झोलुङ्गे पुलको जिल्लामा झोलुङ्गे पुलमै रमाउँदै पर्यटक

बागलुङ्ग – भारतको लखनउ निवासी नेपाली मुलका राहुल छन्त्याल झोलुङ्गे पुल तर्दै गर्दा भेटिए । बागलुङ्ग तेस्रोपल्ट आएको बताउने उनी हल्लिरहेको झोलुंगे पुलमा हातमा झोला लिँदै हिँड्दा डराएर टक्क अडिन्थे त, घरी आनन्द लिँदै हिँड्थे ।

‘केही डर केही रमाइलो, पुल हल्लिदाँ अलि अलि डर लाग्यो ।’ हिन्दी लवजमा नेपाली बोलेका उनी तित्याङ गाउँमा दसैँको टीका लगाउन दुई बहिनीसँग आएको बताए । बागलुङ्ग नगरपालिका वडा नं ३ स्थित चिप्लेटीबाट तित्याङ्गको फट्केडाँडासम्मको २३० मिटर लामो झोलुङ्गे पुल तरेर पुर्ख्यौली घर जान पाउँदा रमाइलो लागेको अनुभव सुनाए ।

एक हप्ताकोलागि मात्रै नेपाल आएका २३ वर्षका राहुल समय मिलेसम्म परिवारको सदस्यसँग बागलुङ्गका सांस्कृतिक एवं धार्मिक पर्यटकीय स्थलको अवलोकन सोचमा छन् ।

काठमाडौँबाट बागलुङ्ग आएकी २६ वर्षकी सौन्दयकर्मी प्रिति गौतम पनि झोलुङ्गे पुलको रमाइरहेकी थिइन् । ७ वर्षकी छोरीसँग हल्लिरहेको पुलमा उनी केही डराएकी थिइन्, त्यो भन्दा ज्यादा रमाएकी थिइन् ।

बागलुङ्ग रामरेखा घर भए पनि उनी विवाह पश्चात पहिलो चोटि बागलुङ्ग आएकी हुन् । सानो र रमणीय बागलुङ्ग झोलुङ्गे पुलको जिल्ला भनेर सानैमा सुनेकी थिइन् । आज त्यहि हेर्न र पुल तरेर मज्जा लिन आएको उनको भनाई थियो ।

बागलुङ्ग विहुँका सुवास गौतम पेशाले इन्जिनियर हुन् । उनी साँझपख समय मिल्योकि झोलुङ्गे पुलतिर टहलिन मन पराउँछन् । ‘कोलाहल वातावरणबाट केही पर शान्त वातावरणमा अवस्थित झोलुंगे पुलबाट सुस्ताइरहेकोे काठेखोला वरिपरीका सुन्दर गाउँहरु नियाल्दाको मजा बेग्लै हुन्छ’ उनले भने ।

बागलुङ्ग झोलुङ्गे पुलको जिल्ला हो । यहाँको भौगोलिक अवस्थितिले गर्दा पनि यस्ता पुलहरुले लामो लामो दूरीलाई घटाएर सहज जीवन यापन बनाइरहेका छन् । घुम्न आउने पर्यटकलाई पनि यो एउटा विशेषताको रुपमा रहेको छ ।

उनले बागलुङ्गमा साना ठूलो गरी झण्डै ४१० भन्दा बढी झोलुङ्गे पुल रहेको जानकारी दिए । सानो र चिटिक्क परेको बागलुङमा धार्मिक पर्यटकहरु बढि आउने गरेको उनको भनाई छ ।

पर्यटक लोभ्याउँदै बागलुङ्ग जिल्ला

गण्डकी प्रदेश भित्र पर्ने बागलुङ्ग जिल्ला विशेष गरी झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । तत्कालीन धौलागिरी अञ्चलको सदकुमार रहेको बागलुङ्ग नेपालको नक्सासँग मिल्ने भएकाले मिनी नेपाल पनि यसको थप परिचय रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण बागलुङ्ग धार्मिक मठ मन्दिर, ढोरपाटन शिकार आरक्षले पनि प्रसिद्धि पाएको छ । बागलुङ नगरपालिका भित्र वृहत योजनामा बनिरहेको पञ्चकोटले पनि धार्मिक पर्यटकलाई थप उत्साहित बनाएको छ ।

यस जिल्लाले १ लाख ८२ हजार ४ सय ८६ हेक्टर क्षेत्रफल ओगेटेको छ । जिल्लाको प्रसिद्धि प्राप्त बस्तुहरुमा नेपाली हाते काज (लोक्ता) मालिङ्गोको बुट्टेनली, (हुक्के नली) राडी पाखी रहेका छन् ।

ढोरपाटन शिकार आरक्ष, कालिका भगवती, पञ्चकोट, गाँजाको दह, भैरव स्थान, गल्कोट दरवार, विहुँकोट, घुम्टेको लेक, ढोरपाटन बराह मन्दिर, गाजा दह(धुरी) संसारकोट, हाडिकोट धुरी,घोडा बाध्ने स्थान, झोलुगं पुलहरु, पर्यटकलाई आकर्षित गर्ने गन्तव्यहरु पर्दछन् ।

पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको पहिलो रोजाईको गन्तव्य बनिरहेको छ । त्यहाँ पुग्ने पर्यटककोलागि पनि बागलुङ्ग अहिले ‘गेट वे’ बन्दै गइरहेको छ । बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं युवा व्यवसायी बसन्त श्रेष्ठ भन्छन् ‘बागलुङ्ग जिल्लाको चिनारी झोलुङ्गे पुलसँगै सुन्दर रमणीय वातावरण र धार्मिक मठमन्दिर यो जिल्लाको विशेषता हुन् ।’

बागलुङ्ग जिल्लाको नामाकरणदेखि कालिका मन्दिर लगायत विविध पक्षले यस जिल्लाको ऐतिहासिक, धार्मिक, एवं सांस्कृतिक पक्षलाई उजागरका लागि यसको प्रचार प्रसारसँगै एकीकृत विकासको खाँचो रहेको बताए । उनी थप्छन् ‘वृहत राष्ट्रिय गौरबका योजनाहरु कालिगण्डकी करिडोर र मध्य पहाडी राजमार्ग बागलुङ्ग बजारहुँदै निर्माण भइरहेका छन् । यसले पनि बागलुङ्गको विकासमा ठूलो परिवर्तन ल्याउने छ ।’

यो राजमार्गले कोरला नाका जोडेपछि बागलुङ जिल्ला व्यापारिक हबको रुपमा समेत स्थापित हुने उनको विश्वास छ । बागलुङ्गमा बनिरहेका उच्च स्तरीय होटलहरुले मुस्ताङ पुग्ने पर्यटकको आगमनले पनि अहिले बागलुङ पर्यटकको रोजाइको शहरमा बन्दै गएको उनले बताए ।

संस्कृतिकर्मी एवंम साहित्यकार प्रेम छोटा परापूर्वकालदेखि सांस्कृतिक संगम भएको जिल्ला बागलुङ्गले राष्ट्रभरि नै पहिचान बनाएको बताउँछन् । ‘धार्मिक, सांस्कृतिक एवं साहित्यको हिसाबले पनि यो जिल्ला अघि छ ।’ उनी भन्छन् ‘भानुभक्त भन्दापनि २३ वर्ष अघि जन्मेका विरशालि पन्तले पनि बागलुङ जिल्लाबाट अध्ययन गरेका इतिहासका प्रमाणहरु रहेका छन् ।’

परापूर्वकालदेखी ठुलठुला ऋषि महर्षिहरुको तपोभूमि रहेको बागलुङ्ग महत्वपूर्ण सांस्कृतिक धरोहरलाई प्रकाशनमा ल्याउने सोचको विकास अझै हुन नसक्नु दुःखद भएको उनी गुनासो गर्छन् । ‘२५० जना साहित्यकारहरुको ७५० कृति प्रकाशित भएका छन् तर राज्यबाट उनीहरुको मुल्यांकन हुन सकेको छैन ।’

बागलुङ्गको पर्यटन प्रवर्द्धनमा स्थानी नागरिक समाज पनि जाग्न नसकेको उनको गुनासो छ । यो जिल्ला ऐतिहासीक महत्व बोकेको जिल्ला हो । प्रदेश सरकारबाट यो क्षेत्रको वृहत्तर विकासकालागि अध्ययन गरेर दीर्घकालीन विकासको लक्ष्यलाई ध्यान दिनु पर्छ । उनी भन्छन् ‘आर्थिक समृद्धिकोलागि बागलुङ्गको पर्यटन विकास नै पहिलो प्राथमिकता हो । ’

कार्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू