सांकेतिक तस्बिर ।

नेपालगञ्ज – नेपालगञ्ज–१, जुम्लीटोलमा चोरी भएको छ । दसैँ मान्न सबै अन्यत्र गएको बेलामा बुधबार राति जुम्लीटोलका धनबहादुर बस्नेतको घरमा चोरी भएको हो ।

दसैँ मान्न पुर्ख्यौली घर जुम्ला गएका बस्नेतको जुम्लीटोलमा रहेको दुई तले घरमा चोरी भएको हो । बस्नेतको घरमा भाडामा पनि बस्थे । भाडामा बस्नेसमेत दसैँ मान्न घर गएपछि घर खाली भएको थियो ।

खाली रहेको घरमा राति चोरले ताला फोरेर चोरी गरेका हुन् । घरमा तल सटर र चारवटा कोठा रहेको छ । ती सबै भाडामा थिए । कोठामा बस्नेहरु एक दिनअघि मात्रै घर गएका थिए भने घरवाला बस्नेतले केही दिनअघि नै जुम्ला गएका छन् ।

सटरमा पसल सञ्चालन गरेकी सुशीला यादवले बिहीबार बिहान पसल खोल्न जाँदा सबै ताला फोरेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । यादवको नगद चार हजार र तीन हजारको रिचार्ज चोरी भएको छ ।

घरबेटी र भाडामा बस्नेसमेत नभएकाले कति चोरी भयो भन्ने खुल्न सकेको छैन । दुई तले घरको सबै कोठाका ढोकाको ताला फोरिएको छ । प्रहरीले बस्नेत र भाडामा बस्नेहरु आएपछि मात्रै कति धनमाल चोरी भयो भन्ने खुल्ने बताएको छ ।

प्रहरीले दसैँ लक्षित सुरक्षा योजना बनाएर चोरी, लुटपाटविरुद्ध लागेको जनाएको छ । गस्तीहरु बढाएको छ । दसैँमा घरहरु खोली हुने हुँदा चोरले मौकाको फाइदा उठाउने गरेको छ ।

बाँके प्रहरीले पूर्वचोरलाई पक्राउ गर्ने अभियान थालेको छ । घर खाली हुँदा छिमेकी र प्रहरीलाई समेत खबर गर्नु भन्ने सुझावलाई भने घरमालिकले बेवास्ता गरेका छन् । बस्नेतको घरमा सटर सञ्चालन गरेकी यादव रहिरहेकाले बस्नेत तथा भाडामा बस्नेहरुल चोरीको आकलन नगरेको बुझिएको छ ।

घरमा चोरी भएपछि धनबहादुरका छोरा हरिकिरण बस्नेत आइपुगेका छन् । यद्यपि, उनी नेपालगञ्जको घरमा नबस्ने भएकाले कति धनमाल चोरी भयो भन्ने बताउन सकेका छैनन् ।

कात्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्