बेपत्ता पत्रकार खाशोग्गी र अमेरिका–साउदी अरेबिया सम्बन्ध

पत्रकार खाशोग्गी घटनामा नयाँ मोड, अमेरिकाले टर्कीसँग माग्यो सम्भावित हत्याको प्रमाण

साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खाशोग्गीको हत्या भएको दाबी गरेको टर्कीसँग अमेरिकाले त्यस सम्बन्धी प्रमाण मागेको छ ।

यहि अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता भएको पत्रकार खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको टर्कीले दाबी गर्दै आएको छ ।

साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्या र त्यसमा आफ्नो संलग्ना स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ । टर्कीले भने स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमै पत्रकार खाशोग्गीको हत्या भएको बताउँदै आएको छ ।

यहि बिचमा अमेरिकाले टर्कीसँग प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई यसबारे जानकारी दिएका हुन् । ट्रम्पले भनेका छन्, ‘हामीले प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेका छौँ ।’

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

सुरुमा पत्रकार खाशोग्गीको हत्यामा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको देखिए कडा कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोनवार्तापछि फेरिएका छन् ।

उनी पछिल्ला दिन साउदी अरेबियाको बचाउमा लागेको देखिएको छ । तर ट्रम्पले आफू साउदी अरेबियाको ढाकछोपमा नलागेको बताएका छन् । अमेरिकी पत्रिकार द वासिंगटन पोस्टले भने मध्य पूर्वमा प्रेस स्वतन्त्रताको महत्वका बारेमा बेपत्ता हुनुअघि पत्रकार खाशोग्गीले लेखेको लेख प्रकाशित गर्ने बताएको छ ।

खाशोग्गी घटनाले नयाँ मोड लिँदै जाँदा सोमबार साउदी राजा सलमानसँग ट्रम्पले टेलिफोनमा कुरा गरेपछि उनका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । उनले त्यहाँ साउदी राजा सलमान र शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे । दुवैले घटनाबारे कुनै जानकारी नरहेको स्पष्ट पारे ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग ट्रम्पले पनि टेलिफोनमा कुराकानी गरेका थिए । त्यस क्रममा पनि उनले खाशोग्गीका बारेमा जानकारी नरहेको बताए । माइक पोम्पेओ साउदी अरेबियापछि टर्की गए । टर्कीमा उनले त्यहाँका अधिकारीसँग घटनाबारे कुरा गरेर हत्या भएको भनिएको प्रमाण मागेका हुन् ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

पत्रकार खाशोग्गीको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरे । त्यसबाट खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको दाबी गरिएको छ ।

यहि बिचमा अमेरिकी सञ्चार माध्यले पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको दाबी गर्दै खबर पनि छापेका थिए । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरे ।

साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ

साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् । यो परिवेशमा अमेरिकाले टर्कीसँग प्रमाण माग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।

पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।

खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका छन् ।

११

कात्तिक १, २०७५ मा प्रकाशित