बेपत्ता पत्रकार खाशोग्गी र अमेरिका–साउदी अरेबिया सम्बन्ध

बेपत्ता पत्रकार खाशोग्गीको सम्भवतः अन्तिम लेख प्रकाशित

बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको लेख अमेरिकी पत्रिका द वासिंगटन पोस्टले प्रकाशित गरेको छ ।

यहि अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता भएका पत्रकार खाशोग्गीको सम्भवतः अन्तिम लेख अमेरिकी पत्रिका द वासिंगटन पोस्टले प्रकाशित गरेको हो ।

खाशोग्गीले आफू बेपत्ता हुनुअघि लेखेको यो लेखमा अरब क्षेत्रमा प्रेस स्वतन्त्रताका लागि आह्वान गरेका छन् । पत्रकार खाशोग्गी सुरक्षित रुपमा फर्किने सम्भावना नदेखेपछि उनको लेख प्रकाशित गर्ने निर्णयमा पुगेको वासिंगटन पोस्टले उल्लेख गरेको छ ।

टर्कीका अधिकारीले पत्रकार खाशोग्गीको हत्या भएको दाबी गरेका छन्, तर साउदी अरेबियाले अहिलेसम्म यो कुरा अस्वीकार गर्दै आएको छ ।

टर्कीका अधिकारले खाशोग्गीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो एवम् भिडियो रेकर्ड आफूहरुसँग रहेको दाबी गरेका छन् । अमेरिकाले खाशोग्गीको हत्या भएको सम्बन्धी प्रमाण रहेको भए उपलब्ध गराउन टर्कीसँग आग्रह गरेको छ ।

पहिले प्रवेश गर्न नदिएको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पहिलो बुधबार अबेर टर्कीका अनुसन्धानकर्ता प्रवेश गरेका थिए । उनीहरु बिहीबार बिहान त्यहाँबाट बाहिर निस्किएको देखिएको बताइएको छ ।

अनुसन्धानकर्ताले पत्रकार खाशोग्गीलाई कन्सुलर कार्यालयमा यातना दिएको र त्यहि क्रममा ज्यान गएकोसम्मको अडियो रेकर्ड फेला पारेको दाबी गरिएको छ । तर अहिलेसम्म यस्तो कुनै सामग्री बाहिर ल्याइएको छैन ।

साउदी अरेबियाका राजा सलमान तथा त्यहाँका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले पत्रकार खाशोग्गीको अवस्थाका बारेमा आफूलाई कुनै पनि जानकारी नरहेको उल्लेख गरेका छन् ।

यहि बिचमा वासिंगटन पोस्टले उनको अन्तिम कोलम प्रकाशित गरेको हो । त्यसमा उनले प्रेस स्वतन्त्रता प्रतिको प्रतिबद्धता स्पष्ट रुपमा जाहेर गरेका छन् ।

कात्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्