परदेसीको दसैं

दसैँको रौनकमा नन्दलालको मन रुँदा

विराटनगर — ‘जन्मथलोमा बसेर काम गर्न कसलाई पो मन लाग्दैन र? घर, परिवार र साथीभाईको यादले सताइरहन्छ तर बाध्यता छ एक्लै संघर्ष गर्ने सीमा भन्दा धेरै पर,’ कतारबाट नन्दलाल ठाकुरले देशसञ्चारसँग फोनमार्फत दुखेसो गरे ।

३० वर्षीय ठाकुर कपाल काट्ने नाई पेशाका लागि खाडी मुलुक कतारमा भासिएका थिए आठवर्ष अघि। त्यहाँ पाइला टेकेदेखि विराटनगर महानगरपालिका १० स्थित आफ्नो सैलुनको यादले सताइरहेको छ उनलाई ।

बेलाबेला टोलाउँछन प्रियजनबाट टाढिनु पर्दाको पल सम्झिएर। विराटनगर १४ जतुवामा स्थानीय ठाकुरको ठूलो परिवार छ।  पाँच दाजुभाई मध्ये उनी माहिला हुन्। कतारको राजधानी दोहाको मदिनात खलिफा नगरपालिकास्थित मिलानो सैलुनमा अहिले उनको दैनिक चलिरहेको छ।

कतारमा कार्यरत नन्दलाल ठाकुर ।

एक छोरा र छोरीलाई विराटनगरकै स्थानीय एक निजी विद्यालयमा पढाउदै आएका ठाकुर दुईपटक मात्रै घर फर्किए। पिपल चौकमा दुई दशकअघि उनले छोडेको सैलुन अहिले जेठा दाई ब्रम्हदेवले हेर्दै आएका छन्।

कामको चाप छ । तर दसैँका बेला परिवारको यादले मन थाम्न कठिन छ उनलाई । दसैँमा विदा मिल्ने निश्चित छैन उनको। केहीमहिनापछि विदा मिल्ने आशमा दिन काटिरहेका छन्।

शंकर हेयर ड्रेसर ।

संगै काम गर्ने भाइहरु सान्तलाल, पे्रमलाल र सन्तोष दुःखसुख साट्ने साथी भएका छन् उनको। ठाकुर भन्छन्,‘यहाँ मेसिन जस्तै काम गर्छन् सबै जना । भावनाको भने ख्याल हुँदैन कसैलाई पनि । झन परदेसी हाम्रो पीडा गहिरो छ।’

मिलानो सैलुनमा उनीसंगै करिब ६५ जना नेपाली युवा कार्यरत छन्। ‘बंगलादेशका सहकर्मी अधिक रहेको सैलुनमा बिहिबार, शुक्रबार र शनिबार १५ देखि २० जनाको कपाल काट्ने गरेका नन्दलाल भन्छन्,’ अरु केही दिन भने अलि फुर्सद हुन्छ।’

शंकर हेयर ड्रेसरका रामकुमार ठाकुर ।

काठमाडौंको एक कम्पनीबाट कतार पुगेका नन्दलालले त्यहाँका स्थानीयसँग कपाल काट्दा सामान्यता प्रति व्यक्ति ७० देखि ८० रियालसम्म लिने गरेका छन्। ‘उनीहरुको छनौट बुझेर काम गर्दा सम्मान र टिप्स पाइन्छ ,’ हास्दै नन्दलालले भने।

यस्तै वैदेसिक रोजगारीको अनुभव संगालेर घर फर्किएका २७ वर्षिय रामकुमार ठाकुर पनि पुनः कतार फर्कने योजनामा छन्। विराटनगर १४ निवासी रामको पसल शान्ति चौकमा छ। शंकर हेयर डेसर उनका पिता शंकर ठाकुरले २ दशक अघि खोलेका हुन्।

पछिल्लो पाँच वर्ष कतारमा काम गरी ६ महिनाका लागि घर फर्किएका राम भन्छन्, ‘केही तितो अनुभव पनि छ। तर जीवन अघि बढाउन त्यसलाई भूलेर विदेसमा काम गरे।

उनलाई दैनिक १५ देखि १६ घण्टासम्म काम गर्नुपथ्र्यो। उनीसंगै त्यहाँ श्रीलंका, बंगलादेश र भारतका दुई दुई जना सहकर्मी थिए। उनीहरुलाई सैलुनका मालिकले ६०—४० को भागवण्डा लगाउँथे। प्रत्येक एक व्यक्तिको कपाल काटेको १५ रियाल बुझ्थे। मालिकले ९ रियाल राख्थे भने रामको भागमा ६ रियाल पथ्र्यो।

२१ वर्षमा ९० हजार रुपैया तिरेर श्रमका लागि अल सहनिया पुगेका रामले सुरुआतमा केही कठिनाई नबेहोरोका भने होइन्। भाषाको समस्या भएपनि कार्यथलोमा नेपाली र भारतीय सहकर्मी हुदां केही सहज भएको थियो उनलाई । व्यवसायमा स्थापित भएपनि उनको मन घरमै छ ।

‘परिवार छोड्न त कसलाई मन लाग्छ र? तर सबैले यसरी नै चित्त बुझाएको छु। सैलुनलाई ठुलो बनाउने रहर छ । त्यसैका लागि केही वर्ष उतै काम गर्ने सोचमा छु,’उनले भने।

यता नेपाल नाई संघ मोरंग जिल्लाका सचिव शंकर ठाकुर महानगरमा यस पेशामा प्रतिस्पर्धा बढेको बताउँछन्।
महानगरभित्र मात्र १ सय ८० वटा सैलुन खुलिसकेको उनको भनाई छ। अब कम्तीमा एकमहिनाका लागि काम हुँदैन।
‘हाम्रो अधिकांश लक्ष्य विद्यार्थी वर्ग हुन्। जो दसैँ, तिहारका क्रममा घर फर्कन्छन्’, उनी भन्छन्।

विराटनगरको वडा नम्बर १४ जतुवामा ठाकुर समुदायको अधिक बसोबास छ। ८० घरधुरी ठाकुरको छ। नाई पेशामा सोही समुदायका युवावर्गको आकर्षण बढ्दै गएको छ।

सचिव शंकरले भन्छन्,’ युवामा आकर्षण छ। तर यहाँ सोचे जस्तो कमाई छैन र विदेसीनुपर्ने बाध्यता छ। सोही स्थानबाट श्रमका लागि विदेशी भूमि पुग्ने कम्तीमा १५ जना युवा भईसकेको उनको भनाई छ।

अशोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू