाल होटल संघका निर्वतमान अध्यक्ष भरत पराजुलीले अक्टोबर र नोभेम्बर पर्यटकका लागि उपयुक्त सिजन भएको बताए।

पोखरा हुँदै मुस्ताङ, घोरेपानी जाने पर्यटकहरुको बसाई पनि पोखरामा हुने भएकाले यहाँको होटलको बुकिङ राम्रो रहेको छ,’ उनले भने । ‘अहिले लेकसाइडका ६० देखि ६५ प्रतिशत होटल बुकिङ भएका छन् । अक्टुबर र नोभेम्बरमा ८५ प्रतिशत भन्दा बढि हुन्छ ।’

नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक ट्रेकिङका लागि आउने हुँदा झण्डै ६० प्रतिशत पर्यटक पोखरा आउने गरेको टानका अध्यक्ष हरि भुजेल बताउँछन् ।

उनी भन्छन् ‘बाह्य पर्यटक अधिकांश एभरेष्ट क्याम्प, लाङटाङ, लुक्ला पुग्छन् । त्यसपछि उनीहरुले पोखरा रोज्ने गरेका छन्। आन्तरिक पर्यटकहरु पोखरा हुँदै अन्नपूर्ण पदमार्ग जाने गरेका छन् ।’

विश्वका विभिन्न देशका पाहुनासँग एउटै टेबलमा बसेर आन्तरिक पर्यटकहरु पनि खाना खान सक्छन् । यसले घुम्न आउने पर्यटकलाई बेग्लै आनन्द दिने उनले बताए ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्