क्राइमियाको कलेजमा आक्रमण

कलेजमा अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

रुसले हडपेको युक्रेनको क्षेत्र क्राइमियाको एक क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अनुसन्धानकर्ताले बताएका छन्। घटनामा अरु धेरै विद्यार्थी घाइते भएका छन् । घटनास्थलमा कम्तिमा एउटा बिस्फोट पनि भएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणको कारण खुलेको छैन ।

क्राइमियामाथि सन् २०१४ मा रुसले कब्जा जमाएको हो । यसको अधिकांश पश्चिमा शक्तिले विरोध गरेका थिए ।

क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहार सम्बन्धी घटनाको अनुसन्धान भइरहेको छ । १८ वर्षका विद्यार्थी भ्लादिस्लाभ रोसल्याकोभ कक्षा कोठा कोठामा पुगेर अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

उनले कलेजको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए । आक्रमणकारीले पुस्तकालयमा पुगेर आफूमाथि गोली हानेका थिए ।

कात्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्